समाज

जनप्रतिनिधि रोपाइँको तामझाममा, किसान खडेरीको मारमा

असार १५, २०७६

    ओखलढुंगा : असार १५ गतेका दिन जिल्लाभर धान दिवस तथा रोपाइँ यात्रा आदि नामले मनाइयो। जनप्रतिनिधि धान रोपाइँको मेला गरिरहँदा किसान भने आकाशमा हेरेर बसी रहन बाध्य भएका छन्।

    कृषि प्रधान देश भएकाले ओखलढुंगाका अधिकांश मानिसको पेशा नै खेतीपाती नै रहेको छ। तर यो वर्ष नत मकै राम्रो भयो नत धानको बिउ नै राख्न पाइयो भनेर किसान चिन्ताले ग्रसित भएका छन्। किसान मकै सुकेर र धानको बिउ राख्न नपाएका कारण अर्को वर्ष के खाने भन्ने चिन्तामा रहेको बेला स्थानीय तह भने सरकारी खर्चमा तामझाम गरिरहेका छन्।

    रोपाई जात्रा तथा धान दिवस मनाउन गरिने खर्चले सानातिना सिँचाइ योजना नै सकिने थिए तर जनप्रतिनिधि र स्थानीय तहलाई तामझाम गर्ने बानी बसी सकेका कारण जनताका समस्या ज्युँका त्युँ रहेका छन्।

    सरकारी तथा गैरसरकारी निकायका मान्छे आज रोपाई तथा धान दिवस मनाई रहँदा किसान भने अबका दिनमा के खाने र के गर्ने अन्यौलमा रहेका छन्। ओखलढुंगाका अधिकांस स्थानमा पानी नपर्दा किसान धानको बिउ समेत राख्न नपाएको गुनासो गरिरहेका छन्।

    सरकारी पैसामा असार १५ मा रमाइलो गर्नेहरूले किसानको मर्मलाई बुझेर बरु कुलो बनाई दिए राम्रो हुने किसान बताउँछन्। आफूले गत वर्षमा यो समयमा केही कित्ता खेतमा धान रोपी सकेको भए पनि यो साल धानको बिउसमेत राख्न नपाएको चिसंखुगढी गाउँपालिका-६ भदौरेका कमल कटुवालले बताए। स्थानीय तहका जनप्रतिनिधि हजारौँ खर्चेर अनेक प्रकारका कार्यक्रम गर्ने रकमले आफूहरूका खेतमा आउने कुलो मर्मत तथा निर्माणमा सहयोग गरे किसान लाभान्वित हुने उनको भनाई छ।

    केही वर्ष अघिसम्म जिल्लाको अधिकांश स्थानका किसानलाई दहि चिउरा खाने दिन भन्ने थाहा भए पनि धान दिवस भन्ने चाँही कसैलाई पत्तो थिएन। स्थानीय तहको पुनर्संरचनापछि तथा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी धान दिवस मनाउन थालेपछि असार १५ धान दिवस पनि हो भन्ने थाहा पाएको लिखु गाउँपालिका६ का किसान फत्तबहादुर पौडेलको भनाइ छ। जनप्रतिनिधिले पाइपमा पानी लगेर धान रोपाइँ गरी रहे पनि आफूहरूले धानको बिउसमेत राख्न नपाएको उनले बताए।

    जिल्लामा चार स्थानमा भएका रोपाइँ कार्यक्रममा लाखौँ खर्च गरिएको छ तर जनता भने खडेरीको समस्यामा रहेका छन्। खडेरीका कारण कतिपय स्थानमा धानको बिउ समेत राखीएको छैन भने उम्रेको बिउ पनि सबै सुकेर गएको छ।

    जिल्लामा सिद्धिचरण नगरपालिका-५ बर्णलु, मोलुङ गाउँपालिका-४ ढाँडबेसीमा सघिय सांसद यज्ञराज सुनुवारले उद्घाटन गरी रोपाइँ सुरु गरेका थिए भने, सुनकोशी गाउँपालिका-७ च्यानम र मानेभञ्ज्याङको हर्कपुरमा जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख जयबहादुर श्रेष्ठको आतिथ्तामा रोपाइँ दिवसको मनाइएको छ।

     जनप्रतिनिधिहरुले धानदिवसको शुभकामना दिई रहँदा किसान भने धानको विउ नै नराखेको बताई रहेका छन् ।

    जिल्लाको पश्चिमी क्षेत्र लिखु गाउँपालिका र चम्पादेवी गाउँपालिकाले भने यो वर्ष धान रोपाइँ नगरेको गाउँपालिकाले जनाएको छ। लिखु गाउँपालिका उपाध्यक्ष शान्ता ढुंगेलले गाउँपालिकाका सबै क्षेत्रमा पानी नपरेका कारण किसानले धानको बिउनै राख्न नपाएको अवस्थामा किन तामझाम गर्ने भनेर आफूहरूले यो दिनलाई प्राथमिकतामा नराखेको बताइन्।

    ओखलढुंगामा गत वर्ष असार १५ सम्म जिल्लाको धान रोपाई १२ प्रतिशत भएको भए पनि यो वर्ष अझै धान रोपाइँ सुरु हुन सकेको छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]