राजनीति

बहुवर्षीय आयोजनामा स्रोत सुनिश्चित गर्न निर्देशन

चैत १२, २०७५
    • पूर्णप्रसाद मिश्र- 

काठमाडौँ : संघीय संसद् प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बहुवर्षीय ठेक्का लागेका आयोजनाका लागि वित्तीय व्यवस्था सुनिश्चित गर्न अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। 

बहुवर्षीय ठेक्का लागेका धेरै आयोजना अलपत्र भएको, संघीय संरचना अनुसार प्रदेशस्तरमा पुगेका आयोजना कर्मचारी र स्रोतको अभावले बन्ने नबन्ने निश्चित नभएको, काम गरेका निर्माण व्यवसायीले पनि भुक्तानी नपाएको लगायत समस्या आएपछि आज सरोकार भएका निकायका अधिकारीलाई बोलाएर छलफल गरिएको थियो। 

बहुवर्षीय ठेक्का लागेका आयोजना तोकिएको समयमा कार्यान्वयनका लागि अन्तर मन्त्रालय समन्वय गरी अलपत्र हुन नदिन पनि सरकारलाई समितिले निर्देशन दिएको छ। नियतवश काममा ढिलाई गर्ने र अलपत्र राख्ने निर्माण व्यवसायीलाई कारवाही गर्न पूर्वाधार मन्त्रालयलाई निर्देश गरिएको सभापति कल्याणीकुमारी खड्काले बताइन्। राष्ट्रिय योजना आयोगले योजना बैंक स्थापनाको प्रक्रिया अघि बढाएकाले योजना निर्माणको तयारी पूरा गरी आएकालाई मात्र आगामी आर्थिक वर्षदेखि बहुवर्षीय आयोजनामा समावेश गर्न पनि समितिले निर्देशन दिएको छ। 

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चालू आर्थिक वर्षमा ७२ हजार किमी सडक निर्माणको जिम्मेवारी प्रदेश र स्थानीय सरकारलाई दिइएको बताए। “केन्द्र सरकारले १५ हजार किमी सडकमात्र बनाउने योजना छ। राष्ट्रिय राजमार्गको नामकरण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ। प्रदेशमा गएका बहुवर्षीय आयोजना त्यहाँबाट कार्यान्वयन हुन नसकी निर्णयसहित केन्द्रमा आए संघीय सरकारले नै सम्पन्न गर्नेछ' उनले भने। 

पहुँचका आधारमा ठूला नेताका जिल्लामा धेरै आयोजना परेको भनी सांसदहरूले उठाएको जिज्ञासामा मन्त्री महासेठले झापाका १९ योजना नपरेको जानकारी दिए। चालू आर्थिक वर्षमा धनुषा जिल्लामा कुनै सडक एवं पूर्वाधार निर्माणका योजना नरहेको जानकारीसमेत बैठकमा उनले दिए। 

तीनकुनेमा बनिरहेको पुल करारमा उल्लेख भएको बुँदाभन्दा फरक तरिकाले बनाएकाले भत्काउन निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई लिखित जानकारी गराइएको मन्त्री महासेठले बताए। तीनकुने र कालिमाटीको पुल निर्माण गर्दा खटाइएको प्राविधिकलाई समेत जानकारी नदिई काम गर्दा गुणस्तरमा कमी आएको प्राविधिक परीक्षणबाट प्रमाणित भएको उनको भनाइ थियो। 

अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रिय योजना आयोगले विसं २०७३ मा बनाएको बहुवर्षीय आयोजना निर्देशिका कार्यान्वयन भएको भए समस्या नआउने भन्दै आयोजनका लागि आवश्यक वित्तीय व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए। 'अधुरा आयोजना सबै संघीय सरकारले कार्यान्वयन गर्दा असन्तुलन हुन्छ। बजेट पनि तल गइसकेको छ। क्षमताभन्दा बढी ठेक्कापट्टामा जाँदा पनि बहुवर्षीय आयोजना कार्यान्वयन हुन सकेका छैनन्। अनुगमनमा पनि कमजोरी भएको छ' उनले भने। 

बहुवर्षीय आयोजनाका लागि बजेट रकमान्तर गरेर भए पनि आर्थिक स्रोत कमी हुन नदिइने प्रतिबद्धता मन्त्री खतिवडाको थियो। सरोकार भएका मन्त्रालयबीच अन्तर मन्त्रालय समन्वयलाई अझ प्रभावकारी बनाइने उनले बताए। योजना आयोगका सदस्य सुशील भट्टले योजना बैंक बनाई त्यसअन्तर्गत बहुवर्षीय आयोजना छनौटको तयारीसहित १५ औँ आवधिक योजना निर्माणको तयारीमा लागिएको बताए। 

