राजनीति

प्रदेश १ का स्थानीय तहमा नेकपाको एकता टुंगिँदै

चैत १५, २०७५

    धनकुटा : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्र र प्रदेशमा एकता भएको लामो समयपछि नेपाल कम्युनिस्‍ट पार्टी नेकपाको एकता स्थानीय तहसम्म हुन सुरु भएको छ। नेपाल कम्युनिस्ट पार्टी बनेको १० महिनापछि बल्ल स्थानीय तहमा एकता हुन थालेको हो। 

    नेतृत्वमा विवादका कारण जिल्ला तहमा भने एकीकरण लम्बिँदै गएको छ। प्रदेश १ का धेरै जिल्लामा नेतृत्वको विवाद देखिएको छ। प्रदेश १ का १४ मध्ये नौ जिल्लामा तत्कालीन एमालेले नेतृत्व दाबी गरे पनि माओवादीले बराबर हुनुपर्ने प्रस्ताव राखेपछि एकता प्रक्रिया टुंग्याउन बाँकी छ। कतिपय जिल्लामा अध्यक्ष र सचिव पूर्व-एमाले र पूर्वमाओवादी कसले लिने भन्ने विवाद मिले पनि को व्यक्तिले लिने भनेर विवाद कायमै छ।

    पार्टी एक भइसकेको, अब एमाले र माओवादी नरहेको भनिए पनि जिल्ला कमिटीमा नेतृत्व चयन गर्दा तत्कालीन पार्टीका आधारमा नै गर्ने नेकपाले जनाएको छ। हुन त जिल्लाको नेतृत्व दुई अध्यक्षले टुंग्याउने बताइएको छ। यसैबीच प्रदेश एकका विभिन्न जिल्लामा नेकपाले स्थानीय तहको एकता प्रक्रिया टुंग्याएको जनाएको छ। प्रदेश १ का धनकुटा, तेह्रथुम, भोजपुर, ताप्लेजुङ, पाँचथर, झापा, मोरङ र उदयपुर जिल्लाका स्थानीय तहमा एकता टुंग्यिएको नेताहरूले बताएका छन्। यस्तै खोटाङमा भने अन्तिम चरणमा रहेको तथा संखुवासभा, इलाम,ओखलढुंगा र सोलुखुम्बुमा भने स्थानीय तहको एकता टुंगिन सकेको छैन। 

    धनकुटामा कुरा मिल्यो

    धनकुटाका ७ वटै स्थानीय तहमा नेकपाले एकता प्रक्रिया टुंग्याएको छ। धनकुटास्थित जिल्ला पार्टी कार्यालयमा बसेको कार्यदलको बैठकले एकता टुंग्याएको हो। कार्यदलको निर्णयअनुसार ७ मध्ये २ वटा स्थानीय तहमा पूर्वमाओवादी केन्द्र र ५ वटा स्थानीय तहमा पूर्व एमालेले नेतृत्व गर्ने छन्। कार्यदलका अनुसार धनकुटा र पाख्रिबास नगरपालिका तथा शहीदभूमि र साँगरीगढी गाउँपालिका पूर्व एमालेले नेतृत्व गर्ने सहमति भएको छ। 

    महालक्ष्मी नगरपालिका र चौबिसे गाउँपालिकामा पूर्वमाओवादीले नेतृत्व गर्ने भएको छ। धनकुटाका रहेका ६० वटा वडामध्ये ३८ वटा वडामा पूर्व एमालेले नेतृत्व गर्ने निर्णय भएको छ। बाँकी २२ वटा वडामा पूर्वमाओवादीले नेतृत्व गर्ने जनाइएको छ।

    तेह्रथुममा सहमति 

    यता, तेह्रथुममा पनि स्थानीय तहको नेतृत्व टुंगिएको नेकपाले जनाएको छ। तेह्रथुममा रहेका छ वटा स्थानीय तह मध्ये पूर्व एमाले ५ र पूर्वमाओवादीले एक स्थानीय तहमा नेतृत्व गर्ने भएका छन्। जसमा म्याङलुङ र लालीगुराँस नगरपालिका तथा छथर, फेदाप र मेन्छ्यायम गाउँपालिकामा पूर्व एमालेले नेतृत्व गर्ने भएको छ भने आठराई गाउँपालिकामा पूर्वमाओवादी नेतृत्व लिने सहमति भएको नेकपा तेह्रथुमका नेता नेता इम्सोङले बताए। उनका अनुसार तेह्रथुममा रहेका ४३ वटा वडामध्ये पूर्वएमालेले ३२ र पूर्वमाओवादीले ११ वटा वडामा नेतृत्व गर्ने सहमति पनि भएको छ।

    संखुवासभामामा केही दिन लाग्ने

    नेकपा संखुवासभामा स्थानीय तहमा नेतृत्व टुंगिन केही दिन लाग्ने बताइएको छ। १० वटा स्थानीय तह रहेको संखुवासभामा जिल्ला कार्य दलको बैठकले स्थानीय तहमै नेतृत्व मिलाउने जिम्मा दिएकाले त्यहाँ सहमति भए पनि जिल्ला तहसम्म आउन समय लागेको  नेकपाका नेता ऋतुप्रसाद राईले जानकारी दिए। उनले केही दिनमै संकलन गरेर सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिए। 

