समाज

सिलिचोङ एकका वडाध्यक्ष भन्छन् : मकै पड्केजस्तै गोली चल्यो

असार १६, २०७६

    संखुवासभा : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएको छ । 

    दुर्गम उक्त स्थानमा गस्तीमा रहेको प्रहरी र विप्लवका कार्यकर्ताबीच जम्का भेट भएपछि गोली हानाहान भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्सपेक्टर रामेश्वर पण्डितका अनुसार गोली हानाहानका क्रममा कोही पनि हताहत भएको खबर आएको छैन। 
    मकै पड्के जस्तै गोली

    घटनास्थलबाट पारीको गाउँमा रहेको सिलिचोङ गाउँपालिका–१ का वडाअध्यक्ष अलक्ष्य राईले बिहान १० देखि साढे १० बजेको समयमा गाउँमा गोली चलेको बताए। 

    सिलिचोङ गाउँपकिालका–१ (साविक साविक सिसुवा गाउँ विकास समिति–४ हयोङ्ला) मा गोली चलेको उनले जानकारी दिए। ‘बिहान १० बजेतिर मकै पड्केको जस्तो सुनियो, एकै चोटी धेरै गोली चलेको सुन्यौँ’, उनले भने, ‘कसले गोली चलाएको हो भन्ने हामीलाई थाहा छैन, मान्छे मरेको सूचना पनि केही आएको छैन।’

    गाउँमा दुवैको उपस्थिति

    सरकारले प्रतिबन्ध लगाएपछि सदरमुकाम खाँदबारीबाट २ दिन पैदलको उक्त गाउँमा विप्लवका कार्यकर्ताको गतिविधि बढेको थियो। यससँगै प्रहरी र सशस्त्र प्रहरीले पनि आफ्नो गस्ती बढाएका थिए। 

    यो पनि : संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान 

    वडाअध्यक्ष राईले गोली चलेपछि तनावपूर्ण अवस्था नरहेको जानकारी दिए। ‘घटनापछि यहाँ विप्लवका कार्यकर्ता र प्रहरी देखिएका छैनन्’, उनले भने, ‘अहिलेसम्म अप्रिय खबर नसुनेकाले एकअर्कालाई तर्साउन गोली चलाएको हुनसक्छ।’

    वार्ता गरे राम्रो

    तत्कालीन नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित राई यो समस्याको वार्ताबाटै समस्या समाधान गर्नुपर्ने बताउँछन्। ‘उहाँहरुलाई परिवर्तन मूलधारमा लानुपर्छ, आतंक गर्नुहुँदैन। असन्तुष्टि भएमा उहाँहरुले भनेको कुरा सम्बोधनको सरकारले पहल गरोस’, उनले भने, ‘वार्ता नै गर्नुपर्छ परिर्वतन खोज्ने पक्षले पनि वार्ता गर्नुपर्यो‍। यो स्थानीय जनताको माग हो। सबै नेपाली जनता हो ।’

    प्रहरी जाँदै 

    गोली हानाहानपछि ताम्कु र सिसुवाबाट नेपाल प्रहरीको टोली त्यहाँ गइसकेको छ। खाँदबारीस्थित अरुण गुल्म चैनपुरबाट सशस्त्र प्रहरीको २० जनाको टोली पहिले नै त्यस क्षेत्रमा गस्तीमा थियो। त्यो टोली पनि घटनास्थलतर्फ केन्द्रित भएको संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले बताए । 

    कहाँ छ घटनास्थल 

    घटनास्थल गाउँपालिकाको केन्द्रबाट २० किलोमिटर पर छ। यो स्थान सोलुखुम्बु, भोजपुर, खोटाङ र संखुवासभाको संगमस्थल क्षेत्र नजिकै पर्छ । मकालुवरुण राष्ट्रिय निकुञ्जतर्फ बाक्लो लेकाली जंगल छ । जहाँ विप्लवका कार्यकर्तालाई गाउँसम्म झरेर सेल्टर लिन पनि सहज छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]