राजनीति

प्रधानमन्त्रीको गृहजिल्लामा पनि संसद विघटनविरुद्ध नारा लाग्यो

पुस १३, २०७७

    भद्रपुर : प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि प्रतिनिधिसभा विघटनविरुद्ध नाराबाजी लागेको छ।

    नेपाली कांग्रेस जिल्ला कमिटीले विरोध प्रदर्शन गरेको हो। कांग्रेस केन्द्रीय समितिको निर्णयबमोजिम देशव्यापी कार्यक्रमअन्तर्गत झापाका पाँच वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय समितिको आयोजनामा विरोध सभा भएका हुन्। 

    कांग्रेस झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर नगरपालिकाको धुलाबारीमा, क्षेत्र नम्बर–२ को अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजारमा, क्षेत्र नम्बर ३ को कचनकवल गाउँपालिकास्थित बनियानीमा, क्षेत्र नम्बर ४ को शिवसताक्षी नगरपालिकास्थित दुधे बजारमा र क्षेत्र नम्बर ५ को दमकमा विरोध सभा भएका हुन्। 

    प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र ५ मा विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले प्रधानमन्त्री ओली एक्लो व्यक्तिका कारण देशमा संवंधानिक संकट उत्पन्न भएको जिकिर गरेका छन्।

    वर्तमान संविधानलाई सत्ता र शक्तिका आडमा आक्रमण गर्ने कार्य कांग्रेसलगायत लोकतन्त्रवादी शक्तिलाई मान्य नहुने उनले तर्क गरे। 

    संविधानको रक्षापछि लोकतान्त्रिक विधि र पद्धतिबाटै ओलीलाई पाखा लगाउने बताउँदै उनले भने, ‘नेकपाभित्रको आन्तरिक विवादकै कारण दुई शक्ति राष्ट्रको चलखेल नेपाली भूमि बनेकोले देशको सार्वभौमसत्ता नै संकटमा पर्यो।’ 

    वर्तमान संविधानलाई सत्ता र शक्तिका आडमा आक्रमण गर्ने कार्य कांग्रेसलगायत लोकतन्त्रवादी शक्तिलाई मान्य नहुने तर्क राख्दै उनले भने, ‘संविधानको रक्षा र समृद्धिको लक्ष्यलाई पूरा गर्न कांग्रेसमाथि थप जिम्मेवारी छ।’

    सत्ता र शक्तिको आडमा देश कब्जा गर्ने दुस्साहस नगर्न उनले चेतावनी दिए।

    क्षेत्र नम्बर –५का क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य दिलीप राई, दमक नगर सभापति रोशन विष्ट लगायतले बोलेका थिए।

    त्यस्तै झापा क्षेत्र नम्बर १ को धुलाबारीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले वर्तमान सरकार भ्रष्टाचारका काण्ड काण्डमा फसेको आरोप लगाउँदै असंवैधानिक काम गरेर जनमतको घोर अपमान गरेको आरोप लगाइन्।

    क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस झापाका उपसभापति राम कट्टेल, नगर सभापति इन्द्र बुढाथोकी लगायतले बोलेका थिए। 

    झापा क्षेत्र नम्बर २ को विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधीरकुमार शिवाकोटीले नेकपा भित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले देश, जनता र लोकतान्त्रिक पद्धतिमाथि नै प्रहार गरेर चालेको असंवैधानिक कदम मान्य नहुने बताए। 

    अर्का वक्ता कांग्रेस झापाका सभापति उद्धव थापाले भने, ‘संविधान माथिको कु, जनविश्वास माथिको अपमान, भ्रष्टाचारका काण्ड काण्डको छानबिन, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, कोरोना महामारी नियन्त्रणमा भएको ८ अर्ब रुपैयाँ भ्रष्टाचारको हिसाब किताब माग्न कांग्रेस सडकमा आएको हो।’ क्षेत्रीय सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रम महासमिति सदस्य सीता पौडेल र नगर सभापति हेमराज खरेलले बोलेका थिए। 

    त्यसैगरी झापा क्षेत्र नम्बर ३ को बनियानीमा विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिकले प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमले संसद् विघटन भएको र संसद् पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताए।

    क्षेत्रीय सभापति गणेश पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य द्वय भगीरथ पोद्धार र भूमिप्रसाद राजवंशी, नेपाल महिला सङ्घ झापाकी सभापति सुशीला ढकाल, प्रदेश सभापति चिन्तामणि खरेल लगायतले बोलेका थिए।

    झापा क्षेत्र ४ नम्बरको विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले प्रधानमन्त्रीलाई प्रतिगामी कदम सच्याउन माग गर्दै प्रतिनिधिसभा विघठनको असंवैधानिक कदमले मुलुकलाई ७५ वर्ष अगाडिको अवस्थामा लैजान खोजेको आरोप लगाए।

    क्षेत्रीय सभापति जयनारायण शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापा संऊठन विभाग प्रमुख देउमान थेबे, पूर्वसचिव भक्ति सिटौला, महिला संघ क्षेत्रीय सभापति कविता बस्नेत लगायतले मन्तव्य राखेका थिए। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]