‘लाेप हुन लागेका सम्पदा संरक्षणका लागि अव स्थानीय सरकार तयार’

|

  • उदयराज अधिकारी-

दैलेख : दैलेखमा हजार भन्दा बढी ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पुरातात्विक सम्पदाहरू छन्। यति धेरै सम्पदा भए पनि संरक्षणमा राज्यले चासो राखेकाे छैन। स्थानीय पनि यसबारे बेखवर झैँ छन्। दैलेखलाई बाहिरबाट बुझेर यहाँका सम्पदाहरू हेर्न आएका सबैले भन्ने गर्दछन्, ‘दैलेख माल पाएर पनि चाल नपाएको उखान झैँ बनेकाे छ।’ 

नेपाली भाषा लिपिबद्ध गरेको सबैभन्दा पुरानो साके संवत ९०३ विसं १०३८ मा लेखिएको कर्णाली प्रदेशीय नागराजका उत्तराधिकारी दामुपालको समयको भनिएको भाषालिपि दैलेखको दुल्लुमा छ। दैलेखकाे शिलालेखमा ‘क’ र ‘ॐ’ शब्दको अस्तित्वअहिले संकटमा परेको छ। अस्तित्व जोगाउने अभियान पनि नभएका होइनन्। तर उचित व्यवस्थापन र संरक्षण हुन सकेन। अव दैलेखको इतिहास जोगाउन केन्द्र र स्थानीय सरकारले जागरुकता देखाउनुपर्ने स्थानीयले अवाज उठाउन थालेका छन्। मल्ल राज्य सिंजा र जुम्लाको दुल्लु दैलेख पनि संरक्षणको पर्खाइमा छ। 

त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डाक्टर प्रेम शर्मा दैलेखका ऐतिहासिक सम्पदाको छुट्टै महत्व भएकाे बताउँछन्। दैलेखका सम्पदाको महत्वबारे बुझेपछि डाक्टर शर्माले यस्तो प्रतिक्रिया दिए, ‘कस्तुरीले वीना खोजेर भौतारिए झैँ रहेछन् दैलेखका सम्पदाहरू। त्यहाँका सम्पदा संरक्षणकोअभियान सुरु गर्नसके राम्रै हुनेथियाे।’ शर्माले भने, ‘नेपाली भाषाको उत्पति जुम्लाको सिंजाबाट भएको मानिए पनि त्यसको लिपिबद्ध गरेको इतिहास भने दैलेख नै हाे। दैलेखमा यसको लिपिबद्ध भएर जुम्ला पुगेको हो वा जुम्लामा सुरु भएर दैलेखमा लिपिबद्ध गरिएको हो? अन्तिम निस्कर्षमा पुग्नुपर्ने अवस्था देखिन्छ।’ 

नेपाली भाषाको पहिलो सिलालेख

खस मल्लकालमा जुम्लाको सिञ्जाहाटमा ग्रीष्मकालीन र दैलेखको दुल्लुमा शितकालीन राजधानी थियो। कुनै वेला खस संस्कृतिको साम्राज्य इराक-इरानदेखि वर्मा जावा सुमद्रासम्म फैलिएको थियो। वि.सं.१०३८ को साहुपाल अडैद्वारा लिखित शिलास्तम्भ लेखबाट प्रारम्भ भएको नेपाली भाषाको सुरुवातका बारेमा भिन्नभिन्न बहसहरू भएको भाषाविद् प्राध्यापक डाक्टर मधुसूदन गिरी बताउँछन्। भाषाविद् प्रा. डा. गिरीले  भने, ‘दुल्लुमा रहेको भाषालिपिसँगै रहेको सा.के.१२७९ वि.स. १४१४ को कृतिखम्ब पनिसँगै रहेको छ। यसबाट स्पष्ट हुन्छ। नेपाली भाषाको पहिलो शिलालेख दैलेखको दुल्लु कै हो।’

