समाज

डाक्टर श्रीमानको कुटाइबाट मृत्यु भएकी सुनिताको अन्त्येष्टि

चैत १७, २०७५

    पर्सा : ‘घर परिवारका सदस्यबाट असुरक्षित छु' शान्ति सुरक्षा पाउँ भनी १३ बर्ष ९ महिना १३ दिन पहिले जिल्ला प्रशासन कार्यालय पर्सा गुहारेकी सुनिता यादवको अन्ततः श्रीमान् र परिवारका सदस्यकै निर्मम कुटाईका कारण शुक्रबार निधन भएको छ।

    नारायणी अस्पताल वीरगन्जका डा.सचिदानन्द यादव र उनका घर परिवारका सदस्यको निर्मम कुटाई पछि वीरगन्जमा उपचार सम्भव नभएर काठमाडाैंको शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेकी सुनिताको शुक्रबार साँझ निधन भएको थियो। उनको आइतबार बाराको दुधौरा खोलामा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ।

    निर्मम यातना नै मृत्युको कारण 

    श्रीमान् डाक्टर यादव र परिवारले आइरन तताई डाम्ने, करेन्ट लगाउने र निर्मम ढंगले कुटपिट गर्दै स्वास निस्कन मात्र बाँकी रहेको अवस्थामा माइती पक्षले फेला पारी उपचार गराउँदा ठिक नभई सुनिताको निधन भएको माइती पक्षको दावी जबरजस्त छ। पर्सा प्रहरीको नियन्त्रणमा रहेका उनका श्रीमान् नारायणी अस्पताल वीरगन्जमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा.सचिदानन्द यादवले सुनिताको उपचारका क्रममा इन्कारी बयान दिए पनि प्रहरी समक्ष किटानी जाहेरी आएपछि नियन्त्रणमा रहेका उनले सुनिताको मृत्यु पछि भने कसुर गरेको खुल्न थालेको प्रहरीको भनाइ छ।

    डाक्टर यादवका बुबा नागेन्द्रप्रसाद यादव लगायत घर परिवारका अरु सदस्य भने फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।

    डा. यादवकी जेठी श्रीमती सुनिताले १३ बर्ष ९ महिना १३ दिन पहिले जिल्ला प्रशासन कार्यालय पर्सालाई शान्ति सुरक्षा पाउँ भनी गुहारेको निवेदनमा पनि श्रीमान् सचिदानन्द यादव, ससुरा नागेन्द्र प्रसाद यादव, सासु आशादेवी यादव र देवर अचुता यादवलाई विपक्षी बनाइएको पत्र फेला परेको छ। त्यो पत्रमा डाक्टरले एउटा मारुती गाडी र वीरगन्जमा अलग्गै बस्न एउटा घर पुनः दाइजो स्वरुप माग गरेको र माइती पक्षले त्यो दिन नसक्ने बताएपछि सुनितालाई मानसिक र शारिरिक यातना दिने गरेको उल्लेख गरिएको छ। त्यहि यातना दिने क्रममा २०६२ साल जेठ २१ गते वीरगन्जबाट पर्साको हरपतगञ्जस्थित गाउँको घरमा ललाई फकाई लगेर यातना दिंदै गाडी र जग्गा ल्याइनस अब मटितेल छर्की आगो लगाइदिन्छौं भनी ग्यालेनमा तेल समेत ल्याएपछि रुँदै कराउँदै भाग्न सफल भएको भनी प्राप्त पत्रमा उल्लेख गरिएको छ।

    मलाई कति खेर मार्छन् भन्ने ठिक नभएकोले शान्ति सुरक्षा पाउँ भनी सो पत्रमा विस्तृत रुपमा उल्लेख गरी स्थानीय प्रशासनसँग सुनिताले गुहार मागेको पत्रले पुष्टि गरेको छ। सोे पत्रको बोधार्थ तत्कालिन अंचल प्रशासकको कार्यालय पथलैया, क्षेत्रीय प्रशासकको कार्यालय हेटौडा र महिला आयोगमा पनि पठाएको उल्लेख छ। त्यसै पत्रका आधारमा ०६२ सालमा जिल्ला प्रशासन कार्यालय पर्सामा पञ्चायती हुँदा आइन्दा यस्तो नगर्ने भनी सहमति भए अनुसार शालीलाई पूनः त्यो घरमा पठाएको मृतक सुनिताका भिनाजु पर्ने डा. भगवान यादवले बताए।

    मृतक सुनिताका श्रीमान् प्रहरीको नियन्त्रणमा

    सुनिता यादव डाक्टर सचिदानन्दकी जेठी श्रीमती हुन्। डाक्टर भई अस्पतालमा कार्यरत यादवको कुटाइबाट गम्भिर घाइते भई काठमाण्डौको शिक्षण अस्पतालमा उपचार गराइरहेकी सुनिताको शुक्रबार साँझ ५ बजेतिर निधन भएको थियो। उनको शव शनिबार अबेर राती मात्र माइती पक्षले बहुअरी स्थित माइती घरमा ल्याई आइतबार त्यहिबाट दुधौरा खोलामा पु¥याई अन्तेष्टी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए। मृतक सुनिताका श्रीमान् डा यादव भने प्रहरी नियन्त्रणमा रहेको उनले बताए। सुनिताका ससुरा लगायत परिवारका अन्य सदस्य भने सबै फरार रहेको प्रहरीले जनाएको छ।

    अचेत अवस्थामा माइती पक्षबाटै उद्दार

    वीरगन्ज महानगरपालिका वडा नं २० हरपतगंजमा रहेकी सुनितालाई गएको चैत ६ गते राती डाक्टर यादव सहित उनका परिवारका सदस्यले निर्घात कुटपिट गरी अचेत अवस्थामा छाडेको समयमा माइती पक्षले फेला पारी वीरगन्जको गण्डक अस्पतालमा भर्ना गराएको मृतकका दाजु जयप्रकाश यादवले बताए। स्थानीयले घटना बारे जानकारी दिएपछि माइती पक्षका मानिस त्यहाँ पुग्दा बहिनीलाई अचेत अवस्थामा फेलापारी ७ गते उद्दार गरेर पहिले स्थानीय गण्डक अस्पतालमा र पछि काठमाण्डौको शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गराइएको थियो। ‘तर अन्ततः बचाउन सकिएन' उनले भक्कानिदै भने।   

    वीरगन्जको गण्डक अस्पतालको आइसियू कक्षमा उपचार गराउँदा पनि सुनिताको अवस्थामा सुधार नआएपछि चैत १२ गते थप उपचारका लागि काठमाण्डौ पठाइएको थियो। तर त्यहाँ पनि उनलाई बचाउन माइती पक्ष असफल भएको स्थानीय शम्भु यादवले पनि बताए। सुनिताको शरिरको निलडाम हेर्दा कुनै दूर्घटना भएर क्षतविक्षत भएको व्यक्तिको शरिर हेर्दा हुने दर्दनाक दृष्यभन्दा पीडादायी रहेको उनको भनाइ छ।

तुलसी भण्डारी

भण्डारी थाहा खबरका पर्सा समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]