स्वास्थ्य

दुर्गममा बर्थिङ सेन्टर

चैत १५, २०७५

    ताप्लेजुङ : कञ्चनजंघा हिमालको आधारशिविर रहेको याम्फुदिन गाऊँ। ताप्लेजुङ जिल्ला सदरमुकामदेखि ३ दिनको पैदल दुरीमा पर्छ। सिरिजंघा गाउँपालिकाको वडा ७ रहेको यस गाउँमा भर्खरै मात्र सडकको ट्रयाक ओपन गरिँदै छ।

    विकासका न्यूनतम पूर्वाधारहरुको समेत कमि नै छ। शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली लगायतका न्यूनतम व्यवस्था भए पनि ती पर्याप्त छैनन्। याम्फुदिनको एउटा तितो कथा पनि छ। जहाँका ११ महिलाले प्रसुती ब्यथाकै कारण ज्यान गुमाएका छन्। गाउँमै प्रसुती गराउने व्यवस्था नहुँदा उनीहरूले ज्यान गुमउनु परेको हो। अकालमै मृत्यु हुने ११ महिला मध्येकी एक नाम हो उर्मिला राई। २० वर्ष अघि तेस्रो सन्तान जन्म दिने क्रममा नै ज्यान गयो।

    ‘कसो कसोगरी बच्चाको त ज्यान बच्यो तर आमालाई भने बचाउन सकिएन’, उनका श्रीमान् अविरमान राईले भने, ‘छोरी एलिसा अहिले कक्षा १२ मा पढ्दैछिन्।’ एकपछि अर्को गर्दै आमा गुमाउनु परेपछि स्वास्थ्य चौकी र स्वास्थ्यकर्मीका लागि यहाँका बासिन्दा निवेदन बोकेर सम्बन्धित धेरै ठाउँ धाए। त्यसको अगुवाइ अविरमानले नै गरेका थिए । २० वर्षदेखि बर्थिङ् सेन्टरको आवश्यकता ठानेर विभिन्न संघसंस्था, दातृ निकायलाई गुहार्दै आएका यहाँका स्थानीय विदेशीको सहयोगमा बर्थिङ सेन्टरको भवन निमार्ण गरिदिएपछि अलिकति भए पनि राहतको सास फेरेका छन्।

    ६७ लाखको लागतमा सुविधा सम्पन्न भवन निर्माण भई समुदायलाई हस्तान्तरण गरिएको छ। बेलायतको सामाजिक संस्था हिमालयन ट्रस्ट युकेको आर्थिक सहयोग तथा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रिड नेपालको प्राविधिक सहयोगमा भवन निमार्ण गरिएको हो। बर्थिङ सेन्टरमा चाहिने सामग्री समेत खरिद गरी ल्याइएको छ। तर दक्ष जनशक्तिको भने अभाव रहेको छ। भवन हस्तान्तरण कार्यक्रममा आएका हिमालयन ट्रस्ट युकेका अध्यक्ष ग्राम रिग्लीले अब यसरी एक जना महिलाको पनि मृत्यु नहोस् भन्ने आफूहरूको चाहना रहेको बताए ।

    भवन हस्तान्तरणका लागि आएका उनले दुई जना स्थानीयलाई अहेव र अनमी पढाएकाले सरकारले उनीहरूलाई उपयोग गर्नुपर्ने धारणा राखे। यो संस्थासँग प्रस्ताव पुर्‍याएर निर्माणमा प्राविधिक सहयोग गरेको ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रिड नेपालका प्रबन्धक राजेन्द्र पन्त सम्झौता अनुसार स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेकाले अबको दायित्व सरकारको भएको बताउँछन्। ‘अव हाम्रो दायित्व सकियो। यसको संरक्षण र सञ्चालनको जिम्मा सरकारको हो’ पन्तले भने। यता गाउँपालिका अध्यक्ष टीका गुरुङले भवन र उपकरण भएकाले बर्थिङ सेन्टरलाई अब गाउँपालिका र स्वास्थ्य मन्त्रालयमा दर्ता गराउने बताए।

    ‘८ वटा वडा रहेको गाउँपालिकामा तीन वटामा मात्रै बर्थिङ सेन्टर सहितको सुविधा छ। बाँकीमा विस्तारको प्रयासमा छौं’, उनले थपे, ‘सबैभन्दा दूरदराज र विकटमा दातृ निकायले सहयोग पुर्‍याएकोमा आभारी छौं।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]