पुरातत्वले पठाएको ७ लाख रकमकाे विवाद

दुल्लु नगरपालिकाको चौबाटोमा रहेको शिलालेख संरक्षणमा धेरै प्रयासहरू नभएका हाेइनन्। तर जग्गा विवादका कारण संरक्षणको स्पष्ट खाका निर्माण गर्न नसकिएको नगरप्रमुख घनश्याम भण्डारीले बताए। ‘गतवर्ष पुरातत्व विभागबाट आएको ७ लाख रकम विवादका कारण खर्च हुन सकेन। यसवर्ष पनि ४ लाख रकम पनि त्यतिकै छ। नगर प्रमुख भण्डारीले भने, ‘ऐतिहासिक महत्वकाे शिलालेख नजिकै फोहोर थुपारिएको हुन्छ। ‘क’ र ‘ॐ’ शब्दको सुरुवात भएको पहिचान मानिने ढुंगाको आधा भाग फुटीसकेको छ।अहिले यसलाई फलामे बारले घेरेर रख्नु परेकाे  छ।’ 

दुल्लुबजारमा नेपाल भाषा लिपिबद्ध गरिएका तीनवटा शिलालेख छन्। योगी नरहरी नाथले जिल्ला भ्रमणका क्रममा इतिहास खोतलेर दैलेखमा भाषालिपिको सुरुवातको पुरानो लिपिबद्ध इतिहास रहेको जानकारी गराएका थिए। पछि मात्र आफूहरूलाई यसको ज्ञान भएको दुल्लुका इतिहासकार भुपालबिक्रम शाह बताउँछन्। इतिहासकार शाहले भने, ‘भाषाको हिसावले मात्र नभइ दैलेखका ऐतिहासिक, धार्मिक, साँस्कृतिक परम्परा बोकेका अन्य क्षेत्रहरू दिनप्रतिदिन भग्नावशेष हुँदैछन्। संरक्षण र प्रचारप्रसारकाे पर्खाइमा छन्।’ 

दामुपालमा पनि विवाद 

दुल्लुमा रहेको दामुपालको सिलामाथि पनि अहिले विज्ञहरूका भिन्न भिन्न्न प्रतिक्रियाहरूआउँन थालेका छन्। तर आधिकारिक रुपमा पुष्टि हुन नसकेको प्रा.डा. गिरी बताउँछन्। दुल्लुकै खिराखेतको अर्को सा.के. १०१६ को शिलालेख पनि महत्वको छ भन्दै भाषाविद्ले पुस्तकमा लेखेको गिरीले बताए। दुल्लुकाे दामुपालको शिला सबै क्षेत्रले प्रमाणित गर्न सकिने प्रा. डा. गिरी दावी गर्छन्। 

दैलेख ३२ जातजातिको उद्मग थलो 

दैलेख विभिन्न ३२ जात जातिको उद्गम थलो पनि हो। कोइराल गाउँबाट कोइराला, रिजुबाट रिजाल, दहबाट दाहाल, लम्सुबाट लम्साल, नेपाबाट नेपाल, कट्टीबाट कट्टेल, बस्तेकोटबाट बस्ताकोटी, खनबाट खनाल, दुल्लुबाट दुलाल, भुर्तीबाट भुर्तेल, लगायतका ३२ जातजातिको उद्गम थलो भनेर बिभिन्न बंशावलीमा उल्लेख छ। 
मुलुकका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल समेत दैलेख अएर नेपा गाउँमा रहेको तियाडी थानको पुर्खाको माटो भन्दै काठमाडौं लिएर गएको माधव खनालले जानकारी दिए।अहिले दह भन्ने स्थानमा दाहालहरूले पुराण समेत लगाएका छन्। काठमाडौंका बिभिन्न समूहले आफ्नो पूर्खाको जन्मथलो भन्दै कट्टी भन्ने स्थानमा घुम्न आउने गरेको स्थानीय शान्तिप्रसाद शर्माले बताए। 

पंचकोशीकाे धार्मिक दृष्टिकोण

पंचकोशी क्षेत्रमा पर्ने शिरिस्थान, कोटिला,नाभिस्थान, पादुका, धुलेश्वर, भैरवी लगायतका क्षेत्रहरू पंचकोशी क्षेत्रको रुपमा परिचय बनाएका छन्। पंचकोशीका सयौं बिभिन्न स्थानहरूमा सयौं वर्षदेखि ज्वाला बलिरहेका छन्। बैश्वानर पुराणमा उल्लेख भएबमोजिम महादेवले कामदेवलाई भष्म गर्दा उनको नेत्रबाट निस्किएको ज्वालालाई एकत्रित गरी फाल्दा ज्वालाको उत्पति भएको मानिन्छ। हरेक वर्षको शिवरात्री मेलामा हजारौंको संख्यामा पंचकोशी क्षेत्रमा पुजापाठ गर्नेहरूको भीड लाग्ने गर्दछ। शिरिस्थानमा शाके संवत १७५७ को शिला अभिलेख पनि रहेको छ। मन्दिरका पुजारी भन्छन्, ‘सयौं वर्षदेखि ज्वाला बलिरहेकाे छ। शिरिस्थान मन्दिरमा शाके १७५९ मा चढाइएका घण्टहरू पनि देख्न सकिन्छ।’ पुराना मूर्ति र घण्टहरूअहिले चोरी भइसकेकाछन्। 

