|

रुपन्देही : चुनावका बेला सबै दल र नेताहरुले स्मार्ट सिटीको नारा लगाए पनि प्रविधिको प्रयोगमा खासै ध्यान नपुगिरहँदा प्रदेश ५ ले भने आफ्नो वेबसाइटमोबाइल एप सुरु गरेको छ।

वेबसाइट र मोबाइल एपबाट प्रदेशबारे जानकारी तथा जनसम्पर्क एवं गुनासो व्यवस्थापलाई समेत सहज बनाउन त्यसको सुरुवात गरेको प्रदेश ५ ले जनाएको छ।

मुख्यमन्त्री शंकर पोखरेलले उत्तरदायी सरकारको निर्माण तथा जनताको सूचनाको हकको कदर गर्दै आफ्नो सरकारलाई पारदर्शी बनाउन वेबसाइट र एपले पुलको काम गर्ने बताए। प्रविधिको प्रयोगले सरकारको काम चुस्त र प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे।

मुख्यमन्त्री पोखरेलले भने- यसबाट विकासका कामको अनुगमन तथा मूल्यांकन गर्न सक्ने भएकोले नागरिक शासन प्रणालीलाई पारदर्शी र गतिशील बनाउन बल पुग्नेछ।

उनले प्रदेशको समृद्धिका लागि सूचना प्रविधिको प्रयोगमा जोड दिएकोले त्यसलाई कार्यान्वयनमा लगेको बताए।

उनले भने- कसैले लुम्बिनीको, कसैले राप्तीको हुँ भन्ने देखाउने मनोविज्ञानबाट अब प्रदेश ५ को हुँ भन्ने साझा मनोविज्ञान बनाउन जरुरी भएको छ। यसैबाट प्रदेश समृद्ध हुनेछ।

वेबसाइटबाट मुख्यमन्त्रीका समाचार, सार्वजनिक चासोका सूचना, मुख्यमन्त्रीको महत्वपूर्ण कार्यक्रमको विवरण राखिने बताइएको छ।

वेबसाइट तथा एप सुरु गरिएको कार्यक्रममा मुख्यमन्त्रीसँग भेटका लागि समय अनलाइनबाटै लिन सकिने, प्रदेशभित्रका प्रमुख आयोजनाहरूको अद्यावधिक विवरणदेखि गुनासो तथा सुझावसमेत संकलन एवं व्यवस्थापन गरिने जानकारी दिइयो।

वेबसाइट तथा एप प्रिक्षा कम्पनीले तयार गरेको हो। अहिलेको डोमेन भने अस्थायी हो। प्रदेशको नामाकरणपछि आधिकारिक डोमेन राखिने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.