फिचर

जीवन जीउने आधार बन्यो जुत्ता सिलाउने सीप

फागुन ११, २०७५

    कालिकोट : दैलेखको भगवतिमाई गाउँपालिका कट्टीका ४२ वर्षीया पूर्णबहादुर मिजार कालिकोटको सदरमुकाम मान्ममा २४ वर्षदेखि जुत्ता सिलाउँदै आएका छन्। २२ वर्षको उमेरमा नै जुत्ता बिक्री गर्नका लागि कालिकोट आएका मिजार यहाँको जुत्ताको व्यापार राम्रो देखेर आफैँ जुत्ता सिलाउन थालेका हुन्। जुत्ता सिलाएर नै मिजारले एक छोरीलाई अनमी पढाएका छन् भने सुर्खेतमा जग्गा जमिन र घर समेत बनाएका छन्। जुत्ता सिलाएर नै ३ छोरी १ छोराको पढाइए खर्च आफ्नो घर खर्च चलाउने गरेको मिजारले बताए। ‘मैले जुत्ता सिलाएर नै ४ जना छोराछोरीको पढाई खर्च र घर खर्च चलाउँदै आएको छु’ उनले भने,‘यही नै मेरो जीवन जीउने आधार हो।’

    इखले सिकायो जुत्ता सिलाउने काम

    पहिलो पटक कालिकोटमा जुत्ता बिक्री गर्न आउँदा अन्त नै बनाएका जुत्ता र सोल ल्याएर बिक्री गर्ने गरेका मिजारले सस्तोमा जुत्ता र जुत्तामा प्रयोग हुने सोल र रङ बिक्री गर्न थालेका बताए। ‘म कालिकोटमा जुत्ता बिक्री गर्नका लागि आउँदा बाहिर नै बनेका जुत्ता, जुत्तामा प्रयोग हुने सामग्री बिक्री गर्थे।’ उनले भने,‘यहाँ भएका पसलभन्दा झन्डै आधा मूल्यमा बिक्री गर्थे।’

    लगातार दुई वर्ष उत्कृष्ट पुरस्कार जितेका कारणले नेपाल सरकारले २०६६ सालमा थाइल्याण्डमा घुमाएको मिजारले बताए। ‘उत्कृष्ट पुरस्कार जितेपछि नेपाल सरकारले नै मलाई थाइल्याण्ड घुम्ने अवसर दियो।’ उनले भने,‘योभन्दा ठुलो उपलब्धि के हुनसक्छ एउटा जुत्ता सिलाउनेका लागि।’

    कालिकोटमा जुत्ताको व्यापार गर्न आउँदा छालाका जुत्ता सिलाउने दुई वटा पसल मात्र भएको र ती पसलको भन्दा आफूले सस्तोमा जुत्ता तथा त्यसमा प्रयोग हुने सामग्री बेचेका कारणले ती पसलेहरूले आफूले गरेको व्यापारबाट रिस मानेर जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको मिजार बताए। ‘मैले सस्तोमा जुत्ता बेचेको दुई पसलेले रिस मानेँ। जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए।’ उनले भने,‘प्रहरी कार्यालयमा पुगेँपछि मलाई लाग्यो अब जुत्ता आफै सिलाएर बिक्री गर्छु भन्ने लाग्यो। त्यही दिनबाट जुत्ता सिलाउन थालेँ।’

    आफूसँग जुत्ता सिलाउने सीप नभएको र प्रहरीमा लिएको दिनमा नै जुत्ता सिलाएर उनीहरूको अगाडि केही गरेर देखाउने सोच बनेको मिजारले बताए। ‘मलाइ प्रहरीमा लिएर गएको दिनको राति नै जुत्ता सिलाउनका एक जोर जुत्ता च्यातेर कसरी सिलाएको रहेछ भनेर राम्ररी हेरे’ उनले भने,‘जुत्ता च्यात्दै र सिलाउँदै सीप सिक्न थालेँ।’

    जुत्ता बनाउन ४ हजार ड्रइङ्ग पेपर सकेँ

    जुत्ता आफैँ सिलाउँछु भनेर आँट लिएको तर हातमा सीप नहुँदा आफूले ४ हजार ड्रइङ्ग पेपरमा जुत्ता बनाउनका लागि चित्र कोरेको मिजार बताए। ‘जुत्ता आफैँ सिलाउन थालेँ। हातमा सीप थिएन। गुरु पनि कोही थिएन।’ उनले भने,‘त्यसैले ड्रइङ्ग पेपरमा जुत्ताका साइज नयाँ नयाँ मोडेर कोर्दै ६ महिना ४ हजार ड्रइङ्ग पेपर सकेछु।’

    ड्रइङ्ग पेपरमा ६ महिनासम्म जुत्ताका चित्र कोरेर नयाँ नयाँ मोडेलका जुत्ता बनाउन सिकेर आफू राम्रो जुत्ता सिलाउने बनेको मिजारले बताए। ‘ड्रइङ्ग पेपरमा चित्र कोर्दा कोर्दै राम्रो जुत्ता सिलाउन जानी सकेछु।’ उनले भने,‘त्यही सघर्षको सीपले आज बाच्ने आधार बनेको छ।’ 

