समाज

संखुवासभा-भोजपुरमा विप्लवको सेल्टर खोज्दै प्रहरी

दुई कार्यकर्ता पक्राउ, एउटा हतियार बरामद

असार १८, २०७६

    संखुवासभा : सोमबार बिहान संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा नेत्रविक्रम चन्द विप्लका कार्यकर्तासँग भएको भनिएको गोली हानाहानपछि उतारिएको करिब एक सयजना सुरक्षाकर्मीको टोली अझै फर्किएको छैन। 

    विप्लवका कार्यकर्ता बास बसेको ठाउँमा प्रहरीसँग जम्काभेट हुँदा भएको गोली हानाहानका क्रममा बेपत्ता भएका आफ्ना दुईजना कार्यकर्ताको अवस्था नखुलेको जानकारी विप्लवका पूर्वी केन्द्रीय कमाण्ड इन्चार्ज बिषमले दिएका छन्। तर सुरक्षास्रोतले भने दुईजना पक्राउ परेका जानकारी दिएको छ। बेपत्ता भनिएका तीनमध्ये एकजना पार्टीसम्पर्कमा पुगेको बिषमले बताएका छन्।

    प्रहरीको नियमित गस्ती टोलीसँग सिलिचोङ गाउँपालिका-१ होयङ्लामा विप्लवका कार्यकर्ताको जम्काभेट हुँदा गोली हानाहान भएको थियो।

    उक्त गोलीकाण्डपछि नेपाली सेनाका तीनवटा हेलिकोप्टरमा काठमाडौँबाट गस्तीमा आएका थिए। सशस्त्र र नेपाल प्रहरीका ५० भन्दा बढी सुरक्षाकर्मी सिसुवाखोला पुगेका थिए। अहिले त्यस क्षेत्रमा सयजना सुरक्षाकर्मीेले खोजी तीव्र पारेका छन्। 

    दुईजना पक्राउ

    गोली हानाहानपछि विप्लवका बेपत्ता भएका तीन कार्यकर्तामा चैनपुर नगरपालिका-१० का सुजन अधिकारी र सोलुखुम्बुका दोर्जी तामाङ पक्राउ परेका छन् । उनीहरु दुवैलाई प्रहरीले अझै सदरमुकाम ल्याएको छैन। उनीहरुलाई गस्तीमा रहेका सुरक्षाकर्मीले साथमै राखेर विप्लवको सेल्टर खोजिरहेका स्रोतको भनाइ छ। 

    जिल्लास्थित सुरक्षा स्रोतका अनुसार काठमाडौंबाट उतारिएका २५–२५ जना जनपथ र सशस्त्र प्रहरीको टोलीसहित जिल्लाबाट परिचालित सुरक्षाकर्मी सिलिचोङको सिसुवाखोला क्षेत्र र भोजपुरको उत्तरी चौकीडाँडा र खाटम्माको सीमा क्षेत्रमा सर्च अप्रेशनमा केन्द्रित छ। 

    भोजपुरको खाटम्मास्थित डिलखर्क माओवादी जनयुद्धका बेला पूर्वको जलजलाकारुपमा चर्चित थियो । विप्लवका कार्यकर्ताले पनि त्यही क्षेत्रमा सेल्टर बनाएर बसेको आशंका सुरक्षा स्रोतले गरेको छ। 

    जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मिम लामाले सोमबारको घटनाअघि र पछि सिलिचोङ क्षेत्रमा खटिएको टोली फिर्ता भइनसकेको बताएका छन्। उनले पक्राउ परेका भनिएका विप्लवका दुई कार्यकर्ताबारे कुनै प्रतिक्रिया दिएनन्। 

    भोजपुरको साल्पा क्षेत्र, संखुवासभाको सिुवाखोला क्षेत्र, सोलुखुम्बुको महाकुलुङ, छेस्काम क्षेत्र र खोटाङको सुङ्देल, दिप्सुङ क्षेत्र माओवादी जनयुदद्धका बेला पनि विशेष आधार इलाका मानिन्थे। अहिले विप्लवले तिनै क्षेत्रमा आफ्नो सेल्टर बनाएको आशंकामा सर्च अप्रेशन जारी राखिएको हो ।

