राजनीति

रवीन्द्रको श्रद्धाञ्जलि सभामा कर्णालीका मन्त्री र लेखा समितिका सदस्यबीच जुहारी

फागुन २३, २०७५

    सुर्खेत : जिल्ला समन्वय समितिको हल बाहिरको प्रांगण। नेकपाका कार्यकर्ता तथा शुभचिन्तकको साथै कर्णाली सरकारका मन्त्री तथा प्रदेशसभाका सदस्यहरू पनि आउने क्रम चलिरहेको थियो।

    बिहीबार नेकपाका नेता भरतमोहन अधिकारी र हेलिकाेप्टर दुर्घटनामा मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम गर्ने नेकपाको केन्द्रीय कार्यक्रमअनुसार सुर्खेतमा पनि श्रद्धाञ्जलि कार्यक्रममा सहभागी हुने क्रममा उनीहरू जिल्ला समन्वय समितिको हलको प्रांगणमा जमघट हुने अवसर जुरेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल कार्यक्रम स्थलमा आउन ढिलाई भएकाले प्रतीक्षामा सबैजना देखिन्थे।

    प्रदेश सरकारको मन्त्रीको एउटा गाडी आएर टक्क रोकियो। गाडीबाट प्रदेशसभाका सदस्य गोपाल शर्मा, धर्मराज रेग्मीलगायत गाडीबाट झरे। कर्णाली प्रदेशसभाका सार्वजनिक लेखा समितिका सदस्यसमेत रहेका गोपाल शर्माले पत्रकारसँग हात मिलाउँदै हास्दै भने ‘मन्त्रीको गाडीमा चढ्ने प्राक्टिस गरेको, गाडीमा बस्दा सुहाउँछ की सुहाउँदैन भनेर।’ पत्रकारले पनि हाँसोमा हाँसो मिलाउँदै भने, ‘अब हजुर कै हो यो झण्डावाल गाडी।’

    मन्त्री हुनका लागि कर्णाली रारा पर्यटन वर्षको कार्यक्रममा अनियमितता भएको प्रतिवेदन दिएको भन्ने आशयका समाचार केही मिडियामा आएपछि लेखा समितिका सदस्य शर्माले पत्रकारसमक्ष व्यंग्य मिश्रित असन्तुष्टि जनाएको बुझ्न गाह्रो थिएन। सांसद शर्मा र पत्रकारबीच छेडछाड चलिरहेको बेला प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको गाडी पनि आइपुग्यो। गाडीबाट झर्दै मन्त्री ज्वालाले सांसद शर्मालाई हास्दै नमस्कार गरे अनि हात पनि मिलाए। अनि सांसद शर्माले भखैरै एउटै बैठकबाट आइरहेको बेला के नमस्कार गर्नुभएको भन्दै हात मिलाए।

    अनि मन्त्री ज्वालाले व्यंग्यय गर्दै भने ‘नमस्कार नगरे अप्ठेरोमा परिन्छ की भन्ने छ, गर्नै पर्‍याे।’ ‘पत्रकार कै अगाडि नचाहिने कुरामा मलजल गर्ने काम आफैँ नगरौं, लेखा समिति र सरकारको झगडा परेको छ भनिरहेको बेला’ सांसद शर्माले हास्दै भने। पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले छेडाछेडको आगोमा घ्यू थप्दै भने, ‘हाम्रो एक जना मन्त्री ज्यूले त सल्यानका एक जना सांसद ज्यूलाई अब तपाईंको मन्त्री हुने पालो छिटो दौरा सुरुवाल सिलाउनुहोस् भन्नु भएछ त। अझै सिलाउन ढिला हुने भए मेरो एकजोर छ। काम चलाइँदिउलासमेत भन्नुभए छ त।’

    मन्त्री ज्वालाले सही थप्दै भने, ‘त्यही त, यस्तै छ।’ यो सुनिरहेका नेकपाका एक जिल्लास्तरका नेताले भने, ‘सत्तामा भएकाले लामो समय बस्न पाए हुने भन्ने अनि बाहिर भएकाले छिटो सत्तामा जान पाए हुने भन्ने, यो त रित नै हो।’ अहिले कर्णाली रारा पर्यटन वर्षको उद्घाटन कार्यक्रममा अनियमितता भएको भनेर प्रदेश सभाको सासर्वजनिक लेखा समितिले पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गरे सँगै मन्त्री फेरबदल हुन सक्ने अडकलबाजी  भइरहेका बेला यस्तो छेडछाड चलेको हो।

    आफू मन्त्री हुनको लागि लेखा समितिका सदस्यले कर्णाली रारा पर्यटनको गोट्टी चालेको भन्ने अड्कलबाजी र खिसीट्यूरी चलेको बेला प्रदेश सरकारका मन्त्री र लेखा समितिका सांसदबीच छेडछाड भएको हो। लेखा समितिले ८१ जना पत्रकारले मात्र खाएको कार्यक्रममा ७६ जना मात्र पाहुना भएको भनेर प्रतिवेदन सार्वजनिक गरे पछि सरकार र लेखासमितिबीच तुष पैदा भएको देखिएको छ। यसैबीच कर्णाली रारा पर्यटन वर्षको उदघाटनमा प्रदेश सभाको सार्वजनिक लेखा समितिले अनियमितता भएको प्रतिवेदनसहित प्रदेश सरकारलाई सुझाव पठाएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले चासो देखाएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले पर्यटन वर्षको उद्दघाटनमा भएको खर्चको विवरण माग गरेको हो। यस्तै नेकपाका नेता भरतमोहन अधिकारी र रबिन्द्र अधिकारीको श्रद्धान्जलि सभा सुर्खेतमा सम्पन्न भएको छ। जिल्ला सम्मन्वय समिति सुर्खेतको सभा हलमा भएको श्रद्धाञ्जलि कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पाख्रेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश सभामुख राजबहादुर शाही, प्रदेशका मन्त्री, सांसद तथा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।

    उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको दुई नेताको निधनले देश तथा पार्टीलाई अपुरणीय क्षति भएको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]