पंचकोशी क्षेत्र मध्ये शिरिस्थान, नाभिस्थान र पादुका विशेष महत्वका क्षेत्र हुन्। पादुका मन्दिरमाको शाके संवत ११३६ को जैन तीर्थकर महावीरको मूर्तिको विशेष महत्व छ। त्यस्तै सिंजा साम्राज्यका राजा अशोकचल्लको समयमा स्थपना गरिएको साउना कार्की र साउका कर्कीनीकाे अभिलेख सहितको स्तम्भले पंचकोशी क्षेत्रको महत्व झनै बढाएको छ।अहिले शिरिस्थानमा नयाँ ज्वाला निस्किएको छ। नयाँ निस्किएको ज्वाला अन्य ज्वाला भन्दा ठूलो छ।

शिरिस्थानको पुरानो मन्दिरनजिक बाहिर खुल्ला स्थानमा ज्वाला बल्न थालेपछि उक्त ठाउँमा पनि मन्दिर निर्माण गरिएको छ। कुनै पनि राम्रो कामको सुरुवात गर्दा पंचकोशी देवतालाई सम्झने प्रचलन कायमै छ। दैलेखमा अहिले पनि अग्नि ज्वालाले मृतकको शरीर दाहसंस्कार गरे स्वर्गमा वास हुने विश्वास कायमै छ। दैलेखका ४० वटा सम्पदाहरू खानी तथा भू गर्भ विभागको सूचीमा सूचीकृत भएका छन् र तिनको वर्गीकरणका आधारमा संरक्षणमा पहल गरिने भू गर्भ विभागले जानकारी दिएको छ। 

पंचकोशी क्षेत्रको बैज्ञानिक महत्व   

दैलेखका ऐतिहासिक वस्तुहरूको बारेमा लेखिएको पुस्तक इतिहास प्रकाशमा उल्लेख भएअनुसार बैश्वानर ज्वाला क्षेत्र भनेर चिनिएको हो। यस क्षेत्रमा मध्यकालीन समयमा समेत ३२ वटा ज्वाला बलेको उल्लेख गरिएको छ। यसलाई बैज्ञानिक हिसावले समेत खोज अनुन्धान भएको बिभिन्न कृतिहरूमा उल्लेख गरिएको देखिन्छ। दैलेखको ज्वाला क्षेत्रमा रहेको प्राकृतिक ग्याँस वा पेट्रोलियमको संभावनाका बारेमा सन् १९६० मा नै प्रारम्भिक अध्ययन सुरु भएको छ। त्यसैगरी सन् १९९३ मा जियोकेमिकलकाे नेतृत्वमा पनि अध्ययन भएकाे थियाे।अध्ययनकै आधारमा खानी तथा भू गर्भ विभागको वेभसाइटमा ज्वाला क्षेत्रभरि ४५ वटा ग्यास उत्सर्जन केन्द्रहरू रहेको उल्लेख छ। 

