विश्व

दुबईका शेख पत्नीको यादमा कविता लेख्दै, पत्नी लण्डनमा शरण खोज्दै

असार १८, २०७६

    संसारका केही नेताहरु कविका रुपमा पनि प्रसिद्ध छन्। सार्वजनिक खपतकै लागि सही, अझै पनि केही शासकले कविता लेख्छन्। तर दुबईका शासक शेख मोहम्मद अल–मक्तुम श्रीमती आँफूलाई छाडेर भागेपछि कविता लेख्दैनन् मात्रै, वेवसाइटमा पोष्ट पनि गर्छन्। 

    'मेरी प्यारी! अरु के भनौं, तिम्रो मृत्युतूल्य मौनताले म टुटिसकेको छु', एउटा कविताशंमा यसो भन्ने मक्तुम अर्को पंक्तिमा कठोर हुँदै लेख्छन्, 'तिमी मसँग छैनौ यदि भने, तिमी मर या बाँच मलाई कुनै चासो छैन।'

    छैटौं तथा कान्छी पत्नी हाया बिन्त–अल–हुसेन आँफूलाई छाडेर लण्डन भागेपछि ६९ वर्षीय शेख मक्तुमले यस्तो आक्रोशपूर्ण कविता लेखेका हुन्, यद्यपि कुनै पनि कवितामा उनले हायाको नाम लिएका छैनन्।

    हाया केही महिनाअघि ११ र ७ वर्षका दुई छोरासहित दुवईस्थित दरवारबाट भागेकी थिइन्। यसअघि पनि शेख मक्तुमका दुई श्रीमती यसरी नै भागेका थिए। 
    ४५ वर्षीया जायाले यूकेमा राजनीतिक शरण खोजिरहेको र त्यहींबाटै डिभोर्स फाइल गर्न खोजेको एजेन्सीहरुले जनाएका छन्। यसरी दुबईबाट भाग्नुले उनीमाथि 'सुरक्षा खतरा रहेको' आशंका गरिएको छ।  दुबई सरकार र लण्डनस्थित दुतावासले घटनाबारे टिप्पणी गर्न अस्विकार गरेका छन्।

    किन भागिन् राजकुमारी जाया?

    ठ्याक्कै यसै भएको हो भन्न सकिने प्रमाण छैन, तथापि यो घटना शेखकी छोरी लतिफासँग जोडिएको आशंका गरिएको छ। एक फ्रान्सेलीसँग दुबईबाट भागेकी लतिफालाई भारतीय समुन्द्र तटबाट नियन्त्रणमा लिइ पुन: दुबई फर्काइएको थियो। त्यसयता लतिफा सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्।

    घटना भएताका लतिफाले वेवसाइटमा एउटा भिडियो पोष्ट गरेकी थिइन्, आफ्नो तर्फबाट अन्तिम हुनसक्ने भनिएको भिडियोमा उनले 'आँफू या त मारिन सक्ने या अत्यन्तै खराब स्थितिमा पर्नसक्ने' बताएकी थिइन्। लतिफा शेख मक्तुमकी २३ सन्तानमध्येकी एक हुन्।

    त्यसयता लतिफाको जीवन खतरामा परेको हुनसक्ने भन्दै सार्वजनिक चासो बढेको थियो।  मानवअधिकारवादीहरुले आवाज उठाएपछि शेख मक्तुमको सचिवालयले बेलाबखत लतिफाको बारेमा वक्तव्य जारी गर्दै आएको छ। गत डिसेम्बरमा जारी एक वक्तव्यमा राजकुमारी लतिफाले परिवारजनसँग आफ्नो ३३ औं जन्मदिन मनाएको बताइएको थियो। त्यसको केही दिनपछि जारी गरिएको एउटा फोटोमा लतिफा आयरल्याण्डका पूर्व राष्ट्रपति रविन्सनसँग कुरा गरिरहेको अवस्थामा देखिएकी थिइन्।
    अहिले लण्डन भागेकी शेखपत्नी हायाले पटकपटक 'लतिफा दुबईमा सुरक्षित रहेको' वक्तव्य दिँदै आएकी थिइन्। लतिफाको जीवन रक्षाबारे आवाज उठाउँदै आएका मानवअधिकारवादीहरुले हायाको वक्तव्यको चर्को आलोचना गर्ने गरेका थिए।

    दुबई फर्काइएपछि 'लतिफालाई के गरियो वा उनको स्थिति के हो' भन्नेबारे हायालाई धेरै तथ्य थाहा भएको हुनसक्ने अनुमान गरिएको छ। समाचारका अनुसार गतवर्षको उक्त घटनापछि हायाले निकै तनाव खेपिरहेकी थिइन्। 

    राजकुमारी हायालाई दुबई फर्काइएला? 

    हाया यूकेबाटै अपहरणमा पर्नसक्ने वा कुनै प्रकृयाबाट दुबई फर्काइन सकिने सम्भावना रहेका कारण उनले त्यहाँ राजनीतिक शरण खोजेको उनीनिकटका स्रोतलाई उधृत गर्दै एजेन्सीहरुले जनाएका छन्। उनले यसअघि जर्मनीमा शरण लिन खोजेको समाचार आए पनि पुष्टि हुन सकेको छैन।
    बिबिसीकाअनुसार यूकेको निकटको मित्र रहँदै आएको दुबईलले हायालाई फर्काइदिन अनुरोध गर्‍यो भने यूकेका लागि यो ठूलो टाउको दुखाइको बिषय बन्नेछ।

    राजकुमारी हायाको पृष्ठभूमि

    यूकेमै पढेबढेकी हाया जोर्डनका पूर्वराजा हुसेनकी छोरी हुन्। उनले अक्सफोर्ड विश्वविद्यालयबाट राजनीति, अर्थशास्त्र र दर्शनमा अध्ययन पूरा गरेकी छन्। हायाको बेलायतकी रानी एलिजावेथ द्वितियसँग निकट सम्बन्ध रहेको बताइन्छ। सन् २०१४ मा उनले दुबईका धनाढ्य शेख मक्तुमसँग विवाह गरेकी थिइन्। अचानक दुबईको विलाशी जीवन छाडेर भागेपछि उनलाई 'ठूलै समस्या परेको' अनुमान गरिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]