विश्व

अमेरिका पस्‍ने सपनाको नमिठो अन्त्य, ६ महिनामा १२२४ जनाको मृत्यु

असार १५, २०७६

    वासिङ्गटन : उत्कृष्ट जिन्दगीको खोजीमा विश्‍वको महाशक्ति राष्ट्र अमेरिका पुग्ने सपना लिएर हिँडेका कयौँको जिन्दगी बाटैमा टुंगिने गरेको छ। पछिल्लो फटक मेक्सिकोबाट अमेरिका छिर्ने क्रममा ओस्कर अलबर्टो मार्टिनेज रामिरेज आफ्नी छोरी वालेरियासँग रियो ग्रान्ड नदी पार गर्ने क्रममा डुबेर ज्यान गुमाए। 

    अलबर्टो २३ महिनाकी छोरीलाई आफ्नो टी-सर्टमा छिराएर नदी पार गराइरहेका थिए। अलबर्टो र उनकी छोरीको नदी किनारमा घोप्टो परेको शरीरले एक पटक फेरि विश्व हल्लाइदियो। 

    अलबर्टो र उनकी छोरी मात्रै होइन यस वर्ष २७ जुनसम्म १२२४ जना आप्रवासीले अमेरिका छिर्ने सपना लिएर सिमानामै आफ्नो जीवन गुमाइसकेका छन्। यिनमा १४ प्रतिशत अर्थात् १७० जना अमेरिका-मेक्सिको सीमामा मारिए।  

    इन्टरनेशनल अर्घनाइजेशन अफ माइग्रेसनका अनुसार जनवरी २०१४ देखि २७ जुन २०१९ सम्म ३२ हजार १८२ आप्रवासीको ज्या गइसकेको छ। यही समयमा अमेरिका-मेक्सिको सीमामा मात्रै २०७५ जना आप्रवासीले ज्यान गुमाइसकेका छन्। 

    जमिनबाट अमेरिका यात्रा

    मध्य अमेरिकी देशमा रहने मानिसले अमेरिकामा शरण माग्छन्। ती देशहरुमा राजनीति र आर्थिक अस्थिरताका अलावा बेरोजगारी र गरिबी जस्ता समस्या चुलिँदै गएका छन्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरुदेखि नै शरणार्थीविरुद्ध उभिएका छन्। उनले आफ्नो चुनाव प्रचारमा पनि शरणार्थीको मुद्दा बनाएका थिए। 

    ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाको शरणार्थी कानून (असाइलम सिस्टम) धेरै कडा भयो। असाइलम सिस्टम अनुसार कनै पनि व्यक्तिले शरणार्थीका रुपमा अर्को देशमा शरणका लागि आवेदन गर्न पाउँछ। यसका लागि उसले आफ्नो देशमा ज्यानको खतरा रहेको पुष्टि गर्नुपर्छ।

    तर शरणार्थीलाई असाइलमको प्रक्रियाबाट गुज्रिन महिनौसम्म कुर्नुपर्ने हुन्छ। त्यहीकारण आप्रवासीहरु जमिनबाटै अमेरिकामा छिर्ने कोशिश गर्छन्। अमेरिकाको सरकारी आँकडा अनुसार सन् २०१८ मा ९२ हजार ९ सय ५९ मानिसले असाइलमका लागि आवेदन दिएका थिए। सन् २०१७ मा ५५ हजार ५८४ मानिसले आवेदन दिएका थिए। यही सालको सुरुवातदेखि ४ महिनामा करिब १८ हजारले असाइलमका लागि आवेदन दिएका छन्। 

    मध्य अमेरिकी देशबाट अमेरिका जाने तीन ठुला कारणमा गरिबी, हिंसा र बेरोजगारी हुन्। होन्डुरस, ग्वाटेमाला र एल-सल्भाडोरमा गरिबी, हिंसा र बेरोजगारी चरम चुलीमा पुगेको छ। यस्तै अवस्था मेक्सिकोमा पनि छ। त्यही कारण उत्कृष्ट जिन्दगीको खोजीमा मेक्सिको र मध्यअमेरिकी देशका मानिस दैनिक अमेरिका-मेक्सिको सीमा छिचोल्ने कोशिश गर्छन्। 

    एक अनुमान अनुसार हरेक साल करिब ५ लाख मानिस मेक्सिकोमार्फत् अमेरिका जाने कोशिश गर्छन्। रिपोर्ट अनुसार यो वर्षको सुरुवाती तीन महिनामा मात्रै ३ लाख भन्दा धेरै मानिसले अमेरिका छिर्ने कोशिश गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]