राजनीति

सहमति सरकारको सम्भावना नरहेपछि प्रधानमन्त्री चयन बहुमतीय प्रक्रियाबाट

साउन १७, २०७३

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा टुङ्गिएपछि प्रधानमन्त्री चयनको प्रक्रिया बहुमतीय प्रक्रियामा अगाडि बढ्ने भएको छ। 

    राष्ट्रपति भण्डारीले गत साउन १० गते सहमतिको सरकार गठन गर्नका लागि एक साताको समय दिएकी थिइन्। सहमतिको सरकार गठनका लागि दिएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको चयन प्रक्रिया बहुमतका आधारमा अगाडि बढ्ने र त्यसका लागि राष्ट्रपति कार्यालयबाट सोसम्बन्धी पत्र प्राप्त हुनुपर्ने व्यवस्था रहेको छ। 

    व्यवस्थापिका–संसद्को बैठक सोमबार ३ बजे राखिएको छ। राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सभामुख ओनसरी घर्तीले सोसम्बन्धी जानकारी सदनलाई गराएर संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोक्नेछिन्। 

    राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया अगाडि बढ्ने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए। राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सचिवालयले प्रधानमन्त्रीको उम्मेदवारी दर्तालगायतको निर्वाचन तालिका तोक्नेछ। 

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरिरहेका छन्। नेकपा एमालेले भने कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा हालसम्म कुनै निर्णय गरिसकेको छैन। 

    सचिवालयले सम्भवत यही साउन १९ गते नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको कार्यक्रम तय गर्ने तयारी गरेको छ। सहमतिको प्रक्रिया लगभग अन्त्य भएपछि दलले बहुमतीय प्रक्रियाका लागि समर्थन जुटाउनका लागि प्रयास पनि सुरु गरेका छन्। 

    माओवादी केन्द्रका अध्यक्ष दाहालले आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापासँग भेटवार्ता गरेका छन्। कांग्रेस र माओवादी केन्द्रको संयुक्त कार्यदलले सरकारको प्राथमिकता र संयुक्त नीति तथा कार्यक्रमका बारेमा आवश्यक गृहकार्य गरिरहेको छ भने आन्दोलनरतः मधेसवादी दल र गठबन्धनको संयुक्त कार्यदल पनि छलफलमा जुटिरहेका छन्। 

    राष्ट्रपति भण्डारीले आइतबार पनि प्रमुख दलका नेतालाई बोलाएर सहमतिका लागि अझै प्रयास गर्न आग्रह गरेकी थिइन्। राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीलाई जानकारी दिँदै कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्भावना सकिएकाले बहुमतीय प्रक्रियाका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरिएको बताएका थिए। 

    राष्ट्रपति भण्डारीसँगको छलफलमा सहभागी मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सहमतिको प्रयासका लागि आइतबारसम्म भइरहेको प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराइएको बताउँदै सहमतिका लागि सोमबार अपराह्न ३ बजे बस्ने संसद्को बैठकअघिसम्म सम्भावना रहेकाले त्यसका लागि प्रयास गरिने जानकारी गराएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]