राजनीति

खुट्टा तान्‍न‍े प्रवृत्तिले देशलाई अघि बढ्न नदिएपछि संसद विघटन गरें : प्रधानमन्त्री

जति अनुनयविनय गरे पनि पार्टीलाई फुटबाट जोगाउन नसकिएको गृहमन्त्रीको स्पष्टोक्ति

पुस ९, २०७७

    काठमाडाैं : पार्टीभित्र खुट्टा तान्ने प्रवृत्तिले देशलाई अगाडि बढाउन बाधा पुगेकाले संसद विघटन गर्नुपरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। 

    बिहीबार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीभित्रको झमेलाका कारण देश हाक्न बाधा भएकाले संसद विघटन गर्नुपरेको बताएका हुन्।  

    उनले भने, ‘किन संसद् विघटन गर्नुपर्‍यो। अरु थुप्रै कुरा छोडिदिनुस। यही किचकिच, यही झमेला पार्टीभित्र सधैं हिंड्न खोज्यो खुट्टा समाउने, हिँड्न खोज्यो अल्झाउने, हिँड्न खोज्यो धराप थाप्ने, अल्झो लगाउने। देश हाक्नुपर्ने बेलामा देशलाई अगाडि बढाउनुपर्ने बेलामा सरकारलाई पनि अगाडि बढ्न नदिने। सरकारलाई गतिशील ढंगले हाँक्नुपर्ने बेलामा पार्टी, त्यो पार्टी अल्झिनुपर्ने। केमा भन्दा दिनैपिच्छेका गफ फिट्नेहरुका कुरामै अल्झिनुपर्ने। उनीहरु गफ फिटेर बस्छन् त्यसैमा अल्झिनुपर्ने।’ 

    संसद् विघटनपछि जनतामा जान डर मान्नेहरुले पार्टी फुटाएको पनि अध्यक्ष ओलीले बताए। सरकारले नयाँ जनादेशका लागि जनतामा जाने घोषणा गर्दा डर मान्नेहरुले आन्दोलनको घोषणा गरेको प्रस्ट पारेका थिए। 

    जनतामा जाँदा डर भएपछि आन्दोलन गर्न लागेको अध्यक्ष ओलीको तर्क थियो। ‘आन्दोलन केका लागि, प्रधानमन्त्रीले नयाँ जनादेशका लागि जनतामा जाने भनेर घोषणा गर्‍यो। अब जनतामा जान उहाँहरुलाई यत्रो डर किन ? तपाई हामी बुझ्न सक्छौं। उहाँहरुको टाउको ठूलो छ तर खुट्टा सानो छ।’ 

    देशलाई बिगार्ने, देशको एकता तोड्ने र अग्रगमनको बाटोमा जान रोक्नेलाई जनताले मत नदिने पनि अध्यक्ष ओलीले बताए। त्यसैले संसद् पुनर्स्थापना गरेर एक डेढ वर्ष सत्तामा जान आन्दोलन गर्न लागेका उनको दाबी थियो।

    जनतामा जान छोडेर आन्दोलन गर्ने कुराको कुनै औचित्य नरहेको उनको भनाइ थियो। उनले भन्दै गए, ‘देश बिगार्ने, देशको एकता तोड्ने देशलाई अग्रगमनको बाटोमा जानलाई व्यवधान खडा गर्नेहरुलाई जनताले मत दिन्छ ? त्यसकारण उहाँहरुलाई के लागेको छ भने अलि एक डेढ वर्ष भए पनि संसद पुनर्स्थापना गरेर जोडघटाउ, जालझेल, तिकड्म, यता सम्झौता, उता सम्झौता, यता मिलन, उता मिलन, यता मेलमिलाप कसको आशीर्वाद आदिबाट फेरि सरकारमा पुग्न पाइन्थ्यो कि, त्यसपछि त चुनाव भयो भने हुँदैन। चुनाव भयो भने चान्स हुँदैन भनेर उहाँहरु भागिरहनु भएको छ। चुनाव भन्नेबित्तिकै उहाँहरु निद्रामा झस्किनुहुन्छ।’

    गृहमन्त्रीसमेत रहेका नेकपाका सचिवालय सदस्य रामबहादुर थापाले पार्टीलाई जोगाउन पटकपटक अनुनयविनय गर्दा समेत नसकिएको बताए। अन्तिम समयसम्म पनि प्रयास गर्दा समेत नसकेपछि अहिलेको अवस्था आएको थापाको तर्क थियो।

    ‘फुटवादीहरुलाई आन्दोलनलाई विभाजित गर्ने प्रतिगामीहरुलाई हामी परास्त गर्न सकिन्छ। उनीहरुलाई हामीले एक्स्पोज गर्न सकिन्छ। त्यसकारण मध्यावधि निर्वाचन नयाँ आन्दोलन, नयाँ अभियान एकताका निम्ति जरुरी छ। अरु तरिकाले हामीले विभाजित समूहलाई एकीकृत गर्ने प्रयत्न गर्‍यौं। तर सम्पूर्ण प्रयत्न असफल सिद्ध भए। हामीले स्थायित्व कायम गर्न धेरै तरिकाले प्रयत्न गर्‍यौं। धेरै उपाय अपनायौं। पछिल्लो चरणमा अन्तिम सम्ममा पनि कोसिस गर्‍यौं। यसरी नेतृत्वलाई विस्थापित गर्ने अपदस्त गर्ने वा परिवर्तन गर्ने, नेतृत्व निर्माण गर्ने त्यसको आफ्नो वैज्ञानिक र क्रान्तिकारी विधि प्रक्रिया हुन्न्छ, त्यो ढंगले गरौं,' थापाले भने।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]