काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ। परीक्षा बिहान ८ बजे शुरु भएको हो। पहिलो दिन बिहीबार अनिवा...
वार्षिक १० लाख कमाउँछन्
पाल्पा : हेर्दा निकै जाँगरिला। जतिबेला पनि हँसिलो अनुहार। कतिबेलै फुर्सदिला भने हुँदैनन्। केही न केही काम गरिहेका हुन्छन्। विहान सबेर उठेदेखि राती अबेरसम्म काममा नै व्यस्त रहन्छन्। थकित पनि देखिदैनन्। उनी हुन् जिल्लाको रिब्दीकोट गाउँपालिका–७ मैनादीस्थित प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक आचार्य।
१४ वर्षे भयो उनले जागिर गर्न थालेको। अहिले पनि अध्यापन कार्यलाई जारी राखेका छन्। पढाउने मात्र होइन सिंगो विद्यालयको जिम्मेवारी सम्हालेका छन् उनले। यस क्षेत्रमा रहेका शैक्षिक संस्थाहरूमध्य उनको विद्यालय नमुना विद्यालयको रुपमा परिचित छ। जुन विद्यालयमा प्रि डिप्लोमा बाली विज्ञानसमेत पढाइ हुन्छ। सिटिइभिटिबाट मान्यता प्राप्त बाली विज्ञान अध्ययनका लागि निकै टाढाका जिल्लाबाट विद्यार्थी आएका छन्। ती विद्यार्थीले पढ्ने कृषि कक्षालाई प्रभावकारी बनाउ उनी आफै उदाहरणीय बनेका छन्।
उनले विद्यालयमा पढाउने समयबाहेक अन्य समयमा सुन्तला खेती गरेका छन्। मैनादीको बासटारी भन्ने ठाउँमा उनको घर छ। त्यही घर परिपरीका पाखाभरी सुन्तलाका विरुवा रोपेका छन्। अहिले ती विरुवा हुर्किएका छन्। सुन्तलाका दानाले पाखाभरी नै पहेंलपुर देखिएको छ। यतिबेला यहाँको दृष्य निकै रमणीय छ।
मकै र तोरी खेती हुने यहाँका बारीका छेउमा केही सुन्तलाको विरुवा रोपिन्थ्यो उनले विगत सम्झिए।
तर पछिल्लो समयमा व्यावसायिक सुन्तला खेती गर्न थालिएको छ। २०६९ सालको माघदेखि आचार्यले पहिलो पटक यहाँ व्यावसायिक सुन्तला खेती गर्ने सोंच बनाए। काम भने २०७० सालदेखि थाले। काम थाले लगत्तै उनी गाउँभरी हास्यको पात्र बने। ‘खेर गइरहेको बाँझो जमिनमा सुन्तला खेती गर्ने सोंच बनाए’ उनले भने ‘डोजर लगाएर बारी सम्माउन थालेपछि छिमेकी सबैले जनके बौलायो भने।
घरमा बुवा आमालाई मकै र तोरी उब्जने बारी सत्यनास बनायो तिम्रो छोराले भन्दै कुरा लगाइदिए। बुवा आमाले उनीहरूका कुरा सुनेर गाली गर्नुभयो।’ त्यसमाथि पहिराले गाउँ बगाउने भन्दै गाली गरे।
जसतसो सुन्तलाको विरुवा लगाउन थाले। सुरुमा ४१८ वटा विरुवा रोपे। जतिबेला करिब तीन लाख खर्च भएको थियो। १४५ वटा विरुवा भने मैनादी कृषि सहकारीले निशुल्क दिएको थियो।
झण्डै चार वर्षपछि सुन्तलाले फल दिन थाल्यो। त्यो देखेपछि घर परिवारले आफूलाई मायाँ गर्न थालेको उनले सुनाए। जतिबेला २ लाख भन्दा बढीको सुन्तला बिक्री गर्न सफल भएका थिए उनी। त्यसपछिका प्रत्येक वर्ष सुन्तला बेचेर आम्दानी लिन थाले। गत वर्ष आचार्यले १०१ क्विन्टल सुन्तला बिक्री गरेर सात लाख बढी आम्दानी गरे।
यस वर्ष भने सुन्तला बढी फलेको छ। २५ रोपनी जमिनमा सुन्तलाका बोट छन्। यो वर्ष करिब १० लाख बढीको सुन्तला बिक्री हुने उनले अनुमान गरेका छन्। ७० क्विन्टल बिक्री भइसकेको छ। बोटमा अझै ८० क्विन्टल जति रहेको उनले बताए। उनका अनुसार प्रतिकिलो ६५ रुपैयाँमा बगैंचाबाट सुन्तला बिक्री भइरहेको छ। कोरोनाका कारण मूल्यमा कमी आएकोप्रति उनले गुनासो गरे।
अन्य खेतीमा जस्तो सुन्तला खेतीमा बढी मेहनत गर्नु पर्दैन्। विहान, साँझ र विदाको दिन सुन्तला बगैंचामा काम गर्दै आएको उनी बताउँछन्। सजिलै उत्पादन लिन सकिने र नगद बिक्री हुन्छ। बुटवलको सब्जीमण्डी र भैरहवाबाट व्यापारी सुन्तला खरिद गर्न बगैंचासम्म आउने गरेका छन्।
घरमा वृद्ध बुवाआमा, दुइ साना छोरा र श्रीमती छन्। श्रीमतीले आफूलाई सहयोग गरेको उनले बताए। एक जनालाई मासिक तलब दिएर सुन्तलाको हेरचाह गर्न राखेको उनले बताए।
सुन्तलाकै कारण दोहोर आम्दानी
ऋाचार्यले कुखुरापालन व्यावसायसमेत गरेका छन्। एक पटकमा १५ सय बढी ब्रोइलर कुखुरा पाल्दै आएका छन्। उनीसँग ३ हजार क्षमताका दुइवटा खोर छन्। सुन्तलाका बोटलाई सिजन अनुसार मल चाहिने उनले बताए।
गाउँमा गाइवस्तुको र बजारमा युरिया मलसमेत किन्न नपाएपछि उनले मलकै लागि कुखुरा पालेका हुन्। ‘उता समयमा मल राख्न पाउँदा सन्तलाका दाना राम्रोसँग फलेको छ’ उनले भने ‘यता कुखुरा बेचेर थप आम्दानी भइरहेको छ।’ अबको दुइ वर्षपछि वर्षमा २० लाख बराबरको सुन्तला उत्पादन हुने उनले दावी गरे। बगैंचामा रहेका सबै बोट हुर्किएर फल दिन थालेपछि आम्दानी बढ्ने आचार्यले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।