काठमाडौं : देशका केही भागमा मंगलबार पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बि...
तर प्राकृतिक स्रोतसँग जोडिन सकेन विप्रेषण
म्याग्दी : १ लाख १३ हजारको हाराहारीमा मतदाता संख्या रहेको म्याग्दीका १० हजार बढी युवा वैदेशिक रोजगारीका लागि युरोप, अमेरिकादेखि लिएर खाडी मुलुकका विभिन्न देशमा गएका छन्।
जिल्लास्थित विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको तथ्यांकअनुसार विदेशिएकाबाट वार्षिक ४ अर्बभन्दा बढी रेमिट्यान्स जिल्लामा भित्रिन्छ। यो रकम जिल्लामा भित्रिने सरकारी विकास बजेटभन्दा बढी हो।
तर, रेमिट्यान्सबापत वार्षिक रुपमा जिल्लामा भित्रिने यति ठूलो रकम जिल्लाको दिगो विकास र ठूला भौतिक पूर्वाधारहरुमा भने लगानी हुन सकेको छैन। विदेशमा पसिना बगाई कमाएको पैसाको कुलो जिल्लाको दिगो विकास र ठूला विकास आयोजनातर्फ नभै अनुत्पादक क्षेत्रतर्फ बगेको छ।
हुन त विकास र समृद्धिको आधार रेमिट्यान्स नभई राज्यको नीति, योजना र कार्यक्रमहरु हुन्। तर, देशको अवस्था नै जुट, फुट, झुट र लुटमा रुमल्लिएको वर्तमान अवस्थामा जिल्लावासीको विकास र समृद्धिको योजना बनाउने फुर्सद राज्य संचालनको जिम्मा लिएकामा देखिएको छैन। यस्तो अवस्थामा विप्रेषणको रकमलाई सही रुपमा सदुपयोग गर्नुपर्ने आवश्यकता देखिएको म्याग्दीका बुद्धिजीवीहरुले बताएका छन्।
म्याग्दीलाई धेरै पहिलेदेखि नै ‘लाहुरेहरुको जिल्ला’भनेर चिनिँदै आएको हो। वैदेशिक रोजगारीबाट जिल्लामा भित्रिने विप्रेषणबाट धानिएको हुनाले सन् १८८० को दशकदेखि नै यस जिल्लालाई ‘लाहुरेको जिल्ला’ भनेर भन्न थालिएको हो।
सन् १८८० को दशकतिरबाट म्याग्देलीहरुको भोट, बर्मा हुँदै विदेशतिरको यात्रा सुरु भएको अनुमान गरिन्छ। त्यसयताका १ सय ४० वर्षमा विदेशबाट यस जिल्लामा कति विप्रेषण भित्रियो भन्ने कुनै तथ्यांक छैन।
‘करिब ५ वर्षसम्म म्याग्देली युवाले विदेशमा कमाएर पठाएको पैसालाई अन्यत्र लगानी नगरी जिल्लाभित्रका प्राकृतिक स्रोतहरूको (पर्यटनका पूर्वाधार, जलविद्युत्, खानी सञ्चालन, पशुपालन, कृषि र जडीबुटी) क्षेत्रमा लगानी गरी त्यसबाट व्यावसायिक लाभ लिन सक्ने वातावरण सरकारले बनाउन सक्यो भने १० वर्षमा म्याग्दी समृद्ध जिल्ला बन्छ,’ म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले भने।
वैदेशिक रोजागर, जलविद्युत्, पर्यटन, जडीबुटी, खनिज, पशुपालन र कृषि यी सातवटा स्रोतहरूलाई राम्रोसँग सदुपयोग गर्न सक्ने हो भने जिल्लाको कायापलट हुन सक्ने प्रशस्त आधारहरू रहेको म्याग्दीका राजनीतिक दलका नेताहरू र उद्योगी व्यवसायीहरू एकमत छन्।
जिल्लामा भित्रिने रेमिट्यान्सलाई यहाँ रहेका प्राकृतिक स्रोतहरूको उपयोग गर्ने उद्यममा लगानी गर्ने हो भने १० वर्षमा नै म्याग्दी हरेक क्षेत्रमा समृद्ध बन्न सक्ने उनीहरूको भनाइ छ। अहिलेसम्म वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स जिल्लाबाहिर घरघडेरी जोड्ने र जिल्लाभित्र अनुत्पादक क्षेत्रमा नै खर्च हुने गरेको छ।
