समाज : मिडिया

सञ्चारिका समूहको अध्यक्षमा नितु पण्डित, ११ बुँदे काठमाडौं घोषणापत्र जारी

भदौ ३१, २०७५

    काठमाडौं : पत्रकार महिलाको छाता संगठन सञ्चारिका समूहको अध्यक्षमा नितु पण्डित चयन भएकी छन। समूहको आइतबार काठमाडौंमा सम्पन्न भएको सातौं महाधिवेशन एवं २२ औं साधारणसभाले पण्डितको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वोरोध चयन गरेको हो।

    समूहको उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोदा अधिकारी र कोषाध्यक्षमा सीमा शर्मा रहेका छन्। यसैगरी दुर्गा कार्की, रुवी रौनियार, वसन्ती बास्तोला, सञ्चिता घिमिरे, उर्वशी बस्न्यात, कृती भट्टराई, पवित्रा सुनार र कविता थापा सदस्यमा चयन भएका छन्। वरिष्ठ पत्रकार तीर्थ कोइरालाको अध्यक्षतामा चयन भएको निर्वाचन मण्डलले समूहको कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गर्न सफल भएको थियो। समितिको कार्यकाल ३ वर्षको रहनेछ।

    यसअघि सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माको अध्यक्षता तथा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्य तथा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा मगरको विशिष्ट आतिथ्यमा महाधिवेशनको उद्घाटन गरिएको थियो। कार्यक्रममा सञ्चारिका समूहकी महासचिव कमला पन्थीले महासचिवको प्रतिवेदन तथा कोषाध्यक्ष यशोदा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

    चार पत्रकार पुरस्कृत

    यसैबीच महाधिवेनशन सन्दर्भमा सञ्चारिकाले चार पत्रकारलाई पुरस्कृत गरेको छ। सञ्चारिकाले यस वर्षको ‘सञ्चारिका समानता पुरस्कार २०७४’ पत्रकार सन्त गाहा मगरलाई प्रदान गरेको छ। समूहले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार मगरले हिमाल खबर पत्रिकामा प्रकाशित ’समाज नै संवेदनाहीन’ फिचरका लागि दिइएको हो। उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ।

    यसवर्ष पनि ३ सदस्यीय छनौट समिति बनाई समूहले लैङ्गिक समानतामा आधारित समाचार लेख तथा फिचरबाट छनोट गरिएका फिचरलाई शैली, विषयवस्तु, सन्देश, लैङ्गिक संवेदनशीलता, अन्वेषणजस्ता विषयवस्तुलाई आधार बनाएर मूल्याङ्कनको लागि दिइएको थियो। छनोट समितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सञ्चारिका समूहका पूर्वअध्यक्ष तथा सल्लाहकार बबिता बस्नेत र सञ्चारिका समूहका संस्थापक अमृता लम्साल रहेका थिए।

    त्यसैगरी समूहले २०७४ सालको स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७४ अछाम जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार गीता कुँवरलाई प्रदान गरेको छ। पत्रकार कुँवर अछामबाट अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको लागि रिपोर्टिङ गर्छिन्। उक्त पुरस्कार स्व. पत्रकार उमा सिंहको नाममा स्थापना गरिएको र महिला पत्रकारलाई पेशामा थप उत्साह बढाउनका लागि २०६६ सालमा स्थापना भएको थियो। उक्त पुरस्कारको राशि ७ हजार एक सय ११ रुपैयाँ रहेको छ।

    त्यस्तै सञ्चारिका प्रोत्साहन पुरस्कार २०७४ देशसञ्चार अनलाइनमा कार्यरत वर्षा शाह र कान्तिपुर दैनिकमा कार्यरत पत्रकार शिल्पा कर्णलाई प्रदान गरेको छ। छोटो अवधिमा सक्रिय भई पत्रकारिता गर्ने पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउन सहयोग पुर्याउने उद्देश्यले २०६२ सालमा सञ्चारिका प्रोत्साहन पुरस्कार स्थापना गरिएको हो।

    उक्त पुरस्कार सञ्चारिका समूहको सातौं महाधिवेशन र २२ औं वार्षिक साधारण सभाको अवसरमा आज उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र  विशेष अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए।

