काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभाग...
गजुरमुखीको दादागिरी कायमै, सम्झौता विपरीत नदीजन्य पदार्थ उत्खनन्
सर्लाही : स्थानीयको चर्को विरोधका बावजुद पनि सर्लाहीको लखन्देही खोलामा ठेकेदार कम्पनीले दादागिरी शैलीमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको पाइएको छ।
लालबन्दी नगरपालिका-१२ डाब्कालीटोल र ११ हीरापुरघाटस्थित लखन्देही खोलाबाट सम्झौता विपरीत ठेकेदार कम्पनीले अत्यन्त लापरवाहीपूर्ण तरिकाले स्काभेटर प्रयोग गरी गिट्टी बालुवा निकालेको स्थानीयले आरोप लगाएका छन्।
लालबन्दी ११ र १ नम्बर वडाको हीरापुर र स्याङतान नाकामा अत्यन्त गहिरो बनाएर गिट्टी बालुवा निकालेको भन्दै गत शनिवार नजिकै गाउँका दुई दर्जन युवाहरूको समुहले खोलामा पुगेर उत्खनन्मा अवरोध गरेका थिए। अहिले उक्त नाकामा आफ्ना गलत हर्कतको प्रमाण लुकाउन उत्खनन् गरिएका ठूलठूला खाडल पुरेर एक किलोमिटर उत्तर डाप्कालीटोल र हीरापुर नाकामा गुण्डागर्दी शैलीमा उत्खनन् गरिरहेको लालबन्दी ११ का स्थानीय रामएकवाल महतोले जानकारी दिए।
'अहिले पनि यस नाकामा खनिएका १५ देखि २० फिट गहिरो खाडल ठेकेदारले पुरेका छन्। हामीले पटक पटक वडाध्यक्ष दिपक लामा लगायत सम्बन्धित निकायमा सम्स्या समाधानका निम्ति हारगुहार गर्दापनि सुनुवाइ भएको छैन,' महतोले गुनासो गरे।
ठेकेदार कम्पनीले मापदण्ड विपरीत ब्यापक रुपमा गिट्टी बालुवा निकालिरहेको छ। ‘१५ फिटभन्दा गहिरो नहरजस्तो लामो खाडल खनिएको छ, यसरी खाडल बनाएर गिटी बालुवा निकाल्दा भोलिका दिनमा बाढी आउँदा लालबन्दी-१स्थित पलार गाउँ बढी जोखिममा पर्छ,' वडानम्बर १ का वडाध्यक्ष पञ्चमान स्याङ्वोले भने, ‘मैले यस विषयमा पटक पटक मेयर मानबहादुर खड्कालाइ राख्दै आएको छु, तर वहाँले वास्ता गर्नुभएन, यस्तै ताल हो भने उत्खनन्मा रोक लगाउनुको विकल्प छैन।' उनले ठेकेदार कम्पनी, कर्मचारी र जनप्रतिनिधी समेतको मिलेमतोमा अवैध उत्खनन् भइरहेको आरोप लगाए।
गिट्टी बालुवा निकालेको ठाउँमा गहिरो डरलाग्दो खाडल बनेको छ। नगरपालिकाले गत असोजमा ठेक्का आह्वान गरेर खोलाबाट गिट्टी बालुवा निकासा गर्न अनुमति दिएको थियो। खोला उत्खनन् अनुमति पाएको गजुरमुखी निर्माण कम्पनीले अवैध ढंगले नदीजन्य पदार्थ निकालेको लालबन्दी नगरपालिका-११ का वडाध्यक्ष दीपक लामाले जानकारी दिए।
पुर्व–पश्चिम लोकमार्गबाट तीन किलोमिटर उत्तरमा रहेको डाब्कालीटोल र हीरापुरघाटमा भैरहेको अवैध उत्खनन्ले नजिकै रहेको हीरापुर, नवलपुर, पलार, चन्द्रपुर, गणेशचोक लगायत आधा दर्जन गाउँमा क्षति पुग्ने महतोले चिन्ता गरे। राष्ट्रिय गौरवको आयोजनाको लागि भनेर गहिरो खाडल खनेर बस्ती नै विनाश हुनेगरी नदीजन्य पदार्थ उत्खनन् गर्न नहुने उनी बताउँछन्।
उक्त कम्पनीले पुर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि उक्त स्थानबाट गिट्टीबालुवा निकाल्न ठेक्का सकारेको थियो। ठेक्का सम्झौता तथा वातावरणीय परीक्षण प्रतिवेदनमा उक्त स्थानबाट ६०० मिटर लम्बाइ, ७५ मिटर चौडाइ र १.५ मिटर गहिराइको खाडल खनेर उत्खनन् गर्नुपर्ने उल्लेख छ। तर, ठेकेदार कम्पनीले खनेको खाडल १२ देखि १५ फिटभन्दा गहिरो छ। २०० मिटर लामो उत्तर–दक्षिण फैलिएको खाडलको चौडाइ भने ४० फिट बराबर रहेको छ।
नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन गरी तयार पारिएको प्रतिवेदन अनुसार हीरापुर अन्तर्गत लखन्देही खोलाबाट १० हजार घनमिटर गिटीबालुवा निकाल्न सकिने उल्लेख छ। नगरपालिकाले लखन्देही खोलाकै वडा नं. ११ र १२ को स्याङतान नाकाबाट २१ हजार घनमिटर बालुवा एवम् ग्राभेल तथा वडा नं. १० र १२ को डप्काली टोल नाकाबाट १ लाख ३५ हजार घनमिटर बालवाु एवं ग्राभेल निकाल्न सकिने उल्लेख गरिएको छ।
डाब्काली टोलस्थित खोलामा त ९०० मिटर लामो तथा १०० मिटर चौडाइमा १.५ मिटर अर्थात ५ फिट गहिराइसम्मको गिटी बालुवा निकाल्न मिल्ने प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनमा उल्लेख छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ पोखरेलका अनुसार नगरपालिकाले लगाएको हीरापुर नाका अन्तर्गतको ठेक्का गजुरमुखी निर्माण सेवाले २० लाख ५ हजार रुपैयाँमा सकारेको हो। सोही स्थानमा ठेकेदार कम्पनीले केही दिनदेखि अवैध उत्खनन् गरिरहेको छ। लालबन्दी नगरपालिकाको वडा नम्बर ११, १२ र वडा नम्बर १०, ११ स्थित दुई स्थानमा पनि यही कम्पनीले उत्खनन् गरिरहेको छ।
प्रमुख प्रशासकीय अधिकृत पोखरेलले मापदण्ड अनुसार उत्खनन् नभएको पाइए कानूनी बमोजिम कारबाही गर्ने बताए। तर प्रभावकारी अनुगमन नभएको पोखरेलले स्वीकारे।
ठेकेदार कम्पनीले उत्खनन् गरेपछि निरीक्षण गर्नु पर्ने नगरपालिका कार्यलयका कर्मचारी तथा जनप्रतिनिधिले स्थानीयबासीबाट आएको गुनासोमा कुनै तदारुकता नदेखाउनुमा उनीहरूको समेत मिलेमतोको आशंका रहेको स्थानीयको भनाई छ।
गत वर्ष बाँके खोलामा यसैगरी गहिरो खनेर गिटी बालुवा निकाल्दा बनेको खाडलमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको थियो। त्यसविरुद्ध भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु र दर्जनौ मानिस घाइते भएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।