विचार

धैर्य गर बम दिदीबहिनी, निर्मलाको हत्यारा अब लुक्न सक्दैन
SHARES

चैत १०, २०७५

    अफवाहले तयार गरेको सामाजिक मनोविज्ञान अपराधी लुकाउन कसरी सहयोगी बनिदिन्छ भन्ने विषयमा मेरा पछिल्ला केही भोगाइहरू छन। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा अझै पत्ता लाग्न सकेको छैन। अनुसन्धानका भित्री तह सक्रिय अवस्थामै चालू होलान्। ती प्रयास जारी रहुन्। तर, लामो समयसम्म अनुसन्धानलाई अल्मल्याउन हत्यालाई निर्मलाकै साथी बम दिदीबहिनीतिर झोसेर वास्तविक अपराधी लुकाउन अधिकारकर्मीका नाममा सामाजिक दबदबा खडा गरिएको रहेछ भन्न अब हिच्किचाउनु पर्दैन।

    समाजमा बलात्कारका डरलाग्दा घटना बराबर भइरहेकै छन। त्यस्तैमध्येको डरलाग्दो आपराधिक घटना हो यो। घटनापछि अपराधी पक्राउ गर्न स्वाभाविक सामाजिक दबाब उत्पन्न भयो, जो हुनै पर्दथ्यो। तर, लगत्तै उक्त सामाजिक दबाबको नाममा लगाम जसले हातमा लिए उनीहरू विभिन्न स्वार्थ केन्द्रबाट सञ्चालित देखिन थाले। उनीहरूलाई निर्मलाको परिवारले न्याय पाउन्/नपाउन्‌सँग मतलब भएन। घटना कसरी लामो समयसम्म मुद्दाकै रूपमा रहन सक्छ र राजनीतिक मुद्दा बनाइरहन पाइन्छ? त्यसैमा केन्द्रित भए। दबाब अभियानमा मिसिएको अर्को पक्ष जो चर्को रूपमा निर्मलाका हत्यारालाई कारबाही गर्न माग गर्थ्यो र आफ्नो स्वार्थ अनुकूलका कृतिम सूचना बनाएर आम सञ्चारमाध्यमबाट नाटकीय रूपमा पस्किने काम गर्थ्यो, उसकै आफन्त सम्भावित हत्याराका रूपमा प्रहरी अनुसन्धान नजिक पुगेको थियो। अर्थात्, एक हिसाबले हत्यारा खोज्ने अनुसन्धानलाई अपराधीसम्म पुग्नै नदिने र अपराधीसम्म पुगे पनि ‘प्रहरीले निर्दोष पक्रियो’ भन्ने तत्काल प्रचार गरी विपरीत दबाब खडा गर्ने काम तत्कालीन अभियानले गरेको अहिले खुल्दै छ। 

    निर्मलाको हत्या भएपछि चारित्रिक र सामाजिक क्षति भोग्दै आएका बम दिदीबहिनीमाथि बनाइएका काल्पनिक प्रचार असत्य साबित भइसकेका छन। त्यससँगै अपराधी जोगाउन गरिएको आन्दोलनलाई निर्मलाको न्यायको आन्दोलन बताउने समूहमा छटपटी पैदा भएको छ। 

    यति कुरा लेख्न मलाई किन पनि अहिले गाह्रो भएको छैन भने घटनाको मतियारका रूपमा प्रचार गरिएका बम दिदीबहिनीबारे मैले राम्रोसँग बुझेँ। निर्मला हराएका दिन बम दिदीबहिनीका घरबाट दिउँसै निस्केको उनीहरूका छिमेकीबाट थाहा पाएँ।