    भोजपुरमा टुंगो लाग्यो 

    भोजपुरमा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियाको टुंगो लागेको छ। जिल्ला कार्य दलले भोजपुरको ९ वटा स्थानीय तहमध्ये ५ वटामा पूर्व एमाले र ४ वटामा पूर्व माओवादीले नेतृत्व लिने निर्णय गरेको छ। कार्यदलका सदस्य राजेश खतिवडाका अनुसार षडानन्द र भोजपुर नगरपालिका तथा टेम्केमैयुङ, हतुवागढी र साल्पासिलिछो गाउँपालिकामा पूर्व एमालेले नेतृत्व लिएको छ। त्यस्तै पूर्वमाओवादीले आमचोक, रामप्रसाद राई, पौवादुङ्मा र अरुण गाउँपालिकामा नेतृत्व लिने भएको छ। स्थानीय तहका कुल ८१ वटा वडामध्ये ५२ वडामा पूर्वएमालेले र २९ वडामा पूर्वमाओवादीले नेतृत्व लिएको छ। 

    ताप्लेजुङ नेतृत्व टुंगो

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ताप्लेजुङका नौ स्थानीय तहको नेतृत्व टुंगो लगाएको छ। सुनसरीको इटहरीमा बसेको नेकपा बैठकले अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्जमा सहमति जुटाएको हो। कार्य दलका एक सदस्यका अनुसार पूर्व एमालेबाट पाँच तहको अध्यक्ष र छ तहको इञ्चार्ज तथा पूर्व माओवादीबाट चार तहको अध्यक्ष र तीन तहमा इञ्चार्ज रहनेछन्। स्रोतका अनुसार फुङ्लिङ नगरपालिका तथा मैयाखोला, मेरिङदेन, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकामा पूर्व एमालेले नेतृत्व गर्ने भएको छ। त्यस्तै आठराई त्रिवेणी, सिदिङ्वा, सिरीजङ्गा र फक्तालुङ गाउँपालिकामा पूर्व माओवादीले नेतृत्व गर्ने बताइएको छ। 

    पाँचथरमा पनि टुंगियो 

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पाँचथरले जिल्लाका सबै स्थानीय तहमा पार्टी एकता प्रक्रिया टुंग्याएको छ। कार्यदलले पाँच स्थानीय तहको अध्यक्ष पूर्व एमाले र तीनमा पूर्व माओवादीले लिने सहमति गरेको छ। जसमा फिदिम नगरपालिका तथा याङ्वरक, हिलिहाङ, कुम्मायक र फाल्गुनन्द गाउँपालिकामा पूर्व एमालेले नेतृत्व गर्ने भएको छ। त्यस्तै फालेलुङ, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकामा पूर्व माओवादी नेतृत्व पाउने भएको छ। नेकपा केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेका अनुसार जिल्ला तहको एकता प्रक्रिया पनि टुंगिन लागेकोले चाँडै एकता घोषणा हुनेछ।

    इलाममा अझै विवाद 

    नेकपा इलामले यसअघि नै जिल्ला तथा स्थानीय तहका कमिटीको पदीय भागवण्डा टुंगो लगाएको भए पनि पछि पुन: विवाद आएको छ। १० वटा स्थानीय तह रहेको इलाममा स्थानीय तहको नेतृत्वमा सहमति गरेर केन्द्रमा बुझाए पनि पछि विवाद आएको नेकपाका नेता हर्क लावती (कान्छा) ले बताए। उनले पुन: स्थानीय तहमा सुझावका लागि पठाएको र त्यहाँबाट सुझाव आएकाले आइतबार जिल्ला कार्य दलको बैठक बसेर टुंग्याउने तयारी भइरहेको जानकारी दिए।

    झापामा सहमति

    नेकपा जिल्ला पार्टी कार्यालयमा बसेको कार्यदल बैठकले झापाका १५ स्थानीय तहमध्ये ९ तहमा तत्कालीन एमालेले र ६ मा तत्कालीन माओवादी केन्द्रले नेतृत्व गर्ने निर्णय गरेको छ। नेकपा झापाको नेता विजय साम्पाङका अनुसार ३ नगरपालिका र ३ गाउँपालिकाको नेतृत्व तत्कालीन माओवादीले पाएको छ। ५ नगरपालिका ४ गाउँपालिकाको नेतृत्व तत्कालीन एमालेले पाएको छ। 

    तत्कालीन माओवादी केन्द्रले नेतृत्व पाएका नगरपालिकामा मेचीनगर, भद्रपुर, शिवसताक्षी रहेका छन्। यसैगरी हल्दिबारी, झापा र गौरीगन्ज गाउँपालिकामा तत्कालीन माओवादी केन्द्रले नेतृत्व पाएको छ। प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकसहित गौरादह, कन्काई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाको नेतृत्व तत्कालीन एमालेको भागमा परेको छ। एमालेले नेतृत्व पाएका गाउँपालिकामा कमल, बाह्रदशी, केचनवल र बुद्धशान्ति रहेका छन्। झापाका १३१ वटा वडामध्ये ५३ वटा वडामा तत्कालीन माओवादीले र ७८ वटा वडामा तत्कालीन एमालेले नेतृत्व गर्ने सहमति भएको छ। 

