अर्थ

वैदेशिक लगानी चार गुणा घट्यो,  भारत र चीनबाट मात्रै ५१ अर्ब कमी

साउन १७, २०७३

    काठमाडौं :  आर्थिक वर्ष २०७१/७२ मा नेपालमा ६७ अर्ब ४२ करोड ४० लाख रुपैयाँ पुगेको वैदेशिक लगानी गत आर्थिक वर्षमा भने चार गुणाले कमी आएको छ। नाकाबन्दी र भूकम्पले अर्थतन्त्र कमजोर भएको गत आर्थिक वर्षमा वैदेशिक लगानी जम्मा १५ अर्ब १३ करोडमा सीमित भयो। नेपालमा बढी लगानी गर्ने भारत र चीनबाट लगानी नआउँदा वैदेशिक लगानी घटेको हो।

    आर्थिक वर्ष २०७१/७२ मा भारतबाट ३४ अर्ब ७१ करोड रुपैयाँ लगानी आएकोमा गत आर्थिक वर्ष २०७२/७३ मा जम्मा १ अर्ब ९४ करोड रुपैयाँ मात्र आयो। त्यस्तै चीनबाट आर्थिक वर्ष २०७१/७२ मा २४ अर्ब ३२ करोड रुपैयाँ लगानी आएकोमा गत आर्थिक वर्षमा ६ अर्ब २६ करोड रुपैयाँ मात्र आएको छ।

    गत आर्थिक वर्षमा भारत र चीनबाट मात्र ५१ अर्ब रुपैयाँ वैदेशिक लगानी घटेको छ। त्यस्तै आर्थिक वर्ष २०७१/७२ मा २ अर्ब ९३ करोड रुपैयाँ बैदेशिक लगानी आएको ब्रिटिस भर्जिन आइल्याण्डबाट गत आर्थिक वर्षमा एक रुपैयाँ पनि लगानी नआएको उद्योग विभागको तथ्याङ्कमा देखिएको छ।

    आर्थिक वर्ष २०७१/७२ मा १ अर्ब ७ करोड विदेशी लगानी आएको टर्कीबाट लगानी घटेर ३ करोड ४० लाख रुपैयाँ मात्रै लगानी नेपाल भित्रिएको छ। त्यस्तै बंगलादेश, पाकिस्तान र रसियाबाट पनि नेपालमा आउने लगानी घटेको उद्योग विभागको तथ्याङ्कले देखाएको छ। नेपालमा आर्थिक वर्ष २०७१/७२ मा ४२ देशबाट लगानी आएकोमा गत आर्थिक वर्षमा जम्मा ३६ देशबाट मात्र वैदेशिक लगानी आएको छ।

    यी देशबाट बढ्यो

    मौरिससबाट भने लगानी बढेको छ। आर्थिक वर्ष ७१/७२ मा ८० लाख रुपैयाँमात्र आएकोमा गत आर्थिक वर्षमा ४० करोड रुपैयाँ आएको छ।

    त्यस्तै बेलायतबाट आएको लगानी पनि बढेको छ। आर्थिक वर्ष २०७१/७२ मा १ अर्ब २४ करोड रुपैयाँ आएकोमा गत आर्थिक वर्षमा २ अर्ब ७ करोड रुपैयाँ लगानी आएको छ।

    स्वीटजरल्याण्डबाट आर्थिक वर्ष २०७१/७२ मा १८ करोड ९५ लाख रुपैयाँ लगानी आएकोमा गत आर्थिक वर्षमा १ अर्ब ८३ करोड रुपैयाँ लगानी आएको छ। गत वर्ष अमेरिका र सिंगापुरबाट पनि वैदेशिक लगानी बढेको छ।

    'लगानी होइन सहयोग मात्रै'

    नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान नेपालमा पर्याप्त लगानीको सम्भावना हुँदाहुँदै उपयुक्त वातावरण नहुँदा वैदेशिक लगानी आउन नसकेको बताउँछन्।

    अहिले धेरै देशको प्राथमिकता नेपालमा लगानी गर्नु नभएको भन्दै उनले अहिले आएको वैदेशिक रकम त सहयोग मात्र भएको दावी गरे। 'जुन राष्ट्रबाट उचित प्रतिफल आउँदैन, मन लागेको बेला आफ्नो उद्योग बन्द गर्न सकिदैन, ३० औँ वर्ष पुराना ऐन कानुन छन्, अनि लगानीको सुरक्षा पनि छैन, त्यस्ता राष्ट्रमा कसरी लगानी आउँछ?” उपाध्यक्ष श्रेष्ठले प्रश्न गरे।

भागवत भट्टराई

भागवत भट्टराई 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]