समाज

सौराहा घुम्न निम्तो दिँदै चितवनका पर्यटन व्यवसायी

पुस ११, २०७७

    विराटनगर : कोरोनाको महामारीसँगै सरकारले लागू गरेको लकडाउनले चितवनको सौराहाको पर्यटन क्षेत्रलाई पनि ठूलो क्षति पु¥याएको छ। लकडाउनले थला पारेको पर्यटनलाई उठाउन अहिले सौराहाका व्यावसायीहरु आन्तरिक पर्यटकहरुलाई निम्ता गर्दै देश दौडाहामा निस्केका छन्।

    नेपालका प्रमुख पर्यटकीय गन्तव्य सौरहामा बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन्थ्यो। तर, कोभिड–१९ को महामारीपछि गत चैतदेखि पर्यटन क्षेत्र ठप्प रहेको सौराहको पर्यटनलाई उकास्न ‘घुमौं सौराहा’ अभियान सुरु गरेका हुन्। अभियानको टोलीले शुक्रबार प्रदेश १ को राजधानी विराटनगरमा एक कार्यक्रमको आयोजना गरी ‘घुमौं सौराहा’ अभियानको सुरु गरे।

    उनीहरुले कार्यक्रममार्फत प्रदेश १ वासीलाई ‘घुमौं सौराहा’ अभियानमा सहभागी भई सौराहा आउन निम्ता पनि दिएका छन्। अभियानका संयोजक सुमन घिमिरेले आन्तरिक पर्यटक आगामनको माध्यमबाट थला परेको पर्यटन व्यवसाय उठाउने योजनाअनुसार ‘घुमौं सौराहा’ अभियान ल्याइएको बताए। ‘आन्तरिक पर्यटकलाई लक्षित गरी पाँचै प्रदेशमा घुमौं सौराहा अभियान गरिनेछ,’ उनले भने, ‘यसको सुरु विराटनगरबाट गरेका छौं।’

    होटल व्यवसायी संघ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार असोजदेखि चितवनका होटलहरु खुल्न थालेका छन्। यसबीचमा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै होटलहरु सञ्चालन भएको छ। ‘अब सौराहा सुरक्षित छ, त्यसैले ढुक्क भएर घुम्न सक्नुहुन्छ भनेर नै हामी सौराहा घुम्नका लागि आग्रह गर्दै विराटनगर आइपुगेका छौं,’ उनले भने, ‘आन्तरिक पर्यटकहरुलाई निमन्त्रणा गर्दै पहिलो चोटी आएका हौं, सातै प्रदेशमा पुग्छौं।’ 

    रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल सौराहा अध्यक्ष दीपेन्द्र खतिवडाले लकडाउनको कारण सौराहाले मात्र दैनिक ५० लाख रुपैयाँ आर्थिक क्षति व्यहोर्नु परेको बताए। चितवनभरिकै हिसाब गर्दा दैनिक ८० लाख रुपैयाँ पुग्ने उनले बताए। ‘अहिले केही सुधार भए पनि ४०, ४५ लाखतिर क्षति घट्यो होला,’ उनले भने, ‘७, ८ महिना लकडाउनले घरभित्रै थुनिएको कारण पनि परिवारसहित घुम्न आउने क्रम बढेको छ।’ कर्पोरेट हाउस, एनजिओ, आइएनजिओहरुको कार्यक्रम, सेमिनारहरु पनि स्वास्थ्य प्रोटोकल पालना गर्दै आयोजना हुन थालेकोले पर्यटन व्यवसायीहरुलाई थोरै भए पनि राहत हुन थालेको उनले बताए।

    ‘घुमौं सौराहा’ अभियानलाई लक्षित गरी चितवनका व्यवसायीहरुले सौराहा घुम्न आउदा २० देखि ४० प्रतिशतसम्म होटल तथा रेष्टुरेष्टहरुमा छुटको योजना समेत समेटिएको बताए। कार्यक्रममा घुमौं सौराहा अभियानअन्तर्गतको प्याकेजमा आन्तरिक पर्यटकलाई चितवनमा घुमाएर सौराहामा नाइट–स्टे गराउने र सौराहाका सबै पर्यटकीय स्थलको भ्रमण गराउने जानकारी समेत दिइएको छ।

    कार्यक्रममा चितवनका पर्यटकीय गतिविधिहरु समेटिएको वृत्तचित्र प्रर्दशन गरिएको थियो भने चितवन घुम्न किन जाने, कसरी जाने, केके लिएर जाने, कति दुरी छ जस्ता जानकारीमुलक बिषयहरु प्रस्तुत गरिएको  थियो।

    कार्यक्रममा दिएको जानकारी अनुसार लकडाउनपछि गत असोजमा खुलेको सौराहाका होटलहरु खुलेका छन्। कोभिड–१९ का कारण शून्यमा झरेको आन्तरिक पर्यटन ‘घुमौं सौराहा’ अभियानले होटलको अकुपेन्सी ३५ देखि ४० प्रतिशत पुग्ने छ। योसँगै लकडाउन हटेपछि विस्तारै उठ्न थालेको पर्यटन क्षेत्र अझै पूर्णरुपमा तंग्रिने आशा व्यवसायीहरुले अपेक्षा लिएका छन्। कार्यक्रममा प्रदेश १ का मुख्य शहर विराटनगर, इटहरी, धरान लगायतका होटल व्यवसायी, उद्योगी, सामाजिक अभियन्ता आदिको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]