राजनीति

शहीद परिवारलाई प्रदेश सरकारको राहत, एक परिवार एक रोजगार

माघ ६, २०७५

    लहान : अन्तरिम संविधान जारी भएसँगै २०६३ माघ ५ मा भएको आन्दोलनमो लहानमा पाँच जनाले शहादत प्राप्त गरेको दिनको सम्झनामा मनाइने ‘बलिदानी दिवस’ यस वर्ष प्रदेश २ सरकारको आयोजनामै मनाइएको छ। सिरहाको लहानस्थित पशुपति आदर्श माविको प्राङ्गणमा शनिबार आयोजित ‘बलिदानी दिवस’मा आन्दोलनमा शहादत प्राप्त गरेका प्रदेशका ५८ शहीद परिवारलाई दोसल्ला, फूलमालासहित सम्मान गरिएयो। 

    संघीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ५८ शहीद परिवारका एक एक जनालाई प्रदेश सरकारले रोजगारी दिने घोषणा गरियो। उक्त कार्यक्रममा शहीद परिवारलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको रोजगारीका लागि पत्र थमाइएको छ। 

    पत्रमा ‘प्रदेश सरकारको तर्फबाट शहीद परिवारलाई एक परिवार एक रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पर्क गर्न हुन आदेशानुसार अनुरोध छ’ उल्लेख गरिएको छ। कार्यक्रममा सहभागी हुन शहीद परिवारलाई प्रदेश सरकारले यातायात खर्च भन्दै जनही एक हजार रुपैयाँ दिएको थियो।

    मधेश आन्दोलनमा घाइते भएका प्रदेशका ७४ जनालाई २५ हजारदेखि तीन लाख रुपैयाँसम्मे राहत दिइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत सुवोधकुमार महतोका अनुसार आन्दोलनमा अङ्गभङ्ग भएका, हात खुट्टा काटिएर अपाङ्गता भएका, घाउचोट लागेकाहरुलाई मुख्यमन्त्री कार्यालयबाट खटिएको समूहले गरेको वर्गीकरणको आधारमा उक्त रकम प्रदान गरिएको हो।

    मुख्यमन्त्री लालबाबु राउतले शहीद परिवारलाई सम्मान, रोजागरी, घाइते र अपाङ्गता भएकाहरुलाई राहत दिन सुरु मात्र भएको बताएका छन्। प्रदेश सरकार बनेपछि मन्त्रिपरिषद्को पहिलो बैठकले शहीद परिवारबाट एक जनालाई रोजगारी दिने निर्णयलाई कार्यान्वयन गर्न सुरु गरिएको उनको भनाइ छ। ‘यो थालनी मात्र हो, अन्त्य होइन,’ मुख्यमन्त्री राउतले भने, ‘छुटेका शहीद परिवार, घाइते अपाङ्गता भएकाहरुले प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग समन्वय गर्न आग्रह गर्दछु।’

    शहीद परिवारको गुनासो

    बलिदानी दिवसमा सहभागी हुन लहान–४ बाट आएका शहीद विजय सहनीका बाबु लक्ष्मी सहनी भन्दै थिए, ‘छोरा शहीद भएपछि सरकारले दिएको १० लाख रुपैयाँमध्ये छोराको शालिक बनाउन भन्दै लिइएको एक लाख रुपैयाँमध्ये ७० हजार अझै पाइएन।’ उनका अनुसार तत्कालीन मधेशी जनअधिकार फोरमका जिल्ला नेताहरुले शालिक बनाउन लिएको एक लाख रुपैयाँमध्ये २०६५ सालमा ३० हजार रुपैयाँ फिर्ता भए पनि बाँकी रकम फिर्ता भएको छैन।


     
    त्यस्तै, लहान–१५ ढोढनाबाट शहीद भएका बेचन यादवकी पत्नी रामपरी यादव तथा सखुवानन्कारकट्टीका शहीद मो. अनिसकी आमा बिल्टौनिया खातुनले पनि छोराको नाममा आएको क्षतिपूर्तिमध्ये शालिक बनाउन सापटी स्वरुप लिइएको एक लाखमध्ये ७० हजार रुपैयाँ नपाएको गुनासो गरे। 

    २०६३ माघ १ गतेदेखि लागू भएको अन्तरिम संविधानमा संघीयता र समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै सुुरु भएको आन्दोलनमा माघ ५ मा लहानमा विद्यार्थी रमेश महतोको गोली लागेर मृत्यु आन्दोलन देशव्यापी भएको थियो। आन्दोलनमा क्रममा सिरहाका विभिन्न ठाउँका पाँच जनाले शहादत प्राप्त गरेका थिए भने तीन दर्जनभन्दा बढी घाइते भएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]