    मोरङमा विराटनगर नपा बाहेक सहमति 

    मोरङका १७ मध्ये विराटनगर महानगरपालिकाबाहेक १६ स्थानीय तहको एकता प्रक्रिया टुंगिएको छ। १६ तहमध्ये तत्कालीन एमालेले ९ तहको नेतृत्व लिने र तत्कालीन माओवादीले सात तहको नेतृत्व लिने सहमति भएको हो। यता विराटनगर महानगरपालिकाका विषयमा टुंगो लगाउन नसकेपछि केन्द्र र प्रदेशसँग समन्वय गर्ने सहमति गरेको बताइएको छ।

    तत्कालीन एमालेले सुन्दरहरैंचा, पथरी, उर्लाबारी, रतुवामाई र सुनवर्सी नगरपालिका तथा कटहरी, ग्रामथान, मिक्लाजुङ र कानेपोखरी गाउँपालिकाको नेतृत्व पाएको छ। यसैगरी तत्कालीन माओवादी केन्द्रले बेलबारी, लेटाङ र रंगेली नगरपालिकासँगै केराबारी, बुढीगंगा, जहदा र धनपालथान गाउँपालिकाको नेतृत्व पाएको छ।नेकपा मोरङका नेता ऋषिकेश पोखरेलले विभिन्न सैद्धान्तिक दृष्टिकोणबाट स्थानीय तहको नेतृत्वको विषय टुंग्याएको बताए। 

    उदयपुरमा सहमति 

    उदयपुरमा नेकपाको स्थानीय तह टुंगिएको छ। जिल्ला कार्यदलले उदयपुरको ५ स्थानीय तहमा पूर्व एमाले र ३ स्थानीय तहमा पूर्व माओवादीले नेतृत्व गर्ने सहमति गरेको नेकपा उदयपुरका नेता विनोदकुमार कटुवालले जानकारी दिए। जसमा त्रियुगा र चौदण्डीगढी नगरपालिका तथा उदयपुरगढी, ताम्ली र सुनकोशी गाउँपालिकामा पूर्व एमालेले नेतृत्व गर्ने भएको छ। त्यस्तै कटारी र बेलका नगरपालिका तथा रौतामाई गाउँपालिकामा पूर्व माओवादीले नेतृत्व गर्ने सहमति भएको कटुवालले जानकारी दिए। 

    ओखलढुंगामा रस्साकस्सी

    नेकपा ओखलढुंगाले स्थानीय तहमा नेतृत्व टुंग्याउन सकेको छैन। ८ वटा स्थानीय तह रहेको ओखलढुंगामा कुन स्थानीय तहमा कस्ले नेतृत्व लिने भन्ने सहमति नसकेको हो। नेकपा ओखलढुंगाका कार्यदल सदस्य नेत्र भण्डारीका अनुसार सबै स्थानीय तहमा दुबै पक्षका स्थानीय नेताहरूले नेतृत्वमा दाबी गरिरहेका छन्। केही दिनमा बस्ने जिल्ला कार्यदल बैठकले स्थानीय तहको एकता सक्ने उनले दाबी गरे।

    खोटाङमा अन्तिम चरणमा 

    नेकपा खोटाङले स्थानीय तहको टुंग्याउने अन्तिम चरणमा पुगेको जनाएको छ। १० वटा स्थानीय तह रहेको खोटाङमा शनिबारसम्ममा स्थानीय तहको एकता सक्ने नेकपा खोटाङका नेता बबी चाम्लिङले बताए। उनले केन्द्रीय आधारमा रहेर स्थानीय तहको एकता टुंग्याउने विषयमा छलफल भइरहको बताए।

    सोलुखुम्बुमा कुरा मिलेन

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोलुखुम्बुले भने स्थानीय तहमा नेतृत्व टुंग्याउन सकेको छैन। ८ वटा स्थानीय तह रहको सोलुखुम्बुमा पूर्व एमाले र माओवादीबीच कुरा नमिलेपछि स्थानीय तह नेतृत्व कसले गर्ने भन्ने टुंगो लाग्न नसकेको हो। नेतृत्वमा दुवै पक्षले दाबी गरेपछि कुरा नमिलेको हो। जिल्ला तहको पदाधिकारी माथिल्लो निकायले नटुग्याउँदा स्थानीय तह टुंग्याउन सकस परेको नेकपा प्रदेश सदस्य मानबिर राईले थाहा खबरलाई बताए। उनले जिल्ला तहको एकतापछि स्थानीय तह आफैँ टुंगिने दाबी गरे।

ईश्वर थापा

थापा थाहा खबरका धनकुटा समाचारदाता हुन्। ईमेल : [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]