काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
सुनुवा
काठमाडौं :संसदीय विशेष सुनुवाई समितिले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा राजदूत सिफारिस भएका परराष्ट्र सेवाका ८ जनाको मात्र नाम अनुमोदन गरेको छ।
समितिले पूर्ववर्ती ओली सरकारले नैं सिफारिस गरेको १४ जना राजनीतिक पृष्ठभूमि भएका र परराष्ट्रसेवा वाहिरबाट सिफारिस गरिएकाको भने सुनुवाई नगर्ने बहुमतले निर्णय गरेको छ।
समितिको शुक्रबार दुई बजेदेखि बसेको बैठकले पूर्ववर्ती सरकारले राजदूतमा सिफारिस गरी समितिले सुनुवाई समेत गरिसकेको ८ जना परराष्ट्र सेवाका कर्मचारीको नाम भने अनुमोदन गरेको छ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले परराष्ट्र सेवाबाहेकको नियुक्ति प्रक्रिया फिर्ता लिने निर्णय गरेको पत्रको व्यहोरा समिति बैठकमा राखिएपछि समितिमा बिबाद भएको थियो।
१४ सदस्यीय समितिमा एमाले, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकका सांसदहरुले समितिमा प्रवेश पाएको बिषयलाई मन्त्रीपरिषद्ले हस्तक्षेप गर्न नमिल्ने भन्दै सबैको सुनुवाई गर्नुपर्ने माग गरेका थिए।
‘समितिले सम्बन्धित व्यक्तिको नाम सार्वजनिक गरी उजुरीमाथि नैं छानबिन गरिसकेको अवस्थामा सुनुवाई नरोकौं भनियो’ समिति सदस्य भानुभक्त ढकालले थाहाखवरसँग भने ‘तर बहुमतको आधारमा संसदीय विधि, प्रक्रिया, परम्परा र नियमावली विपरित सरकारको प्रस्तावित राजदूतको नाम फिर्ता लिने निर्णयलाई अनुमोदन गरियो।’
ढकालले प्रस्तावित राजदूतको नाम सार्वजानिक गरी उजुरीमाथि नैं छानबिन गर्ने बिषय सरकारको नभएर व्यवस्थापिका संसदको भएपनि हस्तक्षेप गर्ने कार्य भएको टिप्पणी गरे । ढकालले भने ‘संसदमा पनि कुनैं बिधेयक पेश मात्र भएको अवस्थामा सरकारले फिर्ता लिन सक्छ तर छलफल भएर निर्णय प्रक्रियामा गएको बेला फिर्ता लिनु भनेको व्यवस्थापिकामाथि हस्तक्षेप गर्नु हो।’
समिति सदस्य योगन्द्र चौधरीले व्यवस्थापिका संसदको कार्यक्षेत्रमा परेको बिषयलाई लिएर सरकारले प्रस्तावित राजदूतको नाम फिर्ता लिएर नराम्रो परम्परा बसेको बताए। चौधरीले समितिको निर्णयप्रति आफु असन्तुष्ट रहेपछि सरकारको निर्णयलाई अनुमोदन गर्नुपर्छ भन्ने पक्षमा आफु रहेको बताए ।
संसदीय सुनुवाईमा सरकारको निर्णयलाई सदर गर्ने पक्षमा कांग्रेस, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकका सांसदहरुले मत दिएका थिए। समितिमा रहेका एमाले चार सांसद अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल, डा. गणेशमान गुरुङ र धर्मनाथ प्रसाद साह तथा राप्रपा नेपालकी शयन्द्र वान्तवाले मन्त्रीपरिषद्को निर्णय बमोजिम राजदूतमा प्रस्तावितहरुको सुनुवाई नगर्ने निर्णयको बिपक्षामा मत जाहेर गरेका थिए।
१५ सदस्य हुने समितिमा संघिय समाजवादी फोरमको तर्फबाट प्रतिनिधित्व हुन बाँकी छ भने समिति सभापति गुरुङले कतै पनि मत व्यक्त गरेनन्।
समितिमा कांग्रेसका ६, माओवादी केन्द्रका दुई र राप्रपा नेपाल तथा फोरम लोकतान्त्रिकका एक/एक जना सदस्य छन्।
निराश भएर फर्किए राजदूतमा सिफारिस हुनेहरु
राजनीतिक आधारमा सिफारिस गरिएका १४ को सुनुवाई फिर्ता गर्ने निर्णय बहुमतको आधारमा पारित भएपछि संसदीय सुनुवाइको प्रतिक्षामा बसेका प्रस्तावित राजदूतहरु निरास भएर फर्किएका थिए।
राजनीतिक पृष्ठाभूमि बोकेका चार जनाका आजै संसदीय सुनुवाई हुने भनिएको थियो। शुक्रबार पूर्व परराष्ट्रमन्त्री समेत भएका महेन्द्रवहादुर पाण्डे, झापाका नारदनाथ भारद्वाज (वाग्ले) र शिवमायाँ तुम्वाहाम्फे तथा डा. खड्गबहादुर केसी सुनुवाईको प्रतिक्षमा संसद सचिवालय समेत पुगेका थिए।
पाण्डे, भारद्वाज र तुम्वाहाम्फे सुनुवाई हुने प्रतिक्षामा तीन घण्टासम्म समिति सभापति कुलबहादुर गुरुङको कार्यकक्षमा बसेका थिए। उनीहरुलाई सरकारले राजदूतमा नामा फिर्ता लिइसकेको भन्ने बिषयमा थाहा नैं नदिएको बताए।
अघिल्लो सरकारले एमालेबाट पाण्डे, भारद्वाज, तुम्वाहाम्फे, केसी, अलि अख्तर मिकरानी र युवराज कार्कीको नाम राजदूतमा सिफारिस गरेको थियो। कार्की पनि एमाले नेता तथा पूर्ब मन्त्री नैं हुन्।
राजनीतिक समीकरण परिवर्तन भएसँगै एमाले सरकारबाट बाहिरिएपछि एमालेकै सिफारिसमा परेका मात्र होइन, माओवादीकै सिफारिसमा परेका प्रस्तावित राजदूतहरुको पनि नाम फिर्ता भएको छ। माओवादीले चार जना युवनाथ लम्साल, डा. महेन्द्रप्रसाद सिंह राजपुत, पदम सुन्दास र लक्की शेर्पालाई ओली नेतृत्वको सरकारले राजदूतमा सिफारिस गरेको थियो।
मन्त्रीपरिषद्को शुक्रबारको बैठकले अघिल्लो सरकारद्वारा राजदूतमा सिफारिस भएका राप्रपा नेपालको कोटामा परेका तीन जना खगेन्द्र बस्नेत, भरतबहादुर रायामाझी र निरञ्जनकुमार थापा तथा फोरम लोकतान्त्रिकको कोटा परेकी शर्मिला पराजुली ढकालको नाम पनि फिर्ता लिने निर्णय गरेको छ।
राजदूतमा सिफारिस भएका परराष्ट्र सेवाका आठ जनाको नामावली र देश
१. सेवा लम्साल अधिकारी –पाकिस्तानको लागि राजदूतमा
२. ताराप्रसाद पोखरेल – ब्राजिलका लागि राजदूतमा
३. प्रकाशकुमार सुवेवदी – संयुक्त राष्ट्र संघिय कार्यालय को स्थायि प्रतिनिधिमा
४. ऋषिराम घिमिरे – रुसी महासंघको लागि राजदूत
५ं रमेश प्रसाद खनाल –जर्मनीका लागि राजदूत
६. झविन्द्र अर्याल – इजिप्टको लागि राजदूत
७. डा. दुर्गाबहादुर सुवेदी (दुवसु क्षेत्री) – वेलायतको लागि राजदूत
८. लोकबहादुर थापा –बेल्जियम र युरोपियन युनियनका लागि राजदूत
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।