    एकथान हतियार बरामद

    संखुवासभास्थित सुरक्षा स्रोतका अनुसार गोली हानाहानपछि भएको खोजतलासका क्रममा विप्लवका कार्यकर्ताले प्रयोग गरेको एक थान अत्याधुनिक हतियार बरामद भएको छ । तर त्यसको पुष्टि जिल्लास्थित सुरक्षा अधिकारीले गरेका छैनन्। अत्याधुनिक भनिएको हतियारको पहिचान सुरक्षाअधिकारीले खुलाएका छैनन्। 

    स्रोतका अनुसार हतियार बरामद भएपछि तर्सिएका सुरक्षाअधिकारीले गस्तीलाई निरन्तरता दिएका हुन्। पक्राउ परेका विप्लवका कार्यकर्तालाई साथमै राखेर उक्त टोली गस्तीमा लागिरहेको छ। गस्ती गरिरहेको टोली चार जिल्लाको सीमाक्षेत्रमा केन्द्रित भएको छ। 

    फर्किए डिआइजी 

    गोली हानाहानको घटनापछि आएका प्रदेश नं १ का डिआइजी ठाकुरप्रसाद ज्ञवाली बुधबार विराटनगर फर्किएका छन्। डिआइजी ज्ञवाली घटनाको जानकारी दिन मंगलबार बिराटनगरबाट सदरमुकाम खाँदबारी अएका थिए। 

    डिआइजी ज्ञवाली सिलिचोङमा भएको गोलीकाण्डपछि विकसित परिस्थितिबारे जानकारी लिन संखुवासभा आएका थिए। उनले प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल र प्रहरी प्रमुख डिएस्पी मिम लामासहितका सुरक्षा अधिकारीसँग घटनापछिको परिस्थितबारे जानकारी लिएका थिए। डिआइजी ज्ञवाली बुधबार नै भोजपुर पुगेर सुरक्षा विराटनगर फर्र्किएका छन्। 

    विप्लवको पूर्वी कमाण्डले के भन्यो 

    यसैबीच विप्लवको पूर्वी केन्द्रीय इन्चार्ज बिषमले बुधबार एक वक्तव्य निकाल्दै गृहमन्त्री रामबहादुर थापा बादलको ठाडो आदेशमा आफ्ना निशस्त्र कार्यकर्तामाथि आक्रमण गरिएको दाबी गरेका छन्। 

    ‘संखुवासभाको सिलिचोङमा सरकारले तीनवटा हेलिकोप्टरबाट सशस्त्र फोर्स परिचालन गरी हाम्रो अभियान टोलीलाई चारैतिरबाट घेरी एकहोरो गोली चलाइयो’, उनले भनेका छन्, ‘दोहोरो भिडन्तको हल्ला पिटियो । टोलीका सबै ज्यान जोगाउन सफल भएपनि हालसम्म तीन कार्यकर्ता सम्पर्कबिहीन भएकोमा एकजना सम्पर्कमा आए। दुईजना अझै बेपत्ता छन्।’

    बिषमले अहिलेसम्म प्रहरी, सेनामाथि सशस्त्र आक्रमण नगर्ने पार्टीको नीतिलाई पार्टीले उलङ्घन नगरेको बताएका छन्। ‘तर सरकारले निहत्था नेता र कार्यकर्ता माथि दोहोरो भीडन्तको नाममा गिरफ्तारपछि हत्या, गाउँ अप्रेशन, घर खानतलासी, धरपकड, थुनछेक, झुट्ठा मुद्दामा थुनेर यातना दिन लागिरहेको छ’, उनले भनेका छन्, ‘दोहोरो भिडन्तको नाममा हत्या गरिएका हाम्रा पार्टीका नेता कुमार पौडेल र तीर्थ घिमिरेको परिवारलाई सरकारले क्षतिपूर्तिसहित राष्ट्रिय सहिद घोषणा गर्न र हत्यार कारवाही गर्न आग्रह गर्दछ ।’

    बिषमले देशका ठाउँ ठाउँमा आफ्ना कार्यकर्तामाथि राज्यबाट दमन भइरहेको जनाउँदै यसलाई रोक्न पनि आग्रह गरेका छन्। ‘यी घटनाको सत्य-तथ्य निष्पक्ष जाँचबुझ-अनुगमन गरी बाहिर ल्याउन पनि सम्बन्धित सबैमा अनुरोध गर्दछौं’, उनले भनेका छन्, ‘यदि सरकारले दमन, अप्रेशन बन्द गरेन र जारी नै राख्यो भने सरकारकोे राज्य आतंक र दमन, अपे्रशनविरुद्ध उत्रन आह्वान गर्दछौँ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]