सांसद जिपछिरिङ लामाले बहुवर्षीय ठेक्का लागेका आयोजनामा रुख, बिजुलीका पोल, घर जग्गाको समस्यालगायत कारणले ५० प्रतिशत बजेट खर्च गर्न पनि मुस्किल हुने गरेको सुनाए। काम गर्ने वातावरण बनेको भए वार्षिक दुई हजार किमी सडक कालोपत्र गर्न समस्या नहुने उहाँको भनाइ थियो। सांसद दामोदर भण्डारीले बैतडीमा विसं २०४० मा ठेक्का लागेको सडक अझै पूरा नभएको उदाहरण प्रस्तुत गरे। ५० करोड खर्च भइसक्दा पनि सडक आयोजना अलपत्र बनेको उनले जानकारी दिए। 

सांसद यज्ञराज सुनुवारले अर्थ र भौतिक पूर्वाधार मन्त्रालयले एक अर्कालाई दोष लगाएर बहुवर्षीय आयोजना अलपत्र पार्ने गरेको बताए। त्यस्ता सडकमा हाल भैँसी र बाख्रा चर्ने गरेको उहाँको गुनासो थियो। सांसद केदार सिग्देलले बहुवर्षीय आयोजनाको छनोट पारदर्शी रुपमा गरिनुपर्ने, नियमित रुपमा भुक्तानी दिनुपर्ने माग गरे। सांसद गणेश पहाडीले अर्बौँ खर्च भइसकेका बहुवर्षीय आयोजना अहिले अलपत्र पर्दा पनि सरोकार भएका निकायको ध्यान जान नसकेको बताए। सांसद टेकबहादुर बस्नेतले सल्यानमा झोलुङ्गे पुल निर्माण वर्षौँसम्म पनि सम्पन्न हुन नसकेको गुनासो गरे। सांसद मीनाकुमारी श्रेष्ठले राजधानीकै सडक विस्तार वर्षौसम्म पनि हुन नसक्दा धुलो र हिलोले सडकमा निस्कन नसक्ने अवस्था रहेको बताइन्। 

सांसद टोपबहादुर रायमाझीले बहुवर्षीय आयोजना निर्माणको दृष्टिले यो वर्ष दुःखदायी रहेको बताए। झापा, चितवन, दाङ र रुपन्देहीमा मात्र अधिकांश योजना पारिएको बताउँदै उनले पहुँच र प्रभावका आधारमा मात्र योजना छनोट गर्दा सन्तुलित विकास हुन नसक्नेतर्फ ध्यानाकर्षण गराए। 

सांसद आशाकुमारी विकले चैनपुर–ताक्लाकोट सडक कछुवा गतिमा अघि बढ्दा स्थानीयवासी समस्यामा परेकाले समयमै काम हुने व्यवस्था गर्न माग गरिन्। सांसद बहादुरसिंह लामाले आयोजना निर्माण सम्पन्न गरेर मात्र प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने बताए। २६ करोड लागतको पुलमा वार्षिक १० लाखमात्र बजेट दिएर कहिले निर्माण सम्पन्न गर्ने भनी उनले प्रश्न गरे। सांसद गौरीशङ्कर चौधरीले मोहना नदीमा पुल नहुँदा वर्षामा समस्या हुने गरेकाले पुल निर्माणमा ध्यान दिन अनुरोध गरे। 

सांसद राजेन्द्र लिङ्देनले वारिपारि सडक नभए पनि मेची नदीमा पुल हालिएकाले अपायक भयो भनी स्थानीयवासीले विरोध गरिरहेको बताए। सांसद इन्दू शर्माले जलेश्वर–बर्दिवास सडक अलपत्र हुनुको कारण माग गरे। सांसदद्वय कमला रोक्का र राजेन्द्र राईले ठेक्का लागिसकेका सडक, पुललगायत आयोजनाको कामका बारेमा नियमित अनुगमन गर्ने संयन्त्र निर्माण गर्न माग गरे। 

अर्थ मन्त्रालयका सचिव डा राजन खनालले बहुवर्षीय आयोजनामा परेका आयोजनाको कूल बजेट ४४ अर्ब रहेको जानकारी दिए। त्यसमध्ये १९ अर्ब भुक्तानी भइसकेको र २५ अर्ब भुक्तानीको व्यवस्था मिलाइने बैठकमा प्रतिबद्धता जनाए। बहुवर्षीय आयोजना सञ्चालनकै लागि सातवटै प्रदेशमा दुई/दुई वटा प्रदेश डिभिजन कार्यालय स्थापना गरिएको जनाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले यसैहप्ता कर्मचारी समायोजन सकिने लक्ष्य रहेकाले आयोजना कार्यान्वयनमा केही राहत हुने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]