समाज

गलेश्वर-बेगखोला सडक कालोपत्रे सुरु

जेठ ५, २०७८

    म्याग्दी : कोरोना महामारीबीच राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रे सुरु भएको छ। उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटदेखि वडा नम्बर १ बेगखोला जोड्ने सडकमा आइतबारदेखि कालोपत्रे सुरु भएको हो।

    गत वर्ष नै कालोपत्रे गर्ने तयारी गरिए पनि कोरोना महामारी र लकडउानका कारण रोकिएको काम एक वर्षपछि हुन लागेको हो। सडकको धेरै ठाउँमा बर्खामा कटान र पहिरोले क्षति गरेको थियो। आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले कालोपत्रे गर्न प्राइम (बिटुमिन) बिछ्याउन सुरु गरेको छ।

    ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले कुनौटोदेखि गलेश्वरतर्फ प्राइम कोड हालेर कालोपत्रेको काम सुरु गरेको बताए। मौसमले साथ दिए गलेश्वरदेखि बेगखोलासम्मको आठ किलोमिटर सडकमध्ये ६ किलोमिटर जेठ महिनाभित्र कालोपत्रे गरिसक्ने उनले बताए।

    सात मिटर चौडाईमा डिबिएसडी प्रविधिको कालोपत्रे गर्ने तीन चरणमा बिटुमिन र चिप्स राखेर रोलरको पोल्नुपर्छ। ट्याङ्करमा १३५ डिग्री तापक्रममा बिटुमिन पकाएर फोहोरा पारी सडकमा छर्किने प्रविधि अपनाइएको छ। सडक बिस्तार, नाली र पर्खाल निर्माण सकेर सब बेस बिछ्याउने र रोलरले पेलिएको खण्डमा कालोपत्रे गर्न लागिएको हो । अधिकांश भाग कालोपत्रेका लागि तयार भएको छ। गलेश्वर–बेगखोला खण्डको सडक ११ मिटर फराकिलो बनाइएको छ।

    कोरोना महामारी र रोकथामका लागि गरिएको निषेधाज्ञाका बावजुद स्थानीय प्रशासन, बेनी–जोमसोम–कोरला सडक आयोजना र स्थानीय तहसँग समन्वय गरेर मजदुर, उपकरण र निर्माण सामग्री जुटाएर कालोपत्रे गर्न लागिएको ओमकारेश्वरका सञ्चालक दाहालले बताए। मुख्य ठेकेदार शर्मा–युनाइटेडले अधुरो बनाएको उक्त सडक २०७६ फागुनदेखि ओमकारेश्वरले जिम्मा लिएको हो। ओमकारेश्वरले जिम्मा लिएपछि कामले तीव्रता पाएको हो। २०७४ साउनदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक चारवटा प्याकेजमा स्तरोन्नति भइरहेको छ। करिब ६ अर्ब रुपैयाँ लागतको यस आयोजनाको ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ८५ र बेनी–जोमसोम खण्डको ६० प्रतिशत भौतिक प्रगति छ।

    सात प्याकेजको जोमसोम–कोरला खण्डको चारवटा प्याकेजको काम निर्माण सकिएको छ। बेनी नगरपालिका–९ गलेश्वरको करिब एक किलोमिटर सडक पनि कालोपत्रेको तयारी भएको छ। बेनी–जोमसोमको तेस्रो प्याकेजको सडक पनि धमाधम कालोपत्रे भइरहेको आयोजनाका इञ्जिनियर आशिस मानन्धरले बताए।

    गलेश्वर, महभीर र पोखरेबगरको बेलिब्रिज बिस्थापित गरेर पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ। बेनी–जोमसोमको चार प्याकेज (भाग)मा छुट्टाछुट्टै निर्माण कम्पनीहरुसँग दुई अर्ब ५० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। तीन अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। बेनी–घाँसा खण्डका दुई वटा प्याकेज र घाँसा जोमसोम खण्डको एउटा प्याकेजको कामको ठेक्का शर्मा युनाइटेड जेभीले लिएको थियो।

    घाँसा जोमसोम खण्डको अर्को एउटा प्याकेजको काम गर्ने ठेक्का पप्पु–तामाङ–कोशी–न्यौपाने जेभीले लिएको छ। २०६४ सालमा नेपाली सेनाले ट्रयाक खालेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेको थियो। २०७६ असारभित्र कालोपत्रे गर्ने लक्ष्य राखिए पनि ढिलासुस्तीले काम प्रभावित भएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]