प्रवास

अमेरिकाले भेनेजुएलाबाट अमेरिकी कर्मचारी फर्काउने

फागुन २८, २०७५

    संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राजधानी काराकासस्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई स्वदेश फर्काउने अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सोमबार बताउनुभएको छ। अमेरिकी विदेश मन्त्रालयले सोमबार अबेर राति जारी गरेको विज्ञप्तिमा उक्त घोषणा गरिएको हो।

    भेनेजुएलामा जारी राजनीतिक सङ्कट गहिरिँदै गएपछि अमेरिकाको सो घोषणा आएको हो। यद्यपि अमेरिकी विदेश मन्त्रालयले गत जनवरी २४ मा नै दूतावासका उच्चस्तरीय कर्मचारी, उनीहरूका परिवारजन र अन्य आश्रित व्यक्तिहरूको संख्या कटौती गर्न निर्देशन दिएको थियो।

    भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफूलाई दोस्रो अवधिको लागि पनि राष्ट्रपति भएको घोषणा गरेसँगै अमेरिकाले उक्त निर्णयप्रति असहमति जनाउँदै आएको थियो। यहीबीच गत जनवरी २३ मा भेनेजुएलाका विपक्षी नेता हुवाँ गुआइदोले आफूलाई विवादस्पद रूपमा मुलुकको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकाले गुआइदोलाई नै मान्यता दिएको थियो।

    गुआइदोलाई यस प्रकारको अमेरिकी सहयोग प्राप्त भएलगत्तै मदुरोसँग अमेरिकाको सम्बन्ध अझ बिग्रिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मदुरोलाई सत्ताबाट हटाउन चौतर्फी दबाब दिँदै आएको छ।

    भेनेजुएलामा केही दिनयता विद्युत् आपूर्ति बन्द भएका कारण १७ जनाको ज्यान गइसकेको छ। विद्युत आपूर्ति सुचारु हुन नसकेपछि विद्यालय तथा व्यवसाय बन्द गर्न सरकारले आदेश दिएको छ। भेनेजुएलामा जारी राजनीतिक संकटसँगै खाद्यान्न संकट पनि थपिएको छ।

    भेनेजुएलामा लगातार पाँचौँ दिन पनि विद्युत् आपूति बन्द भएपछि सर्वसाधारण सडकमा उत्रिएका छन्। हाल देशका २३ मध्ये १४ राज्यमा सरकार विरुद्ध प्रदर्शन जारी रहेको बताइएको छ। विपक्षीहरूले राष्ट्रपति मदुरोले सत्ता नत्यागेसम्म प्रदर्शन जारी राख्ने बताएका छन्।

    गुआइदो आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकालगायत ५० भन्दा बढी देशले समर्थन गरेका थिए। यद्यपी राष्ट्रसङ्घ सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरू रूस र चीनले राष्ट्रपति मदुरोलाई समर्थन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]