राजनीति

सांसद झोवा विकको प्रश्न : हिउँद हिउँ पर्ने, वर्षामा किरा टिप्ने, हामीले कहिले विकास गर्ने?

चैत ५, २०७५

    सुर्खेत : कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसबाट समानुपातिक तर्फकी सांसद हुन् झोवा विक। कर्णाली प्रदेशसभामा कम बोल्नेमध्ये की सांसद झोवा विक पर्दछिन्। प्रदेशसभाको पहिलो अधिवेशनमा त संसदमा नबोलेर नै संसद सकिएको झोवा विकलाई पत्तै भएन्। केही सञ्चार माध्यममा नबोल्ने प्रदेशसभा सदस्य भनेर पनि समाचार आएको थियो। तर, पछिल्लो चरणमा सांसद झोवा विक जानीनजानी भए सदनमा कुरा राख्दै आएकी छन्।

    अहिले कर्णाली प्रदेशसभामा सरकारले बजेट कार्यान्वयनका लागि प्रारम्भिक चरणका काम पनि नगरेको भन्दै सरकारको आलोचना हुने गरेको छ। मंगलबारको प्रदेशसभाको शून्य समयमा बोल्दै सांसद झोवा विकले स्थानीय खस भाषा मैं प्रदेशसभामा कुरा राखिन्।

    झोवा विकको सम्बोधन
    सभामुख महोदय, ०७५/०७६ को योजना  हाम्रो माथी मुगु तिर हिउँद हिउँ आएर बाटो हुँदैन्, वर्षा सबै किरा (यार्सागुम्बा)  खोज्न गएर मान्छे हुँदैनन्। कै बेला योजना लिएर बाटो बनाउने हो की, कै बेला खानेपानी बनाउने होकी, कै बेला यो बिजुली बनाउने होकी, अब भोलि जेठ असारतिर सबै किरा खोज्न गएर एक पनि मान्छे हुँदैन, कर्मचारी गएपछिमा के काम गर्नु हो की? हिउँद घुर्चितिर हिउँ आएर म आएको दुई महिना भयो यता आइसकेपछि गाडी फिर्ता हुँदैन। बेलैमा भैदिए हुन्थ्यो। हुँदैन, बेलैमा आएको मान्छे पाहुना भने जस्तै बेलैमा काम भए पो हुने हो। पिछडिएको क्षेत्रको विकास गर्छु भन्छन्,  बैलैमा नगरयाको के काम । यस्तो गरी के विकास हुने हो? बेलैमा विकास नहुने भए के पिछडिएको क्षेत्र भन्ने? के भन्ने के जनजाति, दलित भन्ने काम नभएपछि के पिछडिएको भन्ने, के दलित जनजाति भन्ने? नभने भैगो नी? गुण्डा आएर कसैको ज्यान पनि जान सक्छ, किरा टिप्न जाने बेला प्रहरी चौकी थप्नुपर्‍यो। योजना आयो भनेर हाम्रा जनता ऐना जस्तै रातो किताब हेरेर बसेका छन्। काम नहुने योजना भएको रातो किताब के काम? न ओरालो जान मिल्ने न उकालो जान पाउने ? हामीले कति अध्यारोमा बिजुली नबाली बस्ने त? कती नपढेर बस्ने त कति पानी नखाई बस्ने त? किताबमा योजना भए पनि काम नहुने भए के योजना भन्ने त? हामी गएर जनतासँग गफ गर्ने काम मात्र हुने भयो, काम नहुने भयो। छिटो काम हुनु पर्‍यो। धन्यवाद

    यस्तै, प्रदेशसभा सदस्यहरूले तेस्रो चौमासिक जाँदा पनि बजेट कार्यान्वयन को शुरु नै नभएको भन्दै सांसदहरूले प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन्। दीनबन्धु श्रेष्ठले बजेट कार्यान्वयन नगरेर सरकारले कस्तो समृद्धि ल्याउन खोजेको हो थाहा नभएको बताए।

    ‘अहिलेसम्म विकासे बजेटको खर्च शुन्य छ । मन्त्रीका जिल्लामा धमाधम काम भइरहेको सुन्नमा आएको छ’ उनले भने, ‘के यो सरकारले देखेको समृद्धिको सपना यस्तै हो ? कि भाषणबाट समृद्धि आउँदैछ कर्णालीमा? कर्णाली प्रदेशको प्रगति हुने छाँट देखिएन्।'

    प्रदेशसभा सदस्य धर्मराज रेग्मीले कर्णाली प्रदेश सभासँग सम्बन्धित सबै एउटै डुंगामा सरकार भएर यात्रा गरिरहेको स्मरण गराए। ‘सत्तापक्ष, प्रतिपक्ष सबै हामी एउटै डुंगामा छौँ’ उनले भने, ‘डुंगालाई सहज रूपमा पारी लैजान हामी सबैको उत्तिकै भूमिका छ। कसैको चुक भयो भने हामी सबै डुब्न सक्छौँ।’ उनले कर्मचारीको अभाव देखाएर विकास नगर्ने छुट कसैलाई पनि नभएको बताए।

    राप्रपा नेपालबाट प्रतिनिधित्व गर्ने सांसद सोशिला शाहीले सुर्खेतको मंगलगढी चोकमा पाँच मिनेट उभिन सरकारका मन्त्रीलाई आग्रह गरिन। ‘जताततै धूवाँ छ, धुलो छ, खाल्डा खुल्डी छन्।’ उनले भनिन्, ‘मेरो सरकारलाई आग्रह छ, मन्त्रीहरू मंगलगढी चोकमा कम्तिमा पाँच मिनेट गाडीबाट ओर्लेर बस्नुस कति पीडा हुन्छ थाहा पाउनुहुनेछ।'

    मंगलबारको बैठकले कर्णाली प्रदेशसभा सचिवालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। विधेयक २०७४ साल असार १९ गते संसदमा पेश भएकोमा आवश्यक संशोधनसहित पारित भएको हो। यसैगरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले मंगलबार सदनमा विधेयक टेबुल गरेकी हुन्। अर्को प्रदेशसभाको बैठक आगामी चैत १५ गते  दिउँसो १ बजेका आगी बोलाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]