मनोरञ्जन

बल्लतल्ल खुलेका फिल्म हलः खर्च बढ्यो, दर्शक चौथाई मात्र

पुस १४, २०७७

    काठमाडौं : कोरोना महामारीका कारण बन्द भएका सिनेमा हलहरू झन्डै ११ महिनापछि खुलेका छन्।

    कोरोनाको असर लामो समयसम्म रहेका कारण बन्द रहेका चलचित्र हलमा बल्लतल्ल चलचित्र प्रदर्शन गर्न थालिएको हो। तर, सिनेमाघर पुगेर हेर्दा नेपाली चलचित्र क्षेत्रले महामारी अघिको रफ्तार भेट्न अझै समय कुर्नुपर्ने देखिन्छ।

    काठमाडौंका सिनेमाघर पुस १० गतेबाट खुलेका हुन्। हलमा लागेको एउटा 'शो'मा मुस्किलले १५ जना दर्शक पुग्ने गरेको सञ्‍चालकहरू नै बताउँछन्‌।

    महामारीको चपेटामा

    कोभिड संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा २०७६ चैत ११ गतेदेखि लकडाउन भएको थियो। मनोरञ्जन लगायत अन्य सबै क्षेत्रहरू बन्द गरिए। आर्थिक भार परेको भन्दै लकडाउनको विरोधमा व्यवसायीले आन्दोलन गर्न शुरू गर्न थाले।

    उद्योग, यातायात तथा होटल लगायत अन्य सेवाहरू सञ्चालन हुन थालेपछि फिल्म हल सञ्चालकहरूले पनि विरोध गरेका थिए। प्रमुख जिल्ला अधिकारी र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) समक्ष हल सञ्चालन गर्न पाउनुपर्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए।

    सिनेमा हलहरूले लकडाउनअघि रिलिज भएका चलचित्र देखाउन थालेका छन्‌। लकडाउन अवधिमा नयाँ चलचित्र नबनेकाले पुरानो चलचित्रलाई निरन्तरता दिइरहेका हल सञ्चालकहरू बताउँछन्‌।

    'सामाजिक दूरी कायम छ, दर्शक छैनन्'

    चावहिलस्थित केएल टावरको केएल सिनेमा हल १० महिनापछि खुल्दा विगतमा झैं दर्शक आएनन्‌।

    ​हलको अवस्थाबारे जिज्ञासा राख्दा कर्मचारी रामहरि कोइरालाले भने, 'शनिबार अन्य दिनभन्दा बढी दर्शक आएका थिए, हलभित्र सामाजिक दूरी कायम गरिएको छ। हलका सबै सिटमा दर्शक राखिएको छैन।'

    हलभित्र १५ जनाभन्दा बढी दर्शक नराखिएको उनको भनाइ छ। दर्शक नआएपनि नियमित दैनिक ६ शो चलचित्र प्रदर्शन गरिरहेको उनले सुनाए। हल सञ्चालकलाई धेरै नोक्सान हुँदा पनि पुरानो चलचित्र प्रदर्शन गरिरहेको उनको भनाइ छ। हलले प्रति टिकट ४ सय रुपैयाँ लिने गरेको छ।

    धेरै दर्शकलाई अझै पनि हल खुलेको जानकारी नभएको हुनसक्ने कोइरालाले बताए। कोरोनाको महामारी कायम रहेकोले हलमा मनोरञ्जन गर्न आउनेको संख्यामा कमी आएको छ। संक्रमणको जोखिम कम हुनासाथ हलभित्र पहिले झैं दर्शक राखी चलचित्र प्रदर्शन गरिने उनले जानकारी दिए।

    लकडाउन खुलेपछि चलचित्र छायाँकनको कामले तीव्रता पाउन थालेका छन्। बिस्तारै छायाँकनको काम हुन थालेकोले फिल्म सुटिङको लागि फिल्म निर्देशक उपत्यका बाहिर जान थालेका छन्।

    'हलसँगै चलचित्र निर्माणको बाटो खुल्यो'

    कोरोना महामारी नियन्त्रण गर्न खोप तथा औषधि नबनेसम्म भीडभाड हुने ठाउँमा मानिसको संख्या अत्यन्तै कम हुने निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन्। सरकारले निर्णय गरेर फिल्म हल खोल्ने निर्देशन नदिएपनि हल सञ्चालकले आफैँले निर्णय गरेर खोलेकोले त्यसमा कसैले आपत्ति जनाउन नहुने उनको तर्क छ।

    'लकडाउन हुनुभन्दा अगाडि सञ्चालनमा आएका फिल्म प्रदर्शनमा ल्याइएको छ,' अधिकारीले भने, 'नयाँ रिलिज गर्न सकिएको छैन, अहिले हल सञ्चालन गर्न अभ्यस्त हुने हो।'

    हल सञ्चालन हुनु भनेको फिल्म निर्माण गर्न वातावरण बन्दै गएको हो भनेर बुझ्न सकिने अधिकारीको बुझाई छ। कोभिडको खोप बनेमा चलचित्र हलहरू अहिलेजस्तो दर्शकविहिन नहुने उनले बताए। धेरै दर्शकले मनोरञ्जन लिन चाहेको उनको बुझाई छ।

    अन्य क्षेत्र खुला भइसक्दा फिल्म हल खोल्न नदिनुका पछाडि कुनै कारण नभएको अधिकारी तर्क गर्छन्‌। उनले फिल्म क्षेत्रलाई पूर्ण रूपमा खुला गर्न सरकारसँग आग्रह गर्नुपर्ने बताए।

    प्राथमिकतामा नपर्दा ढिलो खुल्यो

    सरकारले सिने क्षेत्रलाई आफ्नो प्राथमिकतामा नराख्दा हल पूर्ण रूपमा खुल्न नसकेको हो। चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदीपकुमार उदय भन्छन्‌, 'यता सिनेकर्मीहरूले आफ्नो अस्तित्व देखाउन सकिरहेका छैैनन्, त्यसमाथि सरकारले पनि हामीमाथि अन्याय गरेको छ।'

    सरकारले सिने क्षेत्रलाई कोरोना उत्पादन केन्द्र ठानिरहेको, तर यो आश्चर्य र दु:खलाग्दो रहेको उनी बताउँन्‌। महामारी अन्त्य नभएसम्म हलमा पहिलेझैं दर्शक नआउने उनको भनाइ छ।

    नेपाली सिने क्षेत्रका व्यक्तिहरूले नै सिनेमा हल खोल्न हुँदैन भन्दै भाषण दिँदै हिँडेपछि सरकारले सुनुवाई गर्न कुनै आवश्यकता महसुस नगरेको उनले बताए।

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]