    बम दिदीबहिनीमाथि प्रहरीले लामो अनुसन्धान गरेर उनीहरू निर्दोष रहेको पुष्टि गर्‍यो। निर्मलाको साइकल अघिल्लो दिन नै त्यही ठाउँमा देख्ने घना भण्डारीका परिवार भनिरहेकै छन। निर्मला हराएका दिनदेखि बम दिदीबहिनीका घरमा के के भयो, देख्ने सबै छिमेकीसँग भेटेर सत्यतथ्य बुझेँ। घटनालाई किन बम दिदीबहिनीतिर जबर्जस्ती मोड्न खोजियो? पत्रकारको भूमिकामा रहेका व्यक्तिले किन निरन्तर अस्वाभाविक रूपमा परिस्थिति उत्तेजक बनाउन लागे? प्रहरीले हत्याराको प्रबल आशंका गरेका व्यक्तिसँग उनको के नाता पर्छ? घटनाको राजनीतिकरणका लागि गैर सरकारी संस्था र मानवअधिकारकर्मीका रूपमा कसले अगुवाइ गरे? तिनीहरूले किन तथ्यसँग मेल नखाने रिपोर्ट बनाए? किन फेरि पछि प्रतिवेदन गुपचुप परिवर्तन गरे? यी सबै तथ्यहरूलाई एकठाउँमा राखेपछि प्रस्ट हुन्छ, हत्याको प्रबल आशंका रहेको व्यक्तिलाई निर्दोष भनेर उम्काइसकेपछि कहिल्यै हत्यारा पत्ता लाग्दैन र घटनालाई लामो समयसम्म राजनीतिक मसला बनाउन पाइन्छ। हत्यारा पत्ता लगाउन यसै कारणले ढिलाइ भएको म ठान्छु। 

    एउटी १३ वर्षीया बालिकाको हत्यामा अर्की १३ वर्षीया बालिका रोशनी बम संलग्न भनी आम सञ्चारमा रिपोर्ट आएपछि म घटनाबारे बुझ्न कञ्चनपुर पुगेकी थिएँ। जब त्यहाँ पुगेँ, बम दिदीबहिनीलाई भेटेँ र निर्मलाको न्यायका लागि पहिले आन्दोलनमा सहभागी हुँदै पछि बाहिरिएका स्थानीय अधिकारकर्मी भेटेँ, उनीहरूको कुरा सुनेपछि मैले निष्कर्ष निकालेँ– त्यही गिरोहले हत्यारा लुकाउन बम दिदीबहिनीको 'बम' तयार गरेको रहेछ। र सर्वव्यापी प्रचार पनि त्यही समूहले गरेको रहेछ। मूलधारका मिडियाले पनि तिनैले दिएको रिफ्रेन्सका आधारमा समाचार बनाए र पछि असत्य साबित भएपछि आफ्ना अनलाइन माध्यमबाट त्यसलाई हटाए।

    निर्मला हत्याका अपराधी लुकाउने अभियानकै कारण बम दिदीबहिनी हुँदै नभएको डान्सबारको डान्सर भए। उनीहरूका छिमेकमा भैँसी नै नभए पनि भैँसी ब्यायो, भैँसी ब्याएका ठाउँमा राति लास लास भन्दै कराएको सुनियो। बम दिदीबहिनीका घरमा भिआइपीहरूको आवतजावत भइरह्यो। उनीहरूका घरबाट टुकटुकेमा राखेर राति लास फालियो। मानवअधिकारकर्मीका नाममा बनाइएका यस्ता तथ्यहीन रिपोर्ट मैले कञ्चनपुर पुगेपछि झुट हुन् भन्ने थाहा पाएकी थिएँ। मैले पो थाहा पाएँ त, त्यही प्रतिवेदनका आधारमा छापिएका समाचार पढेर धारणा बनाएका नागरिकलाई के थाहा, सम्भावित अपराधीलाई प्रहरीले पक्राउ गर्दा यिनै अधिकारकर्मीले निर्दोष घोषणा गर्दै छोड्न दबाब दिन्थे र बम दिदीबहिनीलाई अपराधी फैसला गर्थे। कञ्चनपुरबाट म फर्केपछि निर्मलाको न्यायको लागि सुरुदेखिनै लागेकी महिला अधिकारकर्मी माया नेगीले फोनमा भन्नुभएको थियो– निर्मलाको न्यायका लागि भन्दै न्यायमा वाधा पुर्‍याउन र सान्त्वना स्वरूप आएको पैसा कुम्ल्याउन अनसन बसेका हुन् यिनीहरू। त्यसबेला तिनै अधिकारकर्मीको दबाबमा निर्मलाकी आमा दुर्गाले अनसन नबस्ने भन्दाभन्दै पनि अनसन बसाउन दबाब दिएका रहेछन।

