समाज : सुरक्षा/अपराध

विप्लवसमूहका कोशी ब्यूरो संयोजकसहित दुई नेता पक्राउ

चैत ११, २०७५

    विराटनगर : हिंसात्मक गतिविधिमा सक्रिय रहेको भन्दै सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेता मोरङबाट पक्राउ परेका छन।

    पूर्वको उत्तरी र दक्षिण भेगको ग्रामिण बस्तीहरूमा बसेर विप्लव समूहले विभिन्न गतिविधि तथा बैठक सञ्चालन गरिरहेको सूचनाको आधारमा केही दिनदेखि सक्रिय प्रहरीले आइतबार साँझ मोरङको कानेपोखरीबाट दुई नेतालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा पार्टीका कार्यवहाक कोशी ब्यूरो संयोजक ओखलढुंगा घर भएका घनश्याम श्रेष्ठ (पुष्कर) र काभ्रे घर भएका कोशी ब्यूरो सदस्य आकाश शर्मा छन। शंकास्पद गतिवधि गरिरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरूलाई कानेपोखरी गाउँपालिका–४ नारायणचोकबाट पक्राउ गरेको हो।

    श्रेष्ठ तत्कालिन नेकपा माओवादीका पोलिटब्यूरो सदस्य थिए। उनी काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्वअध्यक्ष समेत हुन्। माओवादी जनयुद्धको समयमा मोरङमै सक्रिय रहेका श्रेष्ठ पछिल्लो समयमा काठमाडौंमा थिए। विप्लव नेतृत्वको नेकपामा आवद्ध भएपछि उनी पुनः पूर्व आएका हुन्।

    दुबै नेतालाई पक्राउ गरी प्रहरीले राति नै इलाका प्रहरी कार्यालय पथरी पुर्‍याएको सुरक्षास्रोतले जनाएको छ। त्यसपछि भने उनीहरूलाई कहाँ लगिएको छ भन्ने खुलेको छैन। यद्यपी विराटनगमै प्रदेश प्रहरी कार्यालय वा दंगा नियन्त्रण गणमा राखिएको हुनसक्ने स्रोतले जनाएको छ।

    आफ्ना दुई नेताहरू पक्राउ परेको विप्लव नेतृत्वको नेकपाले पनि पुष्टि गरेको छ। पार्टीको कोशी व्युरो सदस्य प्रज्वल श्रेष्ठले दुवै जनालाई पक्राउ गरी प्रहरीले बेपत्ता बनाएको बताए। पक्राउ परेकाहरूलाई चरम यातना दिएको पनि उनको दाबी छ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले उनीहरू पक्राउ परेको जानकारी नभएको जिकिर गरेका थिए। कोही पक्राउ परेको भए पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने उनले बताए।

    सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि केही दिन अगाडि मोरङ प्रहरीले विप्लव नै आएको सूचना पाएको थियो। त्यस सूचनाको आधारमा उनलाई पक्राउ गर्न केही दिन अगाडि डिएसपी नेतृत्वमा प्रहरी टोली उत्तरी मोरङको सर्च अभियानमा गएको थियो। केराबारी, लेटाङ्ग, जाते, याङ्गशिलाको गाउँमा प्रहरी पुगे पनि कसैलाई पक्राउ गर्न सकेको थिएन।

    सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव समूहका अधिकांश नेता तथा कार्यकर्ता भुमिगत नै भएका छन। उनीहरूले प्रयोग गर्ने मोबाइलको सिम पनि परिवर्तन गरेको सुरक्षा स्रोतले जनाएको छ। प्रहरीले सूचना संकलन, निगरानी र कारबाहीको काम गोप्य राख्न प्रदेश प्रहरी कार्यालय अन्तर्गतको विशेष ब्युरोलाई पनि सक्रिय बनाएको छ।

    यसैबीच पार्टीका पूर्वी कमाण्ड इञ्चार्ज अनिल शर्मा बिरहीले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेका छन। राष्ट्रियता र जनताको पूर्ण अधिकारको लागि राजनीतिक आन्दोलन चलाइरहेको अवस्थामा पार्टीका नेता कार्यकर्ता र समर्थकमाथि दमन र धरकपड मच्चाएको भन्दै कमाण्डले विरोध गरेको छ।

    शुक्रबार राति प्रहरीले पार्टीको मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन)सहित ९ जनालाई काभ्रेबाट पक्राउ गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]