राजनीति

विप्लवलाई चैतभित्रै पक्राउ गरिन्छ : प्रधानमन्त्री ओली

'अमेरिकाबाट अध्यक्ष प्रचण्ड फर्किएलगत्तै एकता टुंगो लाग्छ'

चैत ११, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलगायत सबैलाई चैतभित्रै पक्राउ गरिने बताएका छन।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकमा सोमबार प्रधानमन्त्री ओलीले आतंक मच्चाउँदै हिँडेको भन्दै विप्लवलाई छिट्टै राजनीतिक मूलधारमा आउने भए समय भएको र त्यो नमाने पक्राउ गरिने बताएका हुन। विप्लव समूहका नेता कार्यकर्ता पक्राउ पर्न थालेको बताउँदै ओलीले भने, 'चैत महिनाभित्र विप्लव पनि नियन्त्रणमा आउनेछन।’

    प्रधानमन्त्रीले नेकपाका नेताको हत्याको योजना बनाएको भन्दै त्यस्तो गर्ने विप्लव समूहका कोही पनि छुट नपाउने बताए। विखण्डनको राजनीति गर्दै आएका सिके राउतको उदाहरण दिँदै प्रधानमन्त्रीले विप्लवलाई पनि पक्राउ गरेर सुधार्ने बताए।

    ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समुहका गतिविधि चैत महिना भित्र नियन्त्रण गरिसक्ने बताए।

    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'उहाँहरू सहमतिमा आए ठिकै छ। नत्र विप्लव समूहका अतिविादी क्रियाकलाप चैतभित्रै सरकारले नियन्त्रण गर्छ।

    'विकास निर्माणमा अवरोध, शिक्षा, स्वास्थ्यमा अवरोध गर्ने ,चन्दा माग्ने, मान्छे मार्ने अनि हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्ने? यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ नै', प्रधानमन्त्रीको भनाइ थियो।

    प्रधानमन्त्री ओलीले संसदको हिँउदे अधिवेशन सकिएकोले साँसदहरूलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिएका छन। जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरूको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न साँसदहरूलाई ओलीले निर्देशन दिएका थिए।

    'तपाईंहरू जिल्ला र क्षेत्र जानुहोस। सरकारले गरेका कामहरुको प्रचार गर्नुहोस। जनतामा भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ। त्यसको खण्डन गर्नुहोस। सत्य कुरा भन्नुहोस। जनताका कुरा सुन्नुहोस। आगामी वर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस', उनले भने, 'जनताले सोधेका हरेक कुराको जवाफ नम्र ढंगले दिनुहोस।'

    नेकपा संसदीय दलका नेता र एवं पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले   स्थानीय तहको पार्टी एकताको बारेमा जनताले साँसदहरूसँग  धेरै प्रश्न सोध्न सक्ने बताए। तर अब पार्टी एकताका लागि धेरै समय नलाग्ने भएकोले त्यसै अनुसार जनता र कार्यकर्तालाई सन्देश दिन प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए।

    'केन्द्रमा एकिकरण भएको महिना दिन भित्रै सबै कमिटीको एकता सकिनु पर्थ्यो यसमा अनावश्यक विलम्ब भएको छ', प्रधानमन्त्री ओलीले भने, 'तर अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट फर्कने बित्तिकै एकतामका सबै काम टुंगिन्छन।'

    प्रधानमन्त्री ओलीले जनतामा नेकपाको लोकप्रियता अझै बढीरहेको दाबी गरेका थिए। नेकपाको स्पष्ट नीति र लक्ष्य भएकोले देशलाई कता लैजाने भन्ने कुरामा अलमल नभएको बताए। 'देशमा नेकपा जस्तो स्पष्ट नीति, लक्ष्य भएको अर्को पार्टी छैन। हाम्रो स्पष्ट लक्ष्य छ- समृद्धि सहितका सुखी नेपाली।' प्रधानमन्त्री ओलीले भने, 'यही लक्ष्यलाई प्राप्त गर्न सरकार दत्तचित्त भएर लागिपरेको छ।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]