प्रधानमन्त्री ओलीकाे आस्वासन

मुलुकभर पेट्रोलियम पदार्थको चरम संकट परेका बेला २०७२ मंसिर २१ गते नेपाल सरकारका उद्योग मन्त्री सोमप्रसाद पाण्डे अवलाेकनका लागि  दैलेख आएका थिए।उद्योग मन्त्री पाण्डेले प्राकृतिक ग्याँस वा पेट्रोलियमको संभावनाकाे अवलाेकन गरेपछि चाइनीज विशेषज्ञ टोली लिएर पुनः दैलेख आए। त्यसपछि दैलेखको शिरिस्थानबाटऔपचारिक रुपमा पेट्रोलियम पदार्थको खोजी कार्यको सुरुवात भयो। मंसिरमा सम्पन्न चुनावी दौरानमा दैलेख आएका प्रधानमन्त्री के.पी शर्मा ओलीले दैलेखमा रहेको पेट्रोलियम पदार्थको तत्काल उत्खनन् थाल्ने आस्वासन पनि दिए। त्यसैले पनि अहिले कार्यान्वयनका लागि दैलेखवासीले वर्तमान सरकारसँग आशा गर्नु स्वाभाविकै हाे। वर्तमान सरकारले दैलेखको पेट्रोलियम पदार्थ उत्खननमा महत्व दिनेमा आशावादी रहेको दैलेखका प्रतिनिधिसभा सदस्य रविन्द्र शर्माले बताए। 

पञ्चीस देवल  

संयुक्त राष्ट्रसंघीय युनेस्कोले जीर्णोद्धार गरिदिएको सदरमुकाम दैलेखबजार नजिकैका ९०० वर्षअघि साके संवत १३२१ तिरका भुर्तीस्थित पंचदेवल र अन्य देवलहरू समेत भत्किँन थालेक छन्। दैलेख वजारबाट लगभग तीन किलोमिटर पूर्व उत्तर अर्थात सुर्खेतबाट दैलेख वजार हुँदै जुम्ला र जाजरकोट जाने मुल बाटोको वायातर्फ यस्ता देवल छन्। ती रमणीय स्थानका देवललाई स्थानीयले भुर्तिको पच्चीस देवल भन्ने गर्दछन्। यही ठाउँबाट भुर्तेलको उत्पति भएको मानिन्छ। करिव ३२ देखि १८ वर्गमिटर क्षेत्रमा यी देवलहरू बनेका छन्। यहाँ २२ वटा देवलहरू अस्तित्वमा छन्। तीनवटाको जीर्णोद्धार गर्ने काम भइरहेको छ। 

खम्ब देवल

खम्ब देवलको संचरना विलकूलै सादा अर्थात एउटै ढुंगामा बनाइएको देवलाकार पाषण स्तम्भ जसमा आमलक,कलश र गजुराकार शीर्ष विन्दु रहेको छ। देवल वास्तवमा देवलायको छोटकरी नाम भएकोले यसको यो नाम शास्त्रीय आधारमा गरिएको छ। धेरैजसो देवलका ढोकामाथिको कार्नेसमा सानै भए पनि गणेशको मूर्ति कदिएको छ। यस प्रकारका सवै देवलहरुको भित्री भाग सादा र वाहिर भने केही फुलवुट्टा वा अन्य कलाद्वारा अलंकृत देखिन्छन्। दैलेखका  प्राय ठाउँहरूमा यस्ता देवलहरू देखिन्छन्। करिव २५ भन्दा बढी स्थानहरूमा पाँचवटा देवहरू रहेका छन् भने १३ देखि २५ सम्म देवहरूभएका स्थानहरूमा पनि पाँचभन्दा बढी छन्। बिभिन्न स्थानहरूमा बीर खम्बहरू पनि प्रशस्त मात्रामा देख्न सकिन्छ।

ढुंगैढुंगाको ऐतिहासिक कोतगढी 

दैलेख सदरमुकामको मध्य भागमा अवस्थित ऐतिहासिक कोत गढीको महत्व पनि धेरै छ। करिव १२ हात भन्दा बढी लामा ढुंगाहरूले कोतगढी निर्माण गरिएको छ। २२ से र २४ से राज्यकाल हुँदा सुरक्षाका लागि भनेर निर्माण गरिएको भन्ने कथन छ। दैलेखका रहेको कोतगढी अहिले नेपाली सेनाले सुरक्षाका लागि घेरवारमा छ। नेपाली सेनाको नाममा भएकोले पनि सेनाकै मातहतमा कोतगढीको सुरक्षा गरिएको छ। गढी हेर्न आउने आन्तरिक र वाह्य पर्यटकलाई सहज वातावरण अझै बनेको छैन।

नगरपालिका हुँदै स्थानीय सरकारले आफ्नो मातहतमा लिने भन्ने बारेमा धेरै पटक नगरपरिषदबाट निर्णयहरू गरिएको भए तापनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। स्थानीय सरकारले लिएर पर्यटकीय गन्तब्यको क्षेत्र बनाउनुपर्ने माग स्थानीयको छ। 

