राजनीति

प्रचण्ड–नेपाल समूहको नाराबाजी चल्दै थियो, एक्कासि राजावादीको जुलुस आएपछि...

पुस १४, २०७७

    पर्वत : पर्वत सदरमुकाम कुस्मा बजारमा मंगलबारको राजनीतिक माहोल अलि फरक थियो। चुनावी नाराबाजी देखेकाहरु राजनीतिले कसरी घुमाइरहेको छ भन्ने प्रस्टसाथ उनीहरुले हेरिरहेका थिए। 

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि स्पष्ट दुई खेमामा देखिएका नेकपाका नेता तथा कार्यकर्ता आफू आफूमा बाझाबाझ गरिरहेका थिए। प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध नाराबाजी गर्दै प्रचण्ड–माधव समूहका नेता कार्यकर्ता सदरमुकाम कुस्मा बजार परिक्रमा गर्दै र्‍यालीमा थिए। 

    उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानका बलात्कारी भएको आरोप लगाइरहेका थिए। सँगै संसद् विघटनको कदमलाई उल्ट्याउनुपर्ने र नेकपाको एकतालाई कायम राख्नुपर्ने माग पनि गरिरहेका थिए। ठूलो सङ्ख्यामा उपस्थित प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले चोक र बजारमा बाक्लो भीड बनाएका थिए।र्‍यालीमा सहभागी भएकाको लावालस्कर पनि लामै थियो।

    र्‍यालीयालीपछि शिवालय चोकमा भएको कोणसभामा बोल्ने वक्ताहरूले प्रधानमन्त्री ओलीले आफ्नो कदम नसच्याए कुर्चीबाट लतारेर बाहिर ल्याउने सम्मका चेतावनी दिएका थिए। कार्यक्रममा अनेरास्ववियूका जिल्ला संयोजक तेजप्रसाद चापागाईंले केशरजँग रायमाझीजस्तै ओलीले पनि संविधानमाथि बलात्कार गरेको भन्दै घोर विरोध गरेका थिए।

    नेकपाका कार्यकर्ताको र्‍याली कोणसभामा परिणत मात्र भएको थियो, बजारमा मोटरसाइकलको साइलेन्सर पड्काउँदै हर्न बजाउँदै अर्को समूहको लावालस्कर निस्कियो। यो समूह थियो देशमा राजाले शासन गर्नुपर्छ भन्ने पक्षधरको।

    नेकपाले नेकपाकै विरोध गरेर नाराबाजी गरिरहँदा राष्ट्रिय जागरण युवा सञ्जालको आयोजनामा भएको मोटरसाइकल र्‍यालीमा सहभागी भएकाले ‘राजनीति आफ्नो स्वार्थका लागि होइन, देशको भलाइका लागि हो’ भन्दै नाराबाजी गरिरहेका थिए।

    उनीहरूको यो नारा नेकपाको नाराबाजीप्रति नभई समग्र राजनीतिक दलप्रति केन्द्रित थियो। कोणसभामा पूर्वमन्त्री तथा राप्रपा केन्द्रीय सम्पादक समितिका सदस्य भीमप्रसाद गौचनले अब ‘राजा आऊ, देश बचाऊ’ को नारा पुरानो भएकोले ‘राजा ल्याऊ, देश बचाऊ’ भन्नुपर्ने बेला आएको बताए।

    वर्तमान राजनीतिक दलहरू सत्ता र दलगत स्वार्थमा लाग्दा उनीहरूले राष्ट्रियता बिर्सेकोले अब उनीहरूले नै राजालाई ल्याएर हिन्दु राष्ट्र सहितको संवैधानिक राजाबाट शासन गर्न लगाउनुपर्ने उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]