    ११ बुँदे काठमाडौं घोषणा पत्र जारी

    ‘समानताका लागि संचार’ भन्ने मूल नाराका साथ सम्पन्न भएको सञ्चारिका समूहको ७ औं महाधिवेशन तथा २२ औं वार्षिक साधारणसभाले ११ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ। देशका विभिन्न जिल्लामा रहेका समूहका शाखा र काठमाडौं उपत्यकामा रहेका सदस्य पत्रकार महिलाहरु सहभागी भएको साधारण सभाले ११ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको हो।

    अनिता बिन्दु संयोजक तथा जया लुईंटेल, दुर्गा कार्की, अमृता अनमोल, लोग्शरी कुँवर सदस्य रहेको घोषणापत्र समितिले सञ्चार क्षेत्र, लैंगिक समानता तथा समसामयिक विषयमा केन्द्रित रहेर घोषणापत्र तयार गरेको हो।

    १. संचारमाध्यममा पत्रकार महिलाको संख्यात्मक तथा गुणात्मक वृद्धि गरि पत्रकारितामा क्षमता अभिवृद्धि गर्नुका साथै टिकाइराख्ने र निर्णायक तहमा पुग्ने वातावरण बनाउन सरकार, सञ्चार गृह र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं।   

    २. सञ्चार गृह तथा सञ्चारसँग सम्बन्धित संस्थाहरुमा संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी सिद्धान्त अनुसार सरकारले अबलम्वन गरेको लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति अविलम्ब कार्यान्वयनमा ल्याउन माग गर्दछौं।

    ३. न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक कार्यान्वयनका लागि सम्पूर्ण सञ्चारमाध्यमहरुलाई ध्यानाकर्षण गराउँदै यसको अनुगमनका लागि सरकारसँग माग गर्दर्छौं। 

    ४. सञ्चार प्रतिष्ठानहरुलाई लैंगिक मैत्री बनाउने निर्देशिका २०६९ तुरुन्त कार्यान्वयनमा लैजान सरकारसँग माग गर्दर्छौं।

    ५.सबै सञ्चार गृहले लैंगिक मैत्री वातावरण निर्माणका लागि आन्तरिक लैंगिक नीति निर्माण गरी जारी गर्न अनुरोध गर्दछौं। साथै महिला भएकै कारणले हुने विभेदको अन्त्य गर्न सबै सञ्चार गृहले पत्रकार महिलाका लागि सकारात्मक विभेदको नीति अपनाउन अनुरोध गर्दछौं।

    ६. सबै सञ्चार माध्यमहरुले प्रकाशन तथा प्रशारण गर्ने विषयवस्तुमा लैंगिक मुद्धा (महिला, आदिवासी, जनजाती, फरक क्षमता भएका व्यक्ति, मुस्लिम, मधेशी, यौनिक तथा लैंगिक अल्पसंख्यक) लाई प्राथमिकता दिन अनुरोध गर्दछौं। 

    ७. कार्यस्थललाई लैंगिक तथा यौनजन्य हिंसा मुक्त बनाउन सबै सञ्चार संस्थाहरुको ध्यानाकर्षण गर्दर्छौं। रिपोर्टिङ, सम्पादन लगायतका कामका शिलशिलामा महिला भएकै कारण असुरक्षित हुने वातावरणको अन्त्य गर्न सरकारसँग माग गर्दर्छौं।

    ८. संचार माध्यम र सामाजिक संजालहरुमा प्रयोग गरिने भाषामा लैंगिक संवेदनशीलता अपनाउन प्रयोगकर्ता र पत्रकारलाई अनुरोध गर्दै त्यसको अनुगमन र नियमन गर्न सरकारको ध्यानाकर्षण गराउँदछौं।

    ९.समाजमा बढ्दै गएको बलात्कार र हत्या, यौनजन्य दुव्र्यवहार सम्बन्धमा भएका दण्डहीनता अन्त्य गर्न सरकारसँग माग गर्दछौं।  

    १०. प्रेस स्वतन्त्रतालाईं अंकुश लगाउने गरी आएको मुलुकी अपराध संहिता ऐन र मुलुकी देवानी संहिता ऐनलाई संशोधन गरी जिम्मेवार प्रेस स्वतन्त्रताको प्रत्याभूती गराउन सरकारसँग र संघीय संसदसँग माग गर्दछौं। साथै गोपनीयताको हक सम्बन्धी विधेयकमा सूचनाको हकलाई अंकुश लगाउने काम नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं।

    ११. नयाँ सञ्चार नीति लैंगिक मैत्री बनाउन सरकारसँग माग गर्दछौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]