    १० वर्षअघि सम्बन्धविच्छेद गरी अलग गराइएका बाबुलाई फेरि नाता जोड्दै आन्दोलनमा भित्र्याइनुको कारण पनि हत्यारा लुकाउने प्रपञ्च अनुरूप नै रहेछ। बाबुलाई आफ्नो काबुमा राख्न सकिने तर, आमालाई छोरीको हत्याराबारे भित्रभित्रै शङ्का रहेको कुरा बाहिर नल्याउन दबाब दिने उनीहरूको उद्देश्य देखिन्छ। छोरी गुमाएर पीडित बनेकी एउटी आमाले स्वविवेकले निर्णय गर्न पाइनन्। ती अधिकारकर्मीको नियत बेग्लै थियो, जुन उनले पछि मात्र बुझिन्। जब उनले यो कुरा बुझिन्, अधिकारकर्मीको उक्त समूह दुर्गादेवीलाई धम्की दिन घरमै पुग्यो। दुर्गादेवीलाई सम्बन्धविच्छेद भइसकेका श्रीमान्‌ले परीक्षणका लागि रगत दिएको भन्दै कुट्नु, प्रबल शंकामा रहेको व्यक्तिलाई निर्दोष साबित गर्न अधिकारकर्मीका आवरणमा दिएको दबाबलाई दुर्गादेवीले अस्वीकार गर्दा उनीमाथि धम्की दिइनुले त्यस घटनामा पीडित परिवार र राज्यविरुद्ध अभियन्ता कसरी सक्रिय थिए भन्ने बुझिन्छ। 

    निर्मलाकी आमालाई डीएनए जाँच्नका लागि किन रगत दिएको भनेर निर्मलाका बाबुले कुटपिट गरे। तर, अधिकारकर्मी त्यसबेला थपडी बजाएर बसेको भिडियोमै देखिन्छ। नेगी दिदीले भन्नुभयो– ‘दुर्गालाई उसको श्रीमान्‌ले कुट्दा ताली बजाएर बस्ने पनि अधिकारकर्मी हुन्छन र बहिनी? अहिले त दुर्गा एक्लै लडेकी छ कोही चाहिएको छैन। दुर्गादेवीसँग १० वर्षअघि नै सम्बन्धविच्छेद गराइएका बाबुलाई ल्याएर किन मिसाइयो?’ यस घटनाको अध्ययन गर्न कञ्चनपुर पुग्दा निर्मलाको न्यायको लागि पहिलो आवाज दिने स्थानीय हेलन श्रेष्ठ (जो राप्रपाबाट उपमेयरको टिकट पाएकी थिइन्) लाई भेटेको थिएँ। आन्दोलनको विषयमा कुरा कोट्याउँदै उहाँले भन्नुभएको थियो, ‘एउटा भनाइ छ बैनी, ‘दुनियाँ जिउँदो हुँदा कसरी बसेको छस् भनेर सोध्न आउँदैन तर मरेपछि कसरी मर्‍यो भनेर लास पल्टाउन आउँछ’। यस्तो भनाइ, भनाइ मात्र नभएर निर्मलाको केसमा त्यही भयो।

    हत्या प्रकरणमा सबैभन्दा पीडित अहिलेसम्म निर्मलाकी आमा दुर्गादेवी हुन्। जसले एकल जीवनमा दुख गरेर हुर्काएकी छोरी गुमाउनु परेको छ। हिजो उनलाई श्रीमान्‌सँग सम्बन्धविच्छेद गराउने पात्र नै आज निर्मलाको लास बोक्न आइपुगेका छन। त्यो पनि २५ दिन पछि। सम्बन्धविच्छेद पछि पनि घरमा आएर श्रीमान्‌ले कुट्ने, भारतबाट सामान ल्याइ नेपालमा बेचेर जसोतसो गुजारा गरेकी दुर्गा र उनका छोरीहरूलाई कहिल्यै कसरी जिएका छौ भनेर नसोध्ने, दुर्गादेवीको त्यो बिजोकको साक्षी बन्ने, शारदा चन्द घटना भएको २५ दिनपछि उनकै श्रीमान् पनि लिएर निर्मलाको खोजी गर्न आउनको कारण के थियो खोजिनु पर्दैन? कि त्यो भन्दाअघि घटना भएको सुनिन् उनले? घटना भएको पहिलो दिनदेखि मेरो नेतृत्वमा भइरहेको आन्दोलनमा कसैलाई थाहा नदिई अर्को बनाइन्छ के न्यायकै लागि थियो? त्यो बेला म केही बोलिन उहाँसँग सुनिमात्न रहेँ। तर उहाँको धेरै प्रश्नको जवाफ रिपोर्ट सच्याउने मानवअधिकारवादी र दुर्गादेवीको कदमले दिइसकेको ठान्छु म।  

