राजनीति

कांग्रेस सभापति देउवाको दाबी- संविधान कार्यान्वयन गर्न सरकार नै तयार छैन

फोटोः दीपक केसी/थाहाखबर
जेठ २३, २०७३

    पोखरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संविधानको कार्यान्वयनमा तयार नदेखिएको आरोप लगाउनुभएको छ।

    आइतबार पोखरामा कार्यकर्तासँगको भेटघाटमा सभापति देउवाले संविधान कार्यान्वयनका लागि देशमा स्थानीय, प्रादेशिक र राष्ट्रियसभाको निर्वाचन आवश्यक रहेको र स्थानीय निकायको निर्वाचनका लागि स्थानीय स्वायत्त शासन पुनःगठन गर्न गठित आयोगको म्याद फागुनसम्म रहे पनि सरकारले त्यस अगावै मङ्सिरमा चुनाव गर्ने कुरा गरिरहेको बताउनुभयो। 

    “आयोगको दिएको प्रतिवेदनका आधारमा चुनाव हुने हो,” उहाँले भन्नुभयो, “ आयोगको म्याद फागुनसम्म छ तर सरकार मङ्सिरमा चुनाव गराउने कुरा गरिरहेको छ, संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध छैन।” 

    गाउँपालिका र नगरपालिकाको निर्वाचन नभै प्रदेश र राष्ट्रिय सभाको निर्वाचन चुनाव हुन नसक्ने पूर्वप्रधानमन्त्री देउवाले बताउनुभयो। “कि सरकारले आयोगको म्याद घटाएर कात्तिक बनाउन पर्‍यो,” नेता देउवाले भन्नुभयो, “चुनावका सम्बन्धमा हामी प्रतिवद्ध छाँ, प्रजातन्त्रवादी कहिल्यै चुनावको विपक्षमा हुँदैन।” 

    सरकारले बजेट दुरुपयोग गर्न खोजेको बताउँदै उहाँले भन्नुभयो – “देशको ढुकुटीमा कांग्रेसले जम्मा गरेको हो, त्यसको दुरुपयोग गर्न दिनुहुँदैन।” कांग्रेसमा एकता हुनु आवश्यक भएकामा उहाँको जोड थियो। 

    सोही अवसरमा कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सहमति, सहकार्य र एकताको भावनालाई दृष्टिगत गरी कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

    कांग्रेसको भूमिका अग्रणी

    देउवाले संविधान कार्यान्वयनमा कांग्रेसले अग्रणी भूमिका खेल्ने बताउनुभयो। नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित तथा प्रजातन्त्रका सेनानी दयाशङ्कर पालिखेको स्मृतिमा उहाँको परिवारद्वारा स्थापित ‘दयाशङ्कर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ रमेश पौडेललाई प्रदान गर्दै उहाँले संविधान कार्यान्वयनपछि मात्रै सङ्घीय गणतान्त्रिक लोकतन्त्रको स्थायित्व हुने र देश आर्थिक समृद्धितर्फ उन्मुख हुने विचार व्यक्त गर्नुभयो।

    उहाँले जनताले तिरेको कर र दातृ निकायले दिएको सहयोगका रुपमा आएको पैसा जथाभाबी नचाहिँदो काममा खर्च गरेर दुरुपयोग गर्न नहुनेमा जोड दिनुभयो। उहाँले श्रमजीवी पत्रकार ऐन लागू गर्न आफूले प्रयास गर्ने आश्वासन पनि दिनुभयो। 
    नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले प्रजातन्त्रका सेनानी स्व. पालिखे र प्रतिभा छनोट समितिका सदस्य पुण्य पौडेलले पुरस्कृत व्यक्तित्वको जीवनीमाथि प्रकाश पार्नुभएको थियो।

    प्रत्येक वर्ष वितरण गरिने सो पुरस्कारको राशि रु ३३ हजार ३३३ र साथमा सम्मानपत्र छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]