राजनीति

प्रधानमन्त्रीमाथि दबाब, प्रचण्डमा छटपटी

प्रतिपक्षी भन्छ–सत्ता परिवर्तनको आकांक्षा छैन

असार १९, २०७६

    काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोपालो सरकारको नेतृत्व गर्ने चर्चा चलेकै बेला प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटे। गत बिहीबार प्रचण्डलाई भेटका कांग्रेस सभापति देउवाले शुक्रबार पार्टीनिकट स्थानीय तहका कर्मचारीहरूको कार्यक्रममा ओली नेतृत्वको सरकार ढाल्ने चेतावनी दिए।

    प्रतिपक्षले सरकार ढाल्ने चेतावनी दिए पनि संविधानतः तत्काल यो सम्भव छैन। तर, पनि सत्ताको आलोपालो नेतृत्वको चर्चा चलेकै बेला देउवा र प्रचण्डबीचको भेट र भेटपछि देउवाको चेतावनीले प्रधानमन्त्री ओलीको तनाव भने बढाएको छ। यीनै विषयले राजनीति तरंगित भइरहेका बेला प्रधानमन्त्री ओली केही नरमरूपमा प्रस्तुत भए।

    सधैँ प्रतिपक्षको उछितोकाड्ने ओली आइतबार भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा केही नरमरूपमा प्रस्तुत भए। उनले सरकार प्रतिपक्षसँग मिलेर जान तयार रहेको बताए। प्रतिपक्षीलाई मिलेर अघि बढ्न आह्वान गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देश विकासका लागि सरकार प्रतिपक्षसँग मिलेर काम गर्ने उत्कट अभिलासामा छ।’ 

    सत्य निरुपण मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको ऐन संशोधन हुन नसक्दा पूर्वमाओवादी नेताहरूमा तनाव बढ्दै छ। यही विषयलाई लिएर प्रचण्डले देउवालाई भेटेको बताइन्छ। प्रधानमन्त्रीको मिलेर जाऊँ भन्ने संकेत पनि यसैतर्फ केन्द्रित रहेको अनुमान गर्न सकिन्छ।

    देउवा र प्रचण्डको भेट र त्यसपछिको ओलीको नरमपनले नेपाली राजनीति तरंगीत भएकै बेला सत्तारूढ नेकपाको संसदीय दलको बैठक सोमबार बस्यो। बैठकमा पनि नेतृत्व र सरकारको कार्यशैलीको खुलेरै विरोध भयो। सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा सरकारका गतिविधिविरुद्ध खरोरूपमा प्रस्तुत हुने गरेका नेकपाका नेताहरू भीम रावल, रामकुमारी झाँक्रीलगायत संसदीय दलको बैठकमा पनि कड्किए।

    एकातर्फ पार्टीमा देखिएको प्रचण्डको छटपटाहट, सरकारका मन्त्री फेरबदलको हल्ला र देउवासँगको भेट संयोगमात्रै हो कि सरकारको नेतृत्व परिवर्तनकै लागि हो भन्ने संशय पैदा भएको छ। अर्कोतर्फ ओली प्रचण्डबीको आलोपालो प्रणाली, पार्टीभित्रैकै आलोचना, गुठी विधेयक र आइफा अवार्डको निर्णयबाट पछि हट्नु परेको अवस्थाले प्रधानमन्त्री ओली अहिले दबाबमा छन्।

    प्रतिपक्ष सरकार परिवर्तनको पक्षमा छैन

    प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर सत्तापक्षका नेता नै असन्तुष्ट रहेकै बेला प्रतिपक्षीको आलोचनाले थप मलजल गरेको छ। यस्तोमा कांग्रेसको भावी रणनीति के हुन्छ? नेताहरूको भनाइलाई मान्‍ने हो कांग्रेस तत्काल पर्ख र हेरको रणनीतिमा देखिन्छ।

    कांग्रेस अहिले सरकार परिवर्तनमा भन्दा सशक्त प्रतिपक्षका रूपमा प्रस्तुत हुनुपर्ने कांग्रेस नेता बद्री पाण्डे बताउँछन्। उनले अब साढे तीन वर्षपछि आउने निर्वाचनमा के गर्ने र निर्वाचनमा विजयी भएपछि पनि के गर्ने भन्ने विषयमा कांग्रेस केन्द्रित हुनुपर्ने बताए।

    सरकारमा जाने र सरकार फेरबदल गर्ने कुरा स्वयं सत्तापक्ष र प्रतिपक्षका दुवैका लागि राम्रो नभएको पाण्डेले बताए। उनले थाहा खबरसँग भने, ‘दुईतिहाइ बहुमतको सरकार अस्थिर भयो। सत्तारूढ पार्टीकै नेताहरूमा विभाजन आयो। नेताहरू विभाजित भए र कांग्रेसले बीचैमा कुनै एउटासँग मिलेर सरकार चलायो भने पनि त्यो कांग्रेसका लागि गौरवको विषय होइन।’

    जति नै आलोचना गरे सरकार परिवर्तनले कांग्रेसलाई पनि फाइदा नहुने उनले बताए। मन्त्रीहरू फेरबदलको प्रसंगमा नेता पाण्डेले प्रधानमन्त्रीकै कार्यशैली ठीक नभएको बेला मन्त्रीबाट राम्रो कुराको अपेक्षा गर्नै नसकिने बताए। उनले यसमा कांग्रेसले चासो राख्नै नपर्ने बताए।

    यस्तै कांग्रेसका अन्य नेताहरूले पनि बहुमत प्राप्त सरकार फेरबदल गर्नु भनेको नेपालकै लागि घाटाको विषय भएको बताएका छन्। कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्काले तत्काल प्रधानमन्त्री वा मन्त्रीहरू परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको स्पष्ट पारेका छन्। खड्काले वर्तमान सरकारसँग पाँच वर्षको स्पष्ट म्याण्डेट भएकोले हेलचेक्रयाइँ गरे अस्थिरता निम्त्याउने बताए।

    ‘यदि यो पाँच वर्ष हेलचेक्रयाइँ गरियो भने मुलुक २५ वर्षपछि पर्छ।’ उनले भने, ‘यही सरकारलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिनुपर्छ।’

केशव घिमिरे

घिमिरे थाहा सञ्‍चार नेटवर्कमा आबद्ध थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]