मनोरञ्जन

अपडेटः संगीतकार गुरुङको हिन्दू र बौद्ध दुवै विधिबाट अन्येष्टि गरिने

वरिष्ठ संगीतकार अम्बर गुरुङ अब सम्झनामा मात्र

असार १, २०७३

    काठमाडौं : गए राति निधन भएका वरिष्ठ संगीतकार अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधिद्वारा अन्तिम संस्कार गरिँदैछ। उनको शव मंगलबार बिहान १०:५१ बजे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट नेपाल प्रज्ञा–प्रतिष्ठान ल्याइएको छ।

    अपराह्न ३ बजेसम्म श्रद्धाञ्जलिका लागि प्रतिष्ठानमा राखिने र त्यसपछि पशुपति आर्यघाट लगिने उहाँका माहिला छोरा राजुले जानकारी दिए। उनले भने, “बुबाको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिने छ। अन्तिम संस्कार हिन्दू र बौद्ध दुवै विधिबाट हुनेछ।“ 

    अस्ताए अम्बर
    नेपाली गीत संगीत क्षेत्रका नौलाखे तारा वरिष्ठ संगीतकार अम्बर गुरुङ अस्ताएका छन्। उनको ७९ वर्षको उमेरमा आज बिहान निधन भएको हो। राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङको उपचारका क्रममा आज बिहान २ बजेर ३७ मिनेटमा निधन भएको ग्राण्डी अस्पतालले जनाएको छ। 

    भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्याका कारण गुरुङको निधन भएको हो। उनी गत हप्तादेखि स्थानीय ग्रान्डी अस्पतालमा उपचारत हुनुहुन्थ्यो। यसअघि उहाँको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो। 

    विसं १९९४ फागुन १४ गते भारतको दार्जिलिङमा उहाँको जन्म भएको थियो। प्रवासमा जन्मेर नेपाल आई उनले नेपाली गीतसङ्गीतमा योगदान गरे। 

    उनको पहिलो गीत ‘नौलाख तारा उदाए...’ विसं २०१८ मा कोलकातामा रेकर्ड भएको थियो। विसं २०२४ मा नेपाल आएका गुरुङले २०२६ देखि नेपाल प्रज्ञा– प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गरेका थिए। उनी २०२७ सालमा गोरखा दक्षिण बाहुले विभूषित भए। 

    ‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बाँध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई उनले सङ्गीतबद्ध गरेका थिए। त्यस्तै ‘फर्केर हेदार्’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’लगायतमा समेत उनले सङ्गीत भरेका नेपाली गीतसङ्गीतका अध्येता प्रकाश सायमीले बताए।

    त्यसैगरी उनले ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए..., ‘म अम्बर हुँ, तिमी धर्ती...’ लगायत करिब ५०० गीतमा सङ्गीत भरेका थिए। उनी गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त थिए। सरकारले उनलाई नेपाली सेनाको मानार्थ महासेनानीबाट सम्मान गरेको थियो। 

    नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति गुरुङले करिब हजार गीतमा सङ्गीत भरेका छन् भने छ/सात सय गीत उनकै शब्द र स्वरमा रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]