स्वास्थ्य

प्रधानमन्त्री ओली दीर्घजीवी भएको देख्न चाहन्छिन् अञ्जान

मिर्गौला दान दिएर न अभिमान छ नत पश्चाताप, मात्र खुसी छ उनीसँग

चैत ११, २०७५

    ‘विज्ञानको करामत नभएको भए मेरो १२ औं पुन्यतिथि अस्ति नै भइसक्थ्यो। कसैको किड्नीकाे भीख मागेर म १२ वर्षदेखि बाँचिरहेको छु। बाँचेको मात्रै हैन प्रधानमन्त्री पनि भएको छु।’ 

    यो माथिको मार्मिक भनाई हो प्रधानमन्त्री केपी शर्मा ओलीको। ‘एक प्रदेश एक मेडिकल कलेज’ को अवधारणा अनुसार प्रदेश ५ मा बन्ने बुटवल मेडिकल कलेजकाे उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीकाे मुखबाट निस्किएकाे याे भनाइलाई नै आधार मान्ने हो भने उनको पुन्यतिथि मात्रै हैन उनका आफन्त र शुभचिन्तकहरूले केपी ओलीको शालिकमा माल्यार्पण गर्नुबाहेक अरू केही हुदैन थियो होला।

    सायदै केपी शर्मा ओलीलाई देशले २ पटक प्रधानमन्त्रीका रूपमा नै पाउँथ्यो। प्रधानमन्त्रीले यसो भनिरहँदा उनलाई मृगौला दिएर दुई पटक प्रधानमन्त्री बन्ने अवसर जुटाउने मान्छेसँग भेटेर सोध्न मन लाग्यो र हामीले उनलाई सोध्यौँ तपाईलाई प्रधानमन्त्री ओलीले यसो भनिरहँदा कस्तो लागिरहेको छ?

    तिनै हुन् प्रधानमन्त्री केपी ओलीको १२ औं पुन्यतिथिलाई दुईपटक प्रधानमन्त्री बनाउने महिला अञ्जान घिमिरे। जसले २२ वर्षको कलकलाउँदो उमेरमा आफ्नो एउटा मृगौला दिएर नेता ओलीलाई बचाईन। चितवनकी अन्जान घिमिरेको उमेर २२ वर्षमात्रै थियो, त्यति मात्रै हैन उनको काखमा १६ महिनाको छोरो पनि थियो। 

    चितवनकी घिमिरे ओली परिवारकी बुहारीका रूपमा २०६१ सालमा  भित्रिएकी थिइन। उनले ओलीका भाइ तारा ओलीसँग लगनगाँठो कसेकी थिइन। शक्ति केन्द्रमा रहेका ओली गम्भीर बिरामी परे। काठमाडौंकाे गुहेश्वरीमा किराना पसल थापेर बसेकी अञ्जान ओली बिरामी परेपछि बालकाेट निवासमा भेट्न पुगिन्। त्यसबेलासम्म उनलाई थाहा थिएन जेठाजुलाई के भएकाे हाे? 

    ओलीका दुवै मृगाैला फेल भएका थिए। उनलाई मृगौला प्रत्यारोपण गर्नै पर्ने भएकाे थियाे। त्यसबेला नेपालमा मृगौला प्रत्यारोपण गर्न सम्भव  थिएन। भारत जानु पर्ने थियाे। त्यसमाथि कसले उनाई मृगाैला दिने? कुरा के हो के हो नै थियाे। अन्जानलाई पनि जेठाजुकाे अवस्था देखेर 'म नै उहाँलाई मृगाैला दिएर बचाउँछु' भन्ने लाग्याे। 

    त्यतिबेला उनको कोखबाट एउटा छोराको जन्म भएको थियो। छोरो भर्खर १६ महिनाको अनि आफु भर्खरै वयस्क हुँदै गइरहेकी। मृगौला दिनका लागि तम्सिएकी २२ वर्षीया ओली बुहारी अन्जानले ओलीलाई भेटेर भनेको सम्झिन्छिन, ‘म तपाईंलाई मृगौला दिएर बचाउँछु।' यसो भन्दा उहाँ (प्रधानमन्त्रीओली) हाँस्नु भयो। शायद पत्याउनु भएन।' उनले थपिन, 'उहाँले 'तँ फुच्चीले मृगौला दिने, हुँदैन।' भन्न थाल्नु भयो।' मिर्गौला दिने निर्णयबारे अन्जानले भनिन्, 'त्यसपछि मैले नै जिद्दि गरेर उहाँलाई मृगौ दिने अठाेट गरे।’

    मृगौला दिनु हुँदैन भनेर उनलाई उस्काउने नभएका पनि हैनन् तर अञ्जान कसैको उक्साहटमा नलागिकन भारतको अपोलो अस्पताल तिर हानिइन। त्यहाँ पुगेर उनले २०६४ साल साउन २१ गते आफूलाई चिरेर मृगौला ओलीको शरिरमा थमाइदिइन्। उनलाई अहिले मृगौला दिएकोमा आफुलाई कुनै अफसोस छैन्। ‘मलाई अन्य सामान्य बिरामी हुने बाहेक मृगौलाका कारणबाट  कुनै समस्या नै छैन।’ 

    अञ्जान आफूले मृगौला दिएकोमा कुनै घमण्ड पनि न त पश्चाताप नै मात्र खुसी छन् अञ्जना। उनी भन्छिन्, ‘तपाईहरूजस्ता पत्रकारहरूले सम्झाउनु हुन्छ र मात्रै ए हो मैले मृगौला दिएको पो हो त भने मात्रै लाग्छ नत्र याद नै हुँदैन। मृगौला दिँदा आफूलाई त्यहाँका डाक्टरहरूले अन्यन्तै सहयोग गरेको उनको अनुभव पनि छ। 

    एउटा मृगौला भएर पनि स्वस्थ्य जीवन जीउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेकी छन्, अञ्जान।  मृगौला दान दिएपछि अञ्जानको कोखबाट छोरीको जन्म भयो। बेलाको १६ महिने छोरा अहिले कक्षा ९ मा अध्ययनरत छन। मृगौला दिएपछि जन्मिएकी छोरी अहिले कक्षा २ मा अध्ययनरत छिन। अन्जान स्वस्थ्य छिन। उनीहरूलाई प्रधानमन्त्री ओलीले औधी नै माया गर्ने गरेको र तिम्रा छोरा छोरी पनि मेरै हुन् भन्दै सहयोग पनि गर्ने गरेको अञ्जान सुनाउछिन। 

    चितवनबाट तत्कालिन नेकपा एमालेबाट सक्रिय राजनीति गर्ने अञ्जानका पिता ध्रुव घिमिरे ‘राजनीतिक पृष्ठभूमिबाट आएको हाम्रो परिवार पहिले देखि नै समाज सेवामा समर्पित भएर होला मलाई पनि भित्रैबाट केहि गरौं भन्ने लागेको’ अञ्जान भन्छिन। उनी थप्छिन, ‘त्यसैले कसैले भनेको नमानेर मैले मृगौला दिएँ। मैले मृगौला नदिएको भए कसैले त दिन्थ्यो नै होला? उहाँ जस्तो राम्रो मान्छेलाई बचाउनु मैले मेरो कर्तव्य ठानेँ।'

    अञ्जान अहिले घरकै काममा र श्रीमानको दैनिकीमा सहयोग पुर्‍याउँदै आएकी छन। केही समय मदन भण्डारी विद्यालयमा अध्यापन गराएकी अञ्जान थप्छिन, ‘उहाँ अरुभन्दा फरक क्षमताको मान्छे हो, त्यसैले उहाँ धेरै बाँचेको हेर्न चाहन्छुँ। शायद म भन्दा पनि धेरै।' प्रधानमन्त्री ओलीले देश र जनताका लागि थुप्रै काम गरिरहेका र अझै स्वस्थ्य भएर बाँचेको हेर्न मन छ अञ्जानलाई।

तीर्थराज खनाल

खनाल सुरक्षा, खेलकुद, राजनीतिक तथा समसामयिक विषयमा कलम चलाउँछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]