सदरमुकाम बेनी अवस्थित गरिमा विकास बैंकको बेनी शाखामा मात्रै वार्षिक ३५ करोडभन्दा बढी रेमिट्यान्स भित्रिने शाखा प्रमुख कमल ढुंगानाले बताए। त्यसैगरी नेपाल बैंक लिमिटेड म्याग्दी शाखाबाट गत आर्थिक वर्षमा ६२ लाख रुपैयाँ विप्रेषण वितरण भएको बैंकका शाखा प्रमुख मोहन लामिछानेले जानकारी दिए।
त्यसैगरी नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड म्याग्दीले गत आर्थिक वर्षमा मात्रै ३ करोड २५ लाख बढी रेमिट्यान्स वितरण भएको शाखा प्रमुख लक्ष्मण शर्माले बताए। म्याग्दीमा रहेका तीन दर्जन बढी बैंक तथा वित्तीय संस्थाहरूमा यही अनुपातमा नै विप्रेषण भित्रिने र वितरण हुने गरेको छ।
समृद्ध र उज्यालो म्याग्दीको भविष्य यहाँ रहेका जलविद्युत् आयोजनाहरूको भविष्यसँग जोडिएको छ। ‘कालीगण्डकी, म्याग्दी, रघुगंगालगायत नदीबाट म्याग्दीमा २२ सय मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने भए पनि राज्यको नीतिगत व्यवस्था झन्झिटिलो हुनुका साथै लगानीमैत्री वातावरण बन्न नसक्दा समस्या उत्पन्न भएको श्रेष्ठको गुनासो छ।
प्राकृतिक स्रोतसँग जोडिन सकेन विप्रेषण
समृद्ध म्याग्दीको पहिलो आधार रेमिट्यान्स भए पनि यो अस्थायी भएकाले यसलाई प्राकृतिक स्रोतसँग जोडेर दीर्घकालीन आम्दानीको स्रोत बनाउन सकिन्छ। तर, अहिलेसम्म त्यतातिर कसैले सोच्न नसकेको सरोकारवालाहरूले बताएका छन्।
२२ सय मेगावाट विद्युत् उत्पादनको स्रोत रहेका म्याग्दीका खोला तथा नदीहरू लगानीको प्रतीक्षामा छन्। म्याग्दीको विकास र समृद्धिको ढोका मानिएको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर निर्माणले तीव्रता पाएसँगै म्याग्दीमा उज्यालो भविष्यको आशा गर्नेहरू बढेर गएका छन्।
भारतसँग सिमाना जोडिएको सुनौलीदेखि हिमाली जिल्ला मुस्ताङ हुँदै तिब्बती नाका कोरला जोड्ने कालीगण्डकी करिडोरको निर्माण भइसकेको छ। यसले भारत–भोट (तिब्बत)को प्रमुख व्यापारिक नाका मानिएको बेनीबजारको भविष्य पुनः चम्किलो बन्न सक्ने आशामा स्थानीय व्यापारी, व्यवसायीहरू आशामा छन्।
वार्षिक ५० हजार बढी विदेशी पर्यटक भित्रिने म्याग्दीमा समृद्धिको भरपर्दो आयस्रोत पर्यटन व्यवसाय रहेकोमा दुईमत छैन। तर, पर्यटकका लागि आवश्यक पूर्वाधार कमी भने यस क्षेत्रको मुख्य चुनौती रहेको पर्यटन व्यवसायीहरूले बताएका छन्।
‘म्याग्दी जिल्लामा वार्षिक १ लाखसम्म पर्यटकहरू आउन सक्ने स्थान र सम्पदाहरू छन्,’ पर्यटन व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर गर्बुजा पुनले भने, ‘तर, व्यवस्थित सडक, पदमार्ग, सूचना र सञ्चारको सहज पहुँच, सबै ठाउँमा स्तरीय र अनुकूलयुक्त होटेल तथा रेस्टुरेन्ट, आधुनिक सूचना केन्द्र, स्वास्थ्यजस्ता पूर्वाधारहरूको अभावले गर्दा समस्या उत्पन्न भएको छ।’
पछिल्लो एक अध्ययनको तथ्यांकअनुसार पर्यटकमार्फत म्याग्दीमा वार्षिक डेढ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ। यसमा राज्यबाट पाउने रोयल्टी समावेश गरिएको छैन। त्यसैगरी जिल्लामा रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरू गलेश्वर, मालिका, खोप्रा, पौलस्त्य पुलह क्षेत्र, रिखारजस्ता दर्जनौँ स्थल प्रचार–प्रसार र आवश्यक भौतिक पूर्वाधारका अभावमा अझैसम्म पनि ओझेलमा परेका छन्।
