समाज : सुरक्षा/अपराध

लेखापढी व्यवसायी राजकुमारको मृत्यु प्रकरण : हत्या भएको परिवारको दावी

फागुन ७, २०७५

    विराटनगर : मोरङको विराटनगर २ का लेखापढी व्यवसायी ४९ वर्षीय राजुकुमार ढकालको मृत्यु रहस्यमयी बनेको छ। घरबाट बैंकमा राख्न भन्दै एक लाख रुपैयाँ नगद लिएर हिँडेका ढकालको मृत्यु स्वभाविक भएको प्रहरीले बताए पनि त्यसमा परिवार सहमत हुन सकेका छैनन्।

    जिल्ला प्रशासन मोरङ अगाडि लेखापढी गर्ने ढकालको हत्या नै भएको दाबी आफन्तको छ। छिमेकमा बसोवास गर्नेहरू मध्येबाटै ढकालको हत्या भएको उनीहरु आशंका गर्छन्। त्यसबारे किटानी जाहेरी दिए पनि प्रहरीले अनुसन्धान नगरेको उनीहरूको गुनासो छ।

    छिमेकी निलम ठाकुर र उनका छोरा अमर ठाकुर परिवारसहित माघ २८ गतेदेखि बेपत्ता भएकोमा आफन्त र स्थानीयले उनीहरूमाथि शंका गरेका छन्। उनीहरू भारततर्फ झिटीगुन्टा लिएर एकाबिहानै भागेको गाउँलेहरू बताउँछन्। श्रीमानलाई पैसाकै लागि कसैले हत्या गरेको हुनसक्ने पत्नी रीता ढकालको दाबी छ।

    प्रहरीले खोलामा मृत फेला परेका ढकालको हत्याबारे कुनै प्रमाण फेला नपरेको र शव परीक्षण प्रतिवेदनमा पनि स्वभाविक मृत्यु देखिएको दावी गरेको छ। मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले ढकालको मृत्युबारे शंका गरिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोछपुछ गर्दा पनि केही आधारप्रमाण खुल्न नसकेको बताए। प्रहरीले घटनाको अनुसन्धान नै बन्द गरिसकेको छ।

    मृतक ढकाल जिल्ला प्रशासन मोरङ अगाडि बसेर लेखापढी गर्थे भने उनकी पत्नी रीता र कान्छी छोरी सुहाना चिया पसल चलाउथे। गत पुस ७ गते रीताले ब्याजमा लगाएको एक लाख रुपैयाँ उठेकोले उनले श्रीमानलाई बैंकमा जम्मा गर्न रकम दिएकी थिइन्। तर, पैसा बैंकमा जम्मा भएको छैन भने राजकुमारको शव खोलामा भेटियो।

    छिमेकी विक्रम शर्माको छोरा विशाल र निलम ठाुकरको छोरा अमर ठाकुरले रक्सी खाएर लडखडाएको अवस्थामा घरनजिक राजकुमारलाई ल्याइदिएको अनुसन्धानमा खुलेको छ । तर, उनी घर पुगेनन् । उनको शव ११ गते बस्तीनजिकै रहेको ओशो ध्यान केन्द्रमुनि सिंघिया खोला किनारमा फेला परेको थियो।

    पत्नी रीताका अनुसार नियमित रक्सी सेवन गर्ने ढकालको बानी थिएन। गाँजा, चुरोट उनी खाँदैनथे। कान्छी छोरीको बिहे गर्ने तयारीको लागि ब्याजमा लगाएको पैसा संकलन गरेकोमा श्रीमानको ज्यानसँगै पैसा पनि गायब भएको रीताको भनाइ छ।

    रक्सी खाएर लडखडाएको देखेर छिमेकीहरुले घर पुर्याउने प्रयास गर्नु तर उनी घरमा आइनपुग्नु रहस्यमयी भएको परिवारको दावी छ। उनीहरूले कसैले पैसा लुटेर खोलामा धकेलिदिएको आशंका गरेका छन्। एक मात्र सहारा रहेका पति राजकुमारको मृत्यु भएपछि अहिले आफूहरू असुरक्षित भएको परिवारका सदस्यहरु बताउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]