दैलेखका सम्पदाबारे यसो भन्छन् विज्ञहरू

लामो समयदेखि दैलेखका सम्पदाहरू र भाषा साहित्यको बारेमा खोज अनुसन्धान गर्दै आएका प्रा. डा. गिरीले भने, ‘मैले सकेको काम गरेको छु। सानै भए पनि यहाँको खोज अनुसन्धान गरेको छु। तर यतिले मात्र सन्तुष्ट हुन्न। अव सरकारले दैलेखलाई ऐतिहासिक भाषा साहित्य खाेज अनुसन्धान केन्द्रकाे रुपमा विकास गर्नु पर्दछ।’

दैलेखको इतिहास लेखनका लागि चासो राख्दै आएका इतिहासविद् डाक्टर राजाराम सुवेदीले दैलेखलाई केन्द्र मानेर समग्र प्रदेश ६ को इतिहासको खोजी गर्न अावस्यक रहेको बताए। सुवेदीले भने, ‘गतवर्षदेखि दैलेखका पत्रकारले इतिहास लेखनको थालनी गरेका छन्। त्यसले निरन्तरता पाए मात्रै पनि लुकेका सम्पदाहरूको खोजी कार्यमा सहयोग पुग्ने थियाे।’

मूर्त सम्पदाको खोजीसँगै योगी नरहरि नाथका कृतिहरूका बारेमा नजिकबाट जानकारी राख्दै आएका दैलेखका विश्व केसीले दैलेखका सम्पदाको महत्वका बारेमा योगी नरहरि नाथले लिपिबद्ध इतिहासको संग्रह गरिदिएको बताउँछन्। फोटो पत्रकार भरतबन्दु थापाले लुकेको इतिहासको खोजी गरी त्यसको प्रचारमा दैलेखका पत्रकार पनि लाग्नै पर्ने बेला अाएकाे बताए। पत्रकार थापाले भने, ‘हाम्राे सानाे प्रयासले दैलेख परिचित हुनसक्छ। यसले धार्मिक पर्यटनको विकासका लागि सहयाेग पनि सहयाेग पुग्छ।’  

के छ अवकाे याेजना

२०६६ सालमा दैलेखमा भएको दैलेख महोत्सवमा सुन्तली र धुर्मुसले दैलेखको शिरिस्थान र नाभिस्थान र शिरिस्थानका बारेमा छायाँकन गरेर मेरीबास्सै टेलिश्रृंखला प्रसारण गरे। २०७३ साल फागुनबाट औपचारिक रुपमा इतिहास लेखन कार्य सुरु भएको छ। यसले निरन्तरता पाए पनि आर्थिक अभाव कायमै रहेको पत्रकार महासंघ दैलेखकाअध्यक्ष चक्र केसीले बताए। दैलेखमा रहेका एक हजार अाठभन्दा बढी मूर्त-अर्मूत सम्पदाहरूछन्। 

ऐतिहासिक तीर्थस्थल कोटीलामा मानव निर्मित तालको डिपिआर सुरु भएकाे छ। ऐतिहासिक कोतगडी र टुँडिखेल स्थानीय सरकारको मातहतमा ल्याउने अभियान थालिएको नगरप्रमुख खड्काले बताए। नगरप्रमुख खड्का भने, ‘लाेप हुन लागेका यस्ता मूर्त-अर्मूत ऐतिहासिक सम्पदाको संरक्षणका लागि अव स्थानीय सरकार लाग्छ। स्थानीय सरकारले सम्पदा बचाउने रणनीति पनि तयार गरिरहेकाे छ।’  दुल्लु नगरपालिका दैलेखका प्रमुख भण्डारीको भनाई पनि उस्तै छ। भाषा लिपिको पहिलो शिलालेख नजिकै रहेको कृतिस्तम्भ समेटेर विजया साहित्यिक उद्यानको निर्माण कार्य सुरु गरिएको छ। उद्यानमा २५ जना साहित्यकारको सालिक निर्माण गर्ने महत्वाकांक्षी योजना भण्डारीको छ। दुल्लु क्षेत्रका अन्य बिभिन्न १५ वटा पुरातात्विक सम्पदाको डिपिआर तयार गर्ने योजना पनि रहेको भण्डारीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.