गलेश्वर क्षेत्रबाहेक अन्य धार्मिक तथा ऐतिहासिक स्थलबारे कसैको पनि चासो गएको पाइएको छैन। आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्न सक्ने, प्राकृतिक रूपले पनि अत्यन्तै सुन्दर ती ठाउँ पनि समृद्ध म्याग्दीका लागि अत्यन्तै सहयोगी हुन सक्ने कुरालाई बिर्सनु हुँदैन।
त्यसबाहेक जिल्लाभित्रका एक दर्जन तातोपानी कुण्डले जिल्लालाई सबैभन्दा बढी पहिचान दिलाएका छन्। ती कुण्डहरूको समुचित व्यवस्थापका साथ अझै प्रचार–प्रसार हुन आवश्यक छ।
त्यसैगरी उद्यमशीलताको नारा अब बजारमा मात्रै लगाउने होइन, गाउँगाउँसम्म उद्यमी उत्पादन गर्ने ठोस योजनासहित अघि बढ्न आवश्यक देखिएको छ। जिल्लाका ग्रामीण क्षेत्रमा रहेका खानी सञ्चालनका लागि सम्बन्धित पक्षले पहल गर्दै आवश्यक लगानी र उपकरणहरूको व्यवस्था गर्न सक्नुपर्दछ।
ओखरबोटको तामाखानी, रुम र खिवाङको स्लेट खानी, शिलाजित, यार्सागुम्बालगायतका अन्य जडीबुटीहरूको उत्खनन तथा संकलनमा सहज नीति र व्यवस्थाको आवश्यकता देखिएको छ।
रेमिट्यान्स, जलविद्युत्, पर्यटन र खनिजपछि समृद्ध म्याग्दीको प्रमुख स्रोत भनेको कृषि र पशुपालन हो। कृषिमा पनि म्याग्दी अब्बल छ। बर्सेनि करिब १२ करोड रुपैयाँ सुन्तला मात्र बिक्री गरेर यहाँका कृषकले आयआर्जन गर्दछन्।
त्यसैगरी तरकारी र फलफूलबाट पनि वार्षिक १ अर्बभन्दा बढी यहाँका किसानले आम्दानी गर्ने गरेका कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्यांकले देखाएको छ। कृषिपछि पशुपालन पनि म्याग्देलीको प्रमुख आयआर्जनको माध्यम बनेको छ।
पछिल्लो समय कुखरा, बाख्रापालनसँगै व्यावसायिक दुग्ध उत्पादनका लागि गाई, भैँसी पाल्ने कृषकहरूको संख्या बढ्दो छ। म्याग्दीको समृद्धिसँग सरोकार राख्ने यी सबै क्षेत्रको सही रूपमा प्रयोग र व्यवस्थापन गर्न सक्ने हो भने समृद्ध म्याग्दीका लागि धेरै समय कुर्न नपर्ने यहाँका उद्यमी र बुद्धिजीवीको भनाइ छ।
मानवीय सेवा र विपद्कालीन अवस्थामा सवैभन्दा पहिला विप्रेषणको रकम
वैदेशिक रोजगारीमा गएका म्याग्दीका युवाहरुले पठाएको रकम ठूलाठूला विकास आयोजनाहरुमा लगानी हुन नसके पनि मानवीय सेवा र विपद्कालीन अवस्थामा भने निकै उपयोगी हुने गरेको छ।
रोजगारीका लागि संसारका विभिन्न मुलुकहरुमा पुगेका युवाहरुको आर्थिक सहयोगमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा गरिब र विपन्नहरुको उपचारका लागि दुई करोड रुपैयाँको अक्षयकोष स्थापना गर्न लागिएको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताए।
त्यसैगरी गरिब,असहाय, बिरामी, बाढी पहिरो पीडितका लागि पनि विदेशमा गएका युवाबाट उल्लेख्य रुपमा सहयोग प्राप्त हुने गरेको जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले जनाएका छन्।
त्यसैगरी विद्यालय भवन,स्वास्थ्य चौकीलगायत पूर्वाधार निर्माणका लागि पनि वैदेशिक रोजगारमा गएका युवाले मन खोलेर आर्थिक सहयोग गर्दै आएका म्याग्दीका पत्रकार हरिकृष्ण गौतमले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।