राजनीति

विज्ञान तथा प्रविधि संस्थानमा इन्ट्रान्स फेल विद्यार्थीको ताला, डीनले पुकारे प्रहरी

प्रतीकात्मक फोटो
फागुन २९, २०७५

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीन कार्यालयको ढोकामा एक महिना यता दुई ताला लागेका छन्।

    नयाँ सेमेस्टरमा पढ्न इन्ट्रान्समा फेल भएका विद्यार्थीहरूले माघ २९ गते लगाएको र नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले समर्थन गरेको उक्त ताला खोल्नेबारे डीनको कार्यालयले बुधबार पनि पहल गरेको छ।

    त्रिविको विज्ञान तथा प्रविधि संस्थानका डीन प्रध्यापक डा. रामप्रसाद खतिवडाले थाहा खबरसँग कुरा गर्दै ताला खोल्नेबारे सरोकारवालाहरूसँग पटकपटक छलफल भएको बताए।

    विज्ञान तथा प्रविधि संस्थानमा स्नातकोत्तर तहमा ५० जनाको मात्रै कोटा रहेको र झन्डै ३०० विद्यार्थी स्नातक तह पास गरेर उक्त संस्थानमा पढ्नका लागि योग्य हुने विद्यार्थीहरूको भनाइ छ। ५० जनालाई मात्रै संस्थानले पढाउने गरेको र त्यस्तो व्यवस्थालाई परिवर्तन गरेर थप विद्यार्थी भर्ना लिनुपर्ने माग राख्दै विद्यार्थीहरूले ताला लगाएका हुन।

    तालाबन्दीलाई समर्थन गरेका नेविसंघ त्रिविका अध्यक्ष शुशिल भट्टले विद्यार्थीका माग पूरा नगरेकाले ताला लगाइएको र माग पूरा भएसँगै ताला खोल्ने बताए। उनले भने, 'ताला लगाउने काममा नेविसंघले समर्थन मात्रै गरेको हो।’

    ताला खोलेर विद्यार्थीका माग पूरा गर्नेबारे डीनको कार्यालयले पर्याप्त पहल नगरेको भट्टको आरोप छ। यता डीन डा. खतिवडाले भने पहल भइरहेको दाबी गर्दै आएका छन। उनले भने, ‘नेविसंघको एक समूहले कुनै लिखित जानकारी बिना नै तालाबन्दी गरेको हो।’

    नेविसंघले आफू निकट विद्यार्थीलाई भर्ना गर्न दबाब दिएको डीन खतिवडाको भनाइ छ। उनले केहि विद्यार्थीलाई कोटा निश्चित भइसकेको ठाउँमा भर्ना गर्न भनेको र त्यसो गर्ने अवस्था नहुँदा ताला लागेको बताए। उनले भने, 'विद्यार्थी थप्न मिल्ने अवस्था छैन, कोटा भत्काउन पनि मिल्दैन।'

    तालाबन्दीले सेवाग्राहीको बेहाल

    विज्ञान तथा प्रविधि संस्थानबाट सेवा लिन आउने सेवाग्राहीलाई तालाबन्दीका कारण असजिलो भएको छ।

    डीनको कार्यालयको आर्थिक कारोबार ठप्प भएको छ भने चैत्र महिनाको ११ र १८ गते पिएचडीको परीक्षाको तयारीमा प्रभाव परेको छ।

    डीन खतिवडाका अनुसार तालाबन्दीका कारण उनी आफैँ कार्यालय प्रवेश गर्न पाएका छैनन। कार्यालयमा कुनै पनि कर्मचारी बस्न नपाएको उनले जानकारी दिए।

    संस्थानबाट समकक्षताको सिफारिस लिन दैनिक चार-पाँच जना आउनेमा अहिले त्यो काम ठप्प रहेको एक कर्मचारीले बताए।

    समाधानका लागि प्रहरीसम्मलाई गुहार

    तालाबन्दी गर्ने विद्यार्थीका माग पूरा गर्न असम्भव रहेको डीनको कार्यालयले बताएको छ। डीन खतिवडाकाअनुसार अहिले जुन सेमेस्टरमा भर्ना लिन दबाब आइरहेको हो त्यसको पढाइसमेत शुरु भइसकेको र कोटा पनि पूरा भएकाले कुनै हालतमा माग पूरा गर्न सम्भव नभएको बताए।

    तालाबन्दी गर्ने विद्यार्थीको तर्फबाट अगाडि देखिएका नेविसंघ त्रिविका अध्यक्ष भट्ट भने माग पूरा हुनैपर्ने धारणा राख्छन। नभए तालाबन्दी नखुल्ने उनको चेतावनी छ।

    यस्तो अवस्थामा डीन कार्यालयले प्रहरी प्रशासन लगाएर भए पनि ताला खोल्ने विकल्पबारे छलफल गरिरहेको छ। बुधबारमात्रै डीन कार्यालयले त्रिविका उपकुलपति, रेक्टर, रजिष्टारलाई तीन दिनभित्र ताला खोल्न पहल गरिदिन आग्रह गरेको छ।

    त्यसैगरी प्रहरी प्रशासनलाई पनि ताला खोल्ने काममा सहयोग गरिदिन आग्रह गर्दै पत्र लेखेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]