समाज

जोगिरा सर र र र..., रहेन पहिलेजस्तो रौनक

चैत ५, २०७५

    जनकपुरधाम:

    ‘जोगिरा सर र र र...,

    कौन ताल पर ढोलक बाजे,

    कौन ताल मृदङ्ग..,

    कौन ताल पर गौरिया नाचे,

    कौन ताल पर हम ...

    जोगिरा सर ...र र र

    मिथिलाञ्चलमा होलीका अवसरमा गाइने यस्ता गीत अचेल गीत सुन्न पाइएन न त मृदङ्ग ढोल डम्फाको स्वर नै सुन्न पाइयो, जनकपुरधामका राजकुमार महतोले भने। उनी भन्छन्, ‘होलीको पौराणिकता अब हराइसकेको छ। दिनहुँजसो हुने झै–झगडा, रागद्वेषको कारण होली गीत गाउन नै छाडिएको छ। होलीको तर्क, दर्शन, लौकिकतालाई गम्भीरतापूर्वक लिन छाडिएको छ। अबको होली होली नभएर भोगवादी र शहरमुखी होली भएकाले यसको पौराणिकतासंँग जोडिएको होली गीत हराउँदै गइरहेको छ।’

    वसन्त ऋतुको आवगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका गाउँ, टोल र छिमेकमा गाइने माधुर्य र प्रेमभाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको कतिपयको बुझाइ छ। जनकपुरधाम उप–महानगरपालिका ७ का रामसहाय सदायले भने, ‘पहिले गाउँ–गाउँ, टोलटोल घुमेर फागुपर्वको आगमन भएको बारे गीत गाएर जानकारी दिने परम्परा थियो। तर अब अब गीत गाउने बुढापाकाको कमी भएका कारण न त त्यति मात्रामा ढोल मृदङ्ग नै बज्छ, न त फागु गीत नै गाइन्छ। अब हामी पनि सक्दैनौँ र कसैले चासो समेत दिदैन। यो होरीको संस्कृति नै लोप हुन लागिसक्यो।’ पुर्खौली बाजा मृदङ्ग बजाई  जोगिरा गाउन नपाएकोमा उनलाई दु:ख लाग्छ।

    होरीको गीतमा पोख्त रहेका महोत्तरीको गौशाला नगरपालिका १ रामनगरका गुदर महतोको भन्छन्, 'होली गीतमा पहिले कामोत्सवको मर्म, धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार, पिरती तथा उन्मुक्ति थियो तर अब उच्छृङ्खल गीतहरु आएकाले होलीमा माधुर्य र प्रेम भाव मिसिएको गीत विरलै सुन्न पाइन्छ।’

    पहिले पहिले बूढापाकाले रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगत ररुपमा होली गीत जोगिरा गाउने गरेको महोत्तरीकै राजकुमार महतो बताउँछन्। ‘अबको होली प्रेम र सद्भावको नभएर वैमनस्यता पूर्णतामा पुगेको छ। भाङको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रागद्वेष देखापरेकाले अबको होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ', उनले भने, 'पहिलेका होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो तर अब उच्छृङ्खल गीतका सिडी चक्का बजारमा बढी पाउन थालिएको मौलिकता गुमेको छ।’

    शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने होली गीतमा विशुद्ध रूपमा होलीको महत्व, त्यस भेगको माटाको मन्दमन्द वासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको संस्कृतिविद् डा. रामभरोष कापडी 'भ्रमर'को भनाइ छ। पौराणिक होली गीतमा विषय वासना, प्रेमालाप, सीताराम र शिवपार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो। अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलता जस्ता गीतले कब्जा जमाएको भ्रमरको बुझाइ छ। जोगिराको लोपसँगै सामाजिक सद्भाव घट्दै गएको र मिथिलाको मौलिक परम्पराका रुपमा रहेको फागु गीत पनि लोप हुन थालेको छ।

    यस्तै मैथिली विभागाध्यक्ष डा. श्यामा महतो भन्छिन्, ‘होली यस्तो हुनुपर्छ जसमा महिला तथा पुरुष निर्धक्क भएर बाहिर निस्कन सकुन्। होलीलाई एउटा यस्तो आदर्श बनाउनुपर्छ।’ गाउँको दलानमा डम्फु, झ्याली, हार्मोनियमको तालमा जोगिरा गाउदै गवैयाले देवीदेवताको वन्दना गर्ने, हाँसो–ठट्टा, प्रेम–विछोड र हर्ष विनोदका गीत माध्यमबाट प्रस्तुत गर्ने जोगिरा विस्तारै हराउँदै उनी बताउँछिन्।

गोविन्द महतो

महतो ०७६ वैशाखसम्म थाहाखबरका धनुषा संवाददाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]