स्वास्थ्य

मन्त्रालयको निर्णय लत्याएर पिसिआर शुल्‍क लिँदै डडेल्धुरा अस्पताल !

जेठ ५, २०७८

    डडेल्धुरा : डडेल्धुरा अस्पतालले पिसिआर विधिबाट कोरोना भाइरस परीक्षणको शुल्क लिइरहेको गुनासो आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय लत्याउँदै अस्पतालले पिसिआर शुल्क लिइरहेको हो।

    मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको कोरोना रोकथामका लागि वैशाख २६ गतेको बैठकले पिसिआर शुल्क नलिन सबै सरकारी प्रयोगशालालाई निर्देशन दिएको थियो।

    देशभरका सबै सरकारी प्रयोगशालाहरूबाट लक्षण भएका तथा कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका कन्ट्याक्टहरूको कोभिड–१९ निःशुल्क हुने भन्दै आइसिएस बैठकले परिपत्र गरेको थियो। तर, डडेल्धुरा अस्पतालले भने कोरोना जाँच गरेबापत एक हजार रुपैयाँ लिइरहेको गुनासो आएको छ।

    लक्षण भएका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूबाट समेत अस्पतालले शुल्क लिइरहेको पाइएको हो।

    अमरगढी नगरापालिका–५ का गणेशबहादुर मगर वैशाख ३१ गते डडेल्धुरा अस्पतालमा कोरोना परीक्षण गर्न गए। उनलाई  अस्पतालले स्वाब लिनुअघि एक हजार रूपैयाँको बिल थमाइदियो। उनले एक हजार तिरेर स्वाब दिए।

    उनी एक उदाहरण मात्र हुन्। अस्पतालले उनीजस्तै अन्य नागरिकहरुबाट समेत एक हजार रुपैयाँ लिइरहेको छ।

    ‘मलाई कोरोनाको लक्षण थियो। म कन्ट्याक्ट ट्रेसिङमा पनि परेको थिएँ। मेरो घरका अन्य व्यक्तिलाई पनि कोरोना देखिएको थियो,’ मगरले भने,‘कोरोना जचाउँदा मलाई पोजेटिभ देखाएको छ। म अहिले होम आइसोलेसनमा बसिरहेको छु।’ सरकारले नलिनु भनेको शुल्क अस्पतालले लिइरहेकाले गरिब जनता यसको मारमा परेको उनको भनाइ छ। आफ्नो टोलका दुईजना एक हजार रुपैयाँ तिर्न नसकेर अस्पतालबाट फिर्ता भएको उनले बताए।

    यसका साथै अस्पतालले बिल काट्दा डिस्काउन्टमा पैसा देखाएर पनि शुल्क लिइरहेको पाइएको छ। अस्पतालले मगरलाई दिएको बिलमा डिस्काउन्टमा हजार रुपैयाँ देखाएको छ। तर, उनीबाट पैसा पनि लिएको छ।

    ‘अस्पतालले मैले दिएको हजार रुयैयाँ डिस्काउन्टमा देखाएको छ। यसरी पनि अस्पतालले नागरिकहरुबाट पैसा लिइरहेको छ,’ मगरले भने, ‘यसले गरिब जनतालाई लुट्ने काम भयो। महामारीमा यस्तो नगर्नुपर्ने हो।’

    कोरोनाका सबै लक्षण भएका व्यक्तिहरुबाट शुल्क लिन थालेपछि यहाँका सर्वसाधारणले अस्पतालको चर्को आलोचना समेत गरिरहेका छन्। मंगलबार पनि अस्पतालले कोरोना जाँच्दा शुल्क लिएको पाइएको छ। अमरगढीका प्रशना जोशीबाट पनि एक हजार शुल्क लिएको छ।

    शुल्क नलिएको  अस्पतालको दाबी

    तर, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्टेन्ट जगदीशचन्द्र विष्टले कोरोना लक्षण भएका र चिकित्सकले पिसिआर गर्न सुझाएका बिरामीको शुल्क नलिने गरेको दाबी गरेका छन्।

    ‘चिकित्सकले पिसिआर गर्नुपर्छ भन्यो भने हामी ती बिरामीबाट कोरोनाको शुल्क लिँदैनौं। तर, गाइडलाइनमा नभएकाहरूको चाहिँ हामीले लिने गरेका छौँ,’ निमित्त मेसु विष्टले भने, ‘अलि अगाडिसम्म लक्षण हुनेलाई तिराएको होला तर, परिपत्र आएपछि तिराएका छैनौं।’

    कन्ट्याक्ट ट्रेसिङ गर्ने काम स्थानीय तहको भएकाले उनीहरू नै ट्रेसिङ गर्नुपर्ने भए तापनि गर्न नसेको उनको भनाइ छ।

    ‘सरकारले पनि कन्ट्याक्ट ट्रेसिङ बढाऊ भनेको छ। एन्टिजनमार्फत स्थानीय सरकारले निःशुल्क ट्रेसिङ गर्नु हो तर त्यो काम भएको जस्तो मलाई लाग्दैन। त्यो पिसिआरभन्दा निकै सस्तो विधि हो’ उनले भने।

    सेती अस्पतालमा नि:शुल्क

    कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालले भने कुनै पनि नागरिकबाट कोरोना परीक्षण गरेको शुल्क लिइरहेको छैन। तर, संघीय सरकार मातहतमा रहेको सुदूरपश्चिमको एकमात्र डडेल्धुरा अस्पतालले शुल्क लिइरहेको व्यापक गुनासो आइरहेको छ।

    अस्पतालले आफूले संकलन गरेको नमुना परीक्षण सोही दिन र स्थानीय तहबाट संकलन गरिएको नमुना परीक्षणको रिपोर्ट ४ दिनदेखि ६ दिनसम्म ढिला गरिरहेको समेत स्थानीयहरू बताउँछन्।

    जनस्तर बाट चन्दा संकलन गरी ह्युम्यानिटी फाउन्डेसन नेपालले गत वर्षको असारमा पिसिआर मेसिन अस्पताललाई दिएको थियो। सोही मेसिनबाट हाल कोरोना परीक्षण भइरहेको छ।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]