काठमाडौँ : राष्ट्रिय राजनीतिमा भीम रावल एउटा चिरपरिचित नाम हो। राष्ट्रिय हित प्रतिकूलका मुद्दामा खरो रुपमा उत्रिने छवि बनाएका उनी...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकबाट भ्रष्टाचार निमिट्यान्न पार्नका लागि सबैको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित विशेष कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार सबैको शत्रु भएको र यसलाई निमिट्यान्न पार्नका लागि आह्वान गरेका हुन्।
प्रधानमन्त्री ओलीले भने, 'भ्रष्टाचारीलाई श्रीमान्/श्रीमती, छोरा, छोरीले घृणा गर्छन्। भ्रष्टाचार सबैको शत्रु हो। यस शत्रुलाई निमिट्यान्न पार्नका लागि हामी सबै लाग्नुपर्छ।' उनले भ्रष्टाचार नियन्त्रणमा अख्तियार लाग्नुपर्ने बताए। सबैले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।
प्रधानमन्त्री ओलीले, 'एकले अर्कोलाई देखाएर सबै उस्तै हुन् भनेर भ्रष्टाचार ढाकछोप गर्ने र समाजप्रतिको विश्वास कमजोर पार्ने प्रवृतिबाट सबै माथि उठ्नुपर्ने' बताए। उनले भने, 'सदाचारयुक्त समाज केही प्रदूषित भएको छ, यसलाई प्रदूषित हुन नदिने संकल्प गरौँ। हामी स्वच्छ समाज निर्माण गर्ने र नेपालको पहिचान भ्रष्टाचारयुक्त मुलुकको सूचीमा छ भनेर लज्जाजनक स्थिति नहोस्।' प्रधानमन्त्री ओलीले केही भ्रष्टाचारका सूचीमा नेपाल परेकोप्रति असन्तुष्टि पनि जनाए। उनले आग्रह र पूर्वाग्रहयुक्त त्यस्ता कुराले अर्थ नराख्ने पनि बताए।
सरकार, जनप्रतिनिधि, राष्ट्रसेवक, राज्यका सबै निकाय र सरकारका सबै अंगहरूले पारदर्शिता अपनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो। उनले सम्पूर्ण पारदर्शिता र सम्पूर्ण स्वच्छतामा राज्यका निकायले काम गर्दछन् भन्ने कुरामा विश्वास दिनुपर्ने बताए। उनले भने, 'राज्यको सेवा प्रदान गर्ने प्रतिनिधि जसलाई अधिकार दिएको छ, जनताले त्यो अधिकारको प्रयोग गरिरहँदा दुरुपयोग र भ्रष्ट क्रियाकलाप नगरोस्। यसै मार्फत नै सरकारलाई र समाजलाई बुझ्ने हो मानिसले।'
कसैले भ्रष्टाचार गरेमा सरकारले निष्पक्ष भएर त्यसमाथि कारबाही गर्ने प्रधानमन्त्रीको भनाइ थियो। उनले त्यस्तो अवस्थामा निष्पक्ष कारबाही कानुनसम्मत ढंगले दृढतापूर्वक गर्नैपर्ने अवस्था आउने र सरकार त्यस्तो गर्न तयार रहेको बताए।
प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष र सबल हुनुपर्ने पनि बताए। उनले जनताले प्रतिनिधिमार्फत नै शासन गर्नुपर्ने र कानुन बनाउनुपर्ने विधि लोकतान्त्रिक विधि भएको र त्यसमा भ्रष्टाचार हुन नहुने बताए। प्रधानमन्त्री ओलीले मुलुकलाई भ्रष्टाचारबाट मुक्त गर्नका लागि अख्तियार आफू पनि भ्रष्टाचार मुक्त हुनुपर्ने र सम्बन्धित निकायहरूलाई भ्रष्टाचारबाट मुक्त गर्नका लागि काम गर्न शुभकामना दिएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।