समाज

सुनसान लुक्ला विमानस्थल!

असार २०, २०७६

    सोलुखुम्बु :  नेपालको 'डोमेस्टिक' विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ। अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने यो विमानस्थलमा दैनिक एक सय हाराहारीमा उडान र अवतरण हुन्छ। 

    विश्वको सर्वोच्च शिखर सगरमाथा सहितको हिमाल आरोहण गर्ने यात्रुले प्रयोग गर्ने यो विमानस्थलमा यात्रुको चाप पनि उस्तै हुन्छ। आरोही उनीहरूका सहयोगी र उनीहरुले प्रयोग गर्ने सामान ढुवानीको विकल्प हवाइ मार्ग या पदमार्ग मात्र रहेको छ। त्यसैले सबैभन्दा बढी हवाइमार्ग हुँदै यात्रु र उनीहरूको आवश्यक बन्दोबस्तीका सामाग्री हवाइजहाजमार्फत ल्याउने लैजाने गरिन्छ। 

    पर्यटकीय सिजनका वेला हजारौँ विदेशी तथा स्वदेशी पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा आउँछन्।  विशेषगरी वर्षमा दुईपटक आरोहण सिजन हुनेसमयमा यहाँ यात्रुको चाप बढी हुन्छ। सिजनको बेलामा मात्रै खुम्बु क्षेत्रको गाउँ भरिभराउ हुन्छ भने अन्य समयमा सुनसान हुन्छ। 

    स्थानीय समेत भ्रमणका लागि अन्यत्र जाने भएकाले पनि सिजन नहुँदा सुनसान हुने गरेको हो। घरको हेरविचार गर्ने एक जना कामदार वा घर धनी बाहेक प्रायजसो सबैजना बाहिर भ्रमणमा जाने गरेको लुक्लाका तोया श्रेष्ठले जानकारी दिए। 

    ‘अहिले खुम्बु सुनसान बन्दैछ’, ‘अहिले यहाँका विद्यार्थी  र उनीहरूको हेरचाह गर्ने केही अभिभावक बाहेक अधिकांश भ्रमणमा निस्किएका छन्।’ पर्यटकीय मौसम सकिएपछि यस क्षेत्रका व्यवसायी कार्गो ढुवानीमा व्यस्त हुन्छन्। अहिले विमान पनि कार्गो ढुवानीमा व्यस्त रहेका छन्। तरा एयर लुक्लाका स्टेसन इञ्चार्ज अमृत मगरका अनुसार मंगलबार १५ वटा उडान भए पनि दुई वटा बाहेक सबै विमानले कार्गो ढुवानी गरेका छन्। यस्तै बुधबार १० वटा उडान भएकोमा पनि दुईवटामा यात्रु र अन्य उडानमा कार्गो ढुवानी गरिएको एयरलाइन्सले जनाएको छ। 

    तारा र समिट एयरे काठमाडौ–लुक्लाका लागि उडान भरिरहेका ती विमानले यात्रु अभाव हुँदा कार्गो ढुवानी गर्न थालेका हुन्। पर्यटकीय मौसम सकिएपछि लुक्ला आउने र काठमाण्डौ जाने यात्रुको संख्या कमी हुँदा कार्गो ढुवानी भइरहेको विमानस्थल कार्यालय लुक्लाले जनाएको छ। 

    केही विमानले सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थल र केही विमानले काठमाण्डौबाट सिधै कार्गो ढुवानी गरिरहेका छन्। लुक्ला जाने विमानले खुम्बुका लागि दैनिक उपभोग्य वस्तुसहितको सामग्री लैजाने र फर्किँदा सगरमाथा आरोहीले प्रयोग गरेका सामान लिएर फर्किने गरेको तारा एयर लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरेको भनाइ छ। 

    सिजन अनुसार कार्गो ढुवानी शुल्कसमेत फरक पर्ने भएकाले सोही अनुसार खुम्बुका व्यवसायीले सामान ढुवानी गर्ने गरेका छन्। एक पटक ११ सय केजी सम्म ढुवानी गर्न सक्ने विमान कम्पनी बताउँछन्। फाप्लुबाट लुक्लाको लागि प्रति केजी खाद्यान्न ५५ र निर्माण सामग्री ७५ रुपैयाँमा ढुवानी गर्दै आएको तारा एयर फाप्लुका स्टेसन इञ्चार्ज शैलेश श्रेष्ठले जानकारी दिए। काठमाडौँ लुक्लाका लागि भने प्रति केजी १२० रुपैयाँसम्म पर्ने ढुवानीकर्ता बताउँछन्। 

    यो गाउँपालिकाको वडा नम्बर १ खरिखाला क्षेत्र बाहेक माथिल्लो क्षेत्रमा खासै खेतीपाती हुँदैन। यहाँको मुख्य आम्दानीको स्रोेत नै पर्यटन हो। सगरमाथा समेत यसै गाउँपालिकामा पर्ने भएकाले यस गाउँपालिकामा वार्षिक करिब ५० हजार देशी तथा विदेशी पर्यटक भ्रमणमा आउँछन्। 
        
     

भोजराज कार्की

कार्की थाहा खबरका सोलुखुम्बु समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]