राजनीति

संसदमा प्रतिपक्षीको आरोप- यो सरकार विदेशीको डिजाइनमा

साउन २४, २०७३

    काठमाडौं : प्रतिपक्षी दलहरुले विदेशीको डिजाइनमा राष्ट्रवादी सरकार ढालेर नयाँ सरकार गठन गरिएको आरोप लगाएका छन्।

    व्यवस्थापिका संसदको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र राप्रपा नेपालका सांसदले संविधान कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निमाण र आर्थिक समृद्धिको दिशामा केपी शर्मा ओली नेतृत्वको सरकारले काम गरिरहेको अवस्थामा विदेशीको आडमा सरकार ढालेको आरोप लगाएका हुन्। 

    बैठकमा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले कसैको योजना र डिजाइनमा नेतृत्वमा नआएको पुष्टी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिए। ‘कसैको डिजाइन र रिमोटमा सञ्चालित प्रधानमन्त्री भन्ने सुनिन्छ। तपाईँ मुलुकको कार्यकारी प्रधानमन्त्रीका रुपमा अघि बढेमा हामीलाई गर्व हुनेछ’, उनले भने।

    ढकालले मंसिरमा निर्धारित स्थानीय निकायको निर्वाचन चैतमा धकेलेर संवैधानिक रिक्ततामा रमाउनेहरुलाई मलजल नगर्न उनले प्रधानमन्त्रीलाई सचेत समेत गराए।

    ‘संविधान कार्यान्वयनका लागि विगतको सरकारले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका कार्यान्वयन हुन नदिई संवैधानिक रिक्तता पैदा गर्ने खेल सुरु भएको छ', प्रमुख सचेतक ढकालले भने, 'संवैधानिक रिक्तताको मौका कुरेर बसेकाहरुलाई मलजल पुर्‍याउने काम सरकारले नगरोस्।’ संविधान कार्यान्वयनका लागि वर्तमान सरकारलाई जस्तोसुकै सहयोग गर्न एमाले तयार रहेको उनको भनाई छ।

    बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकार गठन भएसँगै 'नेपाली जनताको निर्णायकत्वमा कालो बादल लागेको' टिप्पणी गरेका छन्। 'राष्ट्रियतामा दृढ, संविधान कार्यान्वयनमा गतिशील, भूकम्पपछिको पुनर्निमाणमा क्रियाशील सरकार विस्थापित गरेर नयाँ सरकार गठन गर्नुको आधार, पृष्ठभूमि र औचित्यबारे क्रमशः पुष्टि हुने' भन्दै थापाले घुमाउरो शैलीमा वर्तमान सरकार भारतको डिजाइनमा निर्माण भएको आरोप लगाए।

    १२ बुँदे समझदारीदेखि नेपाली राजनीतिमा वैदेशिक हस्तक्षेप बढेको भन्दै उनले वर्तमान सरकार गठन हुँदा पनि त्यसले निरन्तरता पाएको दावी गरे। '१२ बुँदे सहमति भएदेखि नै नेपाली जनताको निर्णाकत्वको अवस्था घट्यो, नेताहरु वैदेशिक प्रभावमा परे। राष्ट्रवादी सरकार विस्थापित गरी वर्तमान सरकार गठन भएसँगै नेपाली जनताको निर्णायकत्वमा कालो बादल लागेको छ,’ थापाले भने।

    नेपाल र भारतको सम्बन्ध चिसिएको भन्दै अनावश्यक परिचर्चा नगर्न उनले शीर्ष नेताको ध्यानाकर्षण गराएका छन्। भारत सरकारको आधिकारिक दस्तावेजमा नेपाल भारत सम्बन्ध सौहार्दपूर्ण रहेको उल्लेख गर्दै थापाले 'सम्बन्धको अपव्याख्या गरी आत्मसमर्पण नगर्न' सुझाव दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]