राजनीति

केन्द्रीय क्याम्पसमै स्ववियु उम्मेदवार पाउन विद्यार्थी संगठनलाई धौधौ

माघ २४, २०७३

    काठमाडौं : आइतबार दिउँसो त्रिवि केन्द्रीय क्याम्पसको अंग्रेजी विभाग पुग्दा सबै कक्षाकोठाका ढोका बन्द थिए। झ्यालबाट चियाउँदा कुनैमा शिक्षकले पढाइरहेका थिए भने कुनैमा विद्यार्थीहरुले प्रस्तुति दिइरहेका थिए।  

    साढे १२ बजे कक्षाकोठाबाट उपप्राध्यापक जीवनाथ लम्साल बाहिरिए। पछिपछि बाहिर निस्किएका तीन जना छात्राहरु उनीसँग 'टर्म पेपर' को विषयमा कुरा गरिरहेका थिए। अर्थशास्त्र र शिक्षा शास्त्र संकायमा पनि कक्षाकोठा बाहिर विद्यार्थीको धेरै चहलपहल थिएन। विद्यार्थीहरु कक्षाकोठाबाट बाहिरिने वित्तिकै क्यान्टिनमा खाजा खान वा घरतिर गएको देखियो। विश्वविद्यालयले फागुन १४ गते स्ववियु चुनावको मिति तोकेपनि त्यसको प्रचार प्रसार र गतिविधि केन्द्रीय क्याम्पसमा निकै कम छ।  

    सेमेस्टरले घटायो राजनीति

    स्ववियु चुनाव हुन २० दिन बाँकी हुँदा बिभिन्न विद्यार्थी संगठनका नेताहरु क्यान्टिनमा मात्र भेटिए। चुनावका नाममा अनेरास्ववियुले राष्ट्रिय झन्डा र नेविसंघले संगठनको झन्डा गाड्नुबाहेकका गतिविधि देखिएन। पर्खालमा नारा लेख्न आचारसंहिताले नदिएपछि त्यसको पालना गरिएको छ।

    मानविकी, शिक्षा, व्यवस्थापन र साइन्स संकायका ३५ भन्दा बढी विषयका केन्द्रीय विभाग रहेको केन्द्रीय क्याम्पसमा सेमेस्टर प्रणालीमा अध्ययन अध्यापन हुन्छ। यसमा सीमित संख्यामा मात्र विद्यार्थी भर्ना लिइन्छ। यसअघिका स्ववियु चुनावमा १५ हजार भन्दा बढी विद्यार्थी मतदाता हुने त्रिविमा अहिले भने लगभग ३५ सयजति विद्यार्थी मतदाता छन्।

    विद्यार्थी संख्या कम हुनुले नै चुनावी चहलपहल नभएको हो अंग्रेजी विभागका उप-प्राध्यापक लम्साल