    पहिला हेय भावले हेर्थे अहिले सम्मान गर्छन्

    सुरुमा जुत्ता सिलाउने पेसा गर्दा अरू मानिसले हेयका भावले हेर्ने गरेको भए पनि अहिले सम्मान गर्ने गरेको मिजारले बताए। ‘पहिला पहिला मानिस जुत्ता सिलाउने पेसा गर्नेलाई मानिसहरूले हेयको भावले हेर्ने गर्थे’ उनले भने,‘अहिले सम्मानमा साथ हेर्ने गरेका छन्।’ पहिलाको समाजमा चेतनाकाे कमी हो अथवा अरू केही कारणले हो मानिसहरू जुत्ता सिलाउने पेसालाई हेयको भावमा हेर्ने गरेको अहिले भने जनचेतनाको कारणले हो वा अरू कुनै कारणले हो मानिसहरू सम्मानका साथ हेर्ने गरेको मिजारले बताए। ‘पहिला चेतनाको कमी हो वा अरू कारणले हो जुत्ता सिलाउने पेसालाई हेयका भावका साथ हेर्थे’ उनले भने,‘अहिले चेतनाको बढी भएर वा अरू कारणले हो मानिसहरूले सम्मानका साथ हेर्ने गरेका छन्।’

    जुत्ता सिलाएर नै विदेश घुमेँ

    नेपाल सरकारको घरेलु तथा साना उद्योग विभागले गरेको प्रद्धशनी मेलामा भाग लिएर आफ्नो सीप त्यहाँ देखाएका कारणले २०६५/०६६ सालमा ७५ जिल्लाबाट लगातार दुई वर्ष उत्कृष्ट उद्यमीको पुरस्कार जितेको मिजारले बताए। ‘मैले सिकेको सीप काठमाडौँमा घरेलु तथा साना उद्योग विभागले गरेको प्रदर्शनीमा देखाएँ’ उनले भने,‘दुई वर्ष लगातार उत्कृष्ट पुरस्कार जितेँ।’

    लगातार दुई वर्ष उत्कृष्ट पुरस्कार जितेका कारणले नेपाल सरकारले २०६६ सालमा थाइल्याण्डमा घुमाएको मिजारले बताए। ‘उत्कृष्ट पुरस्कार जितेपछि नेपाल सरकारले नै मलाई थाइल्याण्ड घुम्ने अवसर दियो’, उनले भने,‘योभन्दा ठूलो उपलब्धि के हुनसक्छ एउटा जुत्ता सिलाउनेका लागि।’

    जुत्ता सिएर नै सुर्खेतमा घर घडेरी

    जुत्ता सिलाएर नै आफूले ०६७ सालमा सुर्खेतमा २७ लाख खर्चेर घर बनाएको मिजारले बताए। ‘यही जुत्ता सिलाएर ने सुर्खेतमा घर बनाएको छु’, उनले भने, ‘त्यस बेला सुर्खेतमा घर बनाउनका लागि २७ लाख रुपैयाँ खर्च भएको थियो।’ सुर्खेतमा बनाएको घर २७ लाखमा बनाएरको घरको अहिले बजार मूल्य १ करोड भन्दा बढी रहेको मिजारले बताए। ‘मैले सुर्खेतमा बनाएको घरको अहिले बजार मूल्य करोड भन्दामाथि छ’, उनले भने, ‘त्यो सम्पत्ति यही सीपका कारणले नै बनेको हो।’

    मासिक ४० हजार कमाई

    जुत्ता सिलाएर नै मासिक ३५ देखि ४० हजार रुपैयाँ कमाई गर्ने गरेको मिजारले बताए। ‘जुत्ता सिलाएर मासिक ३५ देखि ४० हजार रुपैयाँ कमाई हुने गरेको छ।’ उनले भने,‘त्यही पैसाले भरमा अहिले सिङ्गो परिवार पालेको छु।’ मासिक ३५ देखि ४० हजार कमाइले ४ छोराछोरीको पढाई खर्च, ६ जनाको परिवार पालिएको, पसलको भाडा तिर्न ठिक्क हुने केही पैसा मात्र अहिले बच्ने गरेको मिजारले बताए। ‘छोराछोरीको पढाई खर्च, परिवार पाल्न र पसल भाडा तिर्न ठिक्क हुन्छ’, उनले भने,‘अहिले महँगी पनि उस्तै बढेको छ। थोरै मात्र अहिले पैसा बचाउँछु।’

    ‘सीप सानो-ठूलो हुँदैन’

    मिजारले कुनै पनि सीप सानो-ठूलो नहुने र काम गर्नका लागि कुनै पनि घृणा गर्न नहुने बताए। ‘जुनसुकै सीप पनि सानो ठूलो हुँदैन।’ उनले भने, ‘काम गर्नलाई कुनै पनि हिचकिचाहट गर्नु हुँदैन।’ मानिसहरू काम कुनै पनि काम गर्नका लागि सानो ठूलो रूपमा हेर्ने गरेको त्यसै कारणले हाम्रो समाजले प्रगति गर्न नसकेको मिजारले बताए। ‘हाम्रो समाजमा सीपलाई पनि सानो र ठूलो रूपमा विभाजित गरिदिएको छ।’ उनले भने, ‘श्रमको विभाजन भए कसरी समाजको प्रगति होला?’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]