फिचर

नेपालमै जन्मिएर पनि नागरिक हुन नसकेकाहरू

जेठ २३, २०७८

    हेटौंडा : गोमा काफ्ले आउँदो असार ३ गते ६६ वर्ष पूरा भएर ६७ लाग्दै छिन्। नेपालको ओखलढुंगा जिल्लामा जन्मिएकी उनले आफ्नो सारा जीवन नेपालकै माटोमा बिताइन्। तर हालसम्म उनी नेपालको नागरिकको रुपमा परिचित हुन सकेकी छैनन्। 

    नेपाली भनेर चिनाउने नागरिकता नबन्दा गोमा नेपाली नागरिक भएर पनि अनागरिक बनेर बस्न परेको छ। गोमा जन्मिनुअघि नै उनको बुवाको मृत्यु भएको थियो भने जन्मेको ९ महिनामा आमाले पनि संसार छाडेर गइन्। त्यसपछि सन्तान नभएका एक दम्पतीले गोमालाई हुर्काए, पालपोषण गरे र विवाह गर्दिए। 

    हाल हेटौंडा–१ स्थित ओम वृद्धाश्रममा बसिरहेकी उनलाई मर्नुअघि नेपाली नागरिक हुन मन छ। तर अनेक प्रयास गर्दा पनि गोमाले नेपाली नागरिकता पाउन सकेकी छैनन्।

    बुवाआमाको अनुहार पनि नदेखेकी उनले नागरिकता पाउनकै लागि धेरै भागदौड गरिन्। आफू जन्मिएको ठाउँमा गएर बुवाआमाको नाम पत्ता लगाउनेदेखि आफ्नो परिचय खोज्नेसम्मको काम उनले गरिन्। तर बुवाको नागरिकता नभएकै कारण उनले हालसम्म आफु नेपाली नागरिक हो भनेर छाति फुलाउन सकेकी छैनन्। 

    ‘बाआमा नहुँदा उहाँहरूको मायाको अभाव त सधैं भयो नै। झन् उहाँहरू नभएकोले गर्दा मैले एउटा नागरिकता पनि नपाउँदा साह्रै पीडा हुन्छ। नागरिकता पाउन मैले के प्रमाण पेस गर्नुपर्छ? दुःख पाएर यही देशको कुन कुन कुनामा भौतारिएको कुरा सुनाउनु पर्छ?’ उनले प्रश्न गरिन्।

    जन्मदर्ता पनि नभएकी गोमाको २ छोरा भए पनि हालसम्म विवाह दर्ता भएको छैन। नागरिकता नै नभएपछि उनको विवाह दर्ता हुन नसकेको हो। अहिले गोमा वृद्धाश्रममा श्रीमानसहित बस्दै आएकी छन्।

    २०५० सालको पहिरोले घर पुरिएपछि उनीहरूको बिचल्ली भएको थियो। दुःखसुख गरेर हुर्काकाका छोराहरू मादक पदार्थ खाएर जाइलाग्न थालेपछि यो दम्पती १० वर्षदेखि आश्रममा बस्दै आएको छ।

    ‘फलानोको छोरी हो भनेर कहिल्यै चिनिन पाइएन, तर नेपालको नागरिक हो भनेर चिनिन मन छ। श्रीमानको नामबाट नागरिकता बनाउन जाँदा बुवाको नागरिकता ल्याउनु भन्नुहुन्छ। देख्दै नदेखेको बुवाको नागरिकता कसरी लिएर आँऊ?’ उनले गुनासो गरिन्।

    गोमालाई नसा, दम, सुगर र प्रेसरका साथै आँखाको पनि समस्या छ। दैनिक औषधिको भरमा हिँडिरहेकी उनलाई देशमा हुने चुनावमा भाग लिने ठूलो रहर पनि छ। ‘चुनावमा सबै भोट हाल्न जान्छन् मचाँहि भोट हाल्न जान पाउँदिनँ,’ उनले थपिन्। नेपाली नागरिकता नहुँदा आफूले सरकारले दिने पनि केही पनि सुविधा नपाएको पनि गुनासो गरिन्। 

    गोमा मात्रै होइन, सोही आश्रममा बस्दै आएका दिल बहादुर थापाको पनि नागरिकता छैन। ६१ वर्षीय थापा तनहुँमा जन्मिएका थिए। जन्मनासाथ बुवाआमा गुमाएका उनलाई काकाकाकीले हुर्काए।

    बुवा आमाको स्थान सबै काका काकीलाई दिएका थापा आफ्नैबाट लुटिन पुगे। सानोमा माया गरेर हुर्काएका काकाकाकीले उनको सबै सम्पत्ति आफ्नो नाममा गरेर उनलाई घरबाट निकाल्दिए।

    ​जीवनभर ज्याला मजदुरी गरेका थापा ५ वर्षअघि मात्रै आश्रममा बस्न आइपुगेका हुन्। उनलाई पनि नागरिकता बनाउन मन छ, जहाँ उनको आफ्नो नाम होस् पहिचान होस्। हरेक प्रयास गरेर पनि सफल नभएका उनी अब थाकिसकेको बताँउछन्।

    ​‘नागरिकता बनाउने त भनेको हो नि, तर खोइ के-के प्रमाण पुगेन रे। अब हामीजस्तो दुःखी गरिबले कहाँबाट ल्याएर दिने प्रमाण? आफ्नैबाट त ठगिएको मलाई एकपटक देशले पनि ठग्यो के भयो र,’ थापाले दुखेसो गरे। नागरिकता नभएकाले सरकारबाट पाइने सेवा सुविधा र देशप्रतिको दायित्व केही पनि पूरा गर्न नपाएको उनको मनमा लागेको छ। 

    आश्रममा आश्रित अर्का वृद्ध मोहनप्रसाद पौडेलको पनि उस्तै पीडा छ। उनलाई आफ्नो नाम त थाहा भयो, तर आफ्नो उमेर भने थाहा छैन। दारीजुँगा सेतै फुलेका, गाला चाउरिएका लौरो टेकेर मात्रै हिँड्ने उनीसँग नागरिकता छैन। 

    सानैबाट दिदीको घरमा बसेका पौडल काम गर्न नसक्ने भएपछि उनको टाउकोबाट छत खोसियो। त्यसपछि भौतारिँदै हिँडेका उनी हेटौंडाको आश्रम आइपुगेका छन्। उनको पनि गोमा र दिलको जस्तै नेपाली नागरिकता लिने इच्छा छ। तर नेपालको कानुनले माग्ने प्रमाण र नातासम्बन्ध उनीसँग छैन। 

    ओम वृद्धाश्रममा हाल नेपाली नागरिकता नभएका ९ जना छन्। उनीहरूको कुनै परिचय छैन, कतिको त नामै पनि आश्रममा आएपछि राखिएको छ। आश्रम सञ्चालक समितिका अध्यक्ष बुद्वि प्रसाद पौडेलको अनुसार हाल आश्रममा नागरिकता नभएका ७ जना वृद्ध र २ जना वृद्धा छन्। धेरै पहिलादेखि नै उनीहरूलाई नागरिकता दिलाउन हरसम्भव प्रयास गरे पनि सफल नभएपछि थकित भएर बसेको पौडेलको गुनासो छ।

    नेपालमा नागरिकतासम्बन्धी केही ऐन कानुन प्रचलित छन्। केही समयअघि एक अध्यादेश पनि जारी भएको छ। आमाको नामबाट पनि नागरिकता पाउनेजस्ता राम्रो ऐन कानुन बनेको नेपालमा अभिभावक नै नहुँदा कसरी नागरिकता प्राप्त गर्ने भन्ने विषयमा खासै चर्चा भएको पाइँदैन। जसले गर्दा कयौं नागरिक नेपालको भएर पनि नेपाली बन्न सकेका छैनन्।

    उसो त विदेशीहरूले पनि नेपाली नागरिकता लिएको कुरा समय समयमा नआएको होइन।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नेपालको कुनै पनि नागरिक नागरिकता पाउनबाट बञ्चित हुन नहुने भन्दै आश्रमका वृद्ववृद्धालाई नागरिकता दिलाउन आवश्यक अध्ययन अनुसन्धान गर्ने बताए।

    उनले आफू आएपछि यस विषयमा भर्खरै थाहा भएकाले आवश्यक अनुसन्धान गरेर कानुनले भनेजस्तै प्रमाण र आधार पुगेकालाई नागरिकता प्रदान गर्न पहल गर्ने आश्वासन दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]