स्वास्थ्य

मुटुरोगको मुख्य कारक खानपान र जीवनशैली

माघ ५, २०७५

    पर्वत : नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन्।

    कुल जनसंख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्यांक देखिन्छ। जन्मजात मुटुरोगीको संख्या एक प्रतिशत रहेको छ। मानिसले सामान्य आफ्नो जीवनशैलीमा लापर्वाही गर्दा पनि मुटुरोगबाट ग्रसित हुने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले बताए।

    उनले जीवनशैली र खानपानमा सुधार गर्ने हो भने मुटुरोगबाट धेरै हदसम्म बच्न सकिने पनि बताए। पर्वतको कुश्मामा आएका डा. भट्टराईले मानिसको जीवनशैलीलाई साधारण बनाउन सकियो भने मुटुरोग लाग्ने सम्भावना कम हुने जानकारी दिए।

    धुम्रपान नगर्ने, शरीरमा उच्च रक्तचाप र चिनीको मात्रा घटाउने, तौल नियन्त्रण गर्ने र नियमित भोजनमा कार्बोहाइड्रेडजन्य चीज कम खानाले मुटुरोगबाट बच्न सकिने उनको सुझाव छ। मुटुरोगबाट बच्नका लागि भात, आलु, बोसोजन्य मासु, र चिल्लोपदार्थ कम खानुपर्नेमा बताए।

    त्यसैगरी, फलफूल र सागपात बढी मात्रामा खाने र नियमित व्यायाम गर्नुपर्ने, दिनमा कम्तीमा आधा घण्टा कडा परिश्रम गर्नुपर्ने बताउँदै डा. भट्टराईले वर्षको एक पटक नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने धारणा व्यक्त गरे। उनले रगत, पिसाब जाँच गर्नुका साथै स्वास फेर्न गाह्रो भएमा वा नियमित अवस्थाभन्दा फरक संकेत देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि सुझाव दिए।

    जुनसुकै उमेर समूहका नागरिक पनि सचेत हुनुपर्ने बताउँदै उनले आफ्नो स्वास्थ्यप्रति थोरै मात्र सचेत र सजग हुने हो भने पनि संवेदनशील अंग मुटुरोगबाट बच्न सकिने विचार व्यक्त गरे।

    डा. भट्टराईले आवश्यक जनशक्तिको अभाव र सरकारको नीति नियमको कमी कमजोरीका कारणले सबै तहका नागरिकसम्म मुटुरोग उपचारको पहुँच पुग्न नसकेको उल्लेख गर्दै मुटुसम्बन्धी जस्तोसुकै रोगको उपचार र शल्यक्रिया नेपालमै हुने बताए।

    विपन्न नागरिकलाई राज्यले केही सहुलियत दिन थालेको बताउँदै उनले मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएकाले यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए।

    पर्वतकै मोदी गाउँपालिकामा जन्मिएका डा. भट्टराईले पर्वत जिल्लामा ३० प्रतिशत मुटुरोगी रहेको बताए। सेभ द हार्टका संस्थापकसमेत रहेका डा. भट्टराईले विभिन्न जिल्लामा दर्जनौँ स्वास्थ्य शिविर सञ्चालन गरी विपन्न र अनाथ नागरिकको मुटुरोग परीक्षण र उपचार गर्दै आएको जानकारी दिए। उनले नेपालमा सबै किसिमको मुटुको शल्यक्रिया सम्भव भएको बताउँदै भल्भ फेर्ने सर्जरी, बाइपास सर्जरी, जन्माजात मुटुरोगीको प्वाल टाल्ने शल्यक्रिया, मुटुको नली फुटेको सर्जरी हुने बताए।

    कृत्रिम मुटु वा भ्यानटुकिलर यसिस्टिङ डिभाइस भनिने उपचार भने नेपालमा उपलब्ध नभएको उनको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]