    यस घटनाको दोस्रो पीडित हुन् बम दिदीबहिनी, जसले आफ्नो घरबाट अघिल्लो दिन दुईबजे नै बिदा भएर गएकी साथीको मृत्यु भएको छ र अपराधीले आफू उम्किन सबै दोष आफूमाथि लगाउँदै मिडिया, अधिकारकर्मीलगायत संयन्त्रलाई प्रयोग गरिरहेको छ। सत्य सत्य नै हुन्छ। जति छोप्न प्रयास गरे पनि ढिलोचाँडो त्यसले आफ्नो आकार ग्रहण गर्छ। निर्मलाको हत्या भएपछि चारित्रिक र सामाजिक क्षति भोग्दै आएका बम दिदीबहिनीमाथि बनाइएका काल्पनिक प्रचार असत्य साबित भइसकेका छन। त्यससँगै अपराधी जोगाउन गरिएको आन्दोलनलाई निर्मलाको न्यायको आन्दोलन बताउने समूहमा छटपटी पैदा भएको छ। 

    यतिबेला म त्यो साँझ सम्झिन्छु, जुन साँझ म कञ्चनपुरमा बम दिदीबहिनीको घरमा पुगेकी थिएँ। एउटी अबोध बालिका घरमा आएको नयाँ मान्छेसँग आफ्नो छुटेको स्कुल र आफ्नो छविमा लागेको दागले कालिनिली भएकी थिई। जाडो महिना, सिरकमा च्यापु अड्याएर भुवा टिप्दै बसेकी रोशनी पिलपिल रोइन्। मैले सोधेँ- कति वर्षकी भयौ? उसले जवाफ दिई– १४ वर्ष लागेँ। मेरी छोरी भन्दा तीन वर्ष जेठी रहिछिन्। यस्तीलाई हत्याको अभियोग लगाएर झुटा समाचार लेखिएका छन, झुटा प्रतिवेदन बनाइएका छन। त्यस्तो किन गर्नुपर्छ? मेरो मनमा प्रश्न उठ्यो। अपराधीले आफू जोगिन मात्रै यस्तो उपाय अपनाउन सक्छ। त्यसो भए के ती अधिकारकर्मी र पत्रकार नै अपराधीको संरक्षण गरिरहेका छन? मलाई लागेको शङ्का यही हो, त्यति बेला। आज आएर अनेकौँ घटनाक्रमले मेरै शङ्काको दिशा लिइरहेको छ। 

    उनीहरू मसँगै काठमाडौँ आए र आफ्ना कुरा उपलब्ध सञ्चारमाध्यमसँग राखे। अधिकारकर्मी र केही मिडियाले तयार गरेको कृतिम घटनावली अहिले बल्ल आएर बाहिर निस्कन थालेको छ। उनीहरूले गरेको झुट खुल्न थालेको छ। यस मानेमा भने म खुसी छु।

    म उनीहरूलाई सँगै काठमाडौँ ल्याउन गएकी थिइनँ। जब त्यहाँ उनीहरूसँग कुरा भयो र उनीहरूको वास्तविकता बुझियो तब अधिकारकर्मी र पत्रकारको आवरणमा रहेका व्यक्तिहरूले ती बालिकाहरूसँगको भेटबाट संशंकित हुँदै धम्कीको भाषा बोल्न थाले। यिनीहरूको कुरा नसुन्नु, यिनीहरू अपराधी हत्यारा हुन्, यिनीहरूलाई काठमाडौँमा नलैजानु, लगे राम्रो हुँदैन, भन्ने सन्देश उनीहरू दिइरहेका थिए। पत्रकार महासङ्घका सभापति नै यिनीहरूसँग केही प्रश्न नगर्नु भन्न आएका थिए, कतिपय समूह एयरपोर्टसम्मै रोक्न आएका थिए। काठमाडौँ आएपछि पनि पिछा गर्न अर्को समूह खटिएको थियो। खुला प्रश्नहरूबाट उनीहरूले लुकाएको तथ्य बाहिर निस्केला भन्ने तिनीहरूलाई लागेको थियो र त यस्तो व्यवहार गरिरहेका थिए।

    बम दिदीबहिनी मसँगै काठमाडौँ आएपछि युट्युब च्यानलमा अनेकथरि गैरकानुनी सन्देश प्रवाह गर्दै स्थानहद जारी गरिएको थियो। मलाई त्यसबेलै शङ्का लागेको थियो– कतै अपराधी जोगाउनका लागि त यिनीहरू नक्कली अपराधी खडा गरिरहेका छैनन्? नत्र प्रहरी अनुसन्धानले दोषी प्रमाणित गर्न नसकेका बम दिदीबहिनी काठमाडौँ आउँदा त्यति बेचैन हुनुपर्ने कारण थिएन। 

    त्यहाँ बस्दा रोशनी धेरै पटक रोइन्। घटनापछि सामाजिक बेइज्जतीले स्कुल छुटेको छ, साथीहरू कोही भेट्न आउँदैनन्, उनी पनि बाहिर निस्कन सक्दिनन्। दिदीको पनि पढाई छुट्यो, पढेरै केही गरौँला भन्ने उद्देश्य बोकेका उनीहरूको जीवनमा अकल्पनीय दुर्घटनाले पहिरो गएको थियो। प्रहरीले २२ दिनसम्म हिरासतमा लिएर अनुसन्धान गर्दा उनीहरूको संलग्नता कहीँ देखिँदैन। तर, केही अधिकारकर्मी र नियोजित पत्रकार एकोहोरो उनीहरूलाई हत्याराका रूपमा चित्रण गरिरहन्छन। त्यही कुराले उनीहरूका दाजु पनि मानसिक समस्यामा फसे। 

    निर्मला उनीहरूको घरबाट निस्केर हराएका दिन छिमेकी दिदीकी ८ वर्षीया छोरी कृतिका भट्टलाई त्यहीँ ल्याएर नचाएका थिए उनीहरूले। तर, अधिकारकर्मी र पत्रकारले त्यस दिन बम दिदीबहिनीका घरमा को थियो, के भयो केही खोजेनन्। छिमेकीसँग पनि सोधेनन्। छिमेकीसँग सोधेको भए भनिदिन्थे। अहिले पनि भनिरहेकै छन तर, अहिले भनेर के हुन्थ्यो र? समाजमा एकथरि अफवाह छँदै थियो। स्थानीयका अनुसार भन्दै मिडियामा जति पनि खबर आउँथे, त्यस्तो झुटो खबर सबै खेम भण्डारीले पुर्‍याउँथे सवैतिर। छिमेकीहरू खबर झुटो भयो भनेर भेट्न पनि जान्थे, तर खेम आउँदैनथे।

    अधिकारकर्मीको आवरणमा भएको वदनियत र सञ्चारकर्मीले लापरबाही पूर्वक खबर सम्प्रेषण गरेर शिकार बनेका बम दिदीबहिनीसँग मलाई त्यसैबेला माफी मागूँ झैँ लागेको थियो। पत्रकारिताले पनि यसरी निर्दोषलाई पीडा दिन सक्दो रहेछ, मलाई माफ गर बम दिदीबहिनी! किनभने म पनि यही पेसामा छु र मेरै पेसाले व्यावसायिक धर्म निर्वाह गर्न नसक्दा उनीहरूको भोगेको पीडादायी जीवन मैले देखिरहेकी छु। निर्मला प्रकरणको खबर सम्प्रेषण गर्दा सञ्चार जगतले गरेको आफ्ना कमजोरी पछि महसुस गर्दै जाला। तर, म भने यिनीहरूलाई आफूले भोगेको कुरा सार्वजनिक गर्न लगाउँछु भन्ने अठोटमा पुगेँ। उनीहरू मसँगै काठमाडौँ आए र आफ्ना कुरा उपलब्ध सञ्चारमाध्यमसँग राखे। अधिकारकर्मी र केही मिडियाले तयार गरेको कृतिम घटनावली अहिले बल्ल आएर बाहिर निस्कन थालेको छ। उनीहरूले गरेको झुट खुल्न थालेको छ। यस मानेमा भने म खुसी छु।

विनु पोखरेल

पत्रकार पोखरेलले सामाजिक विषयमा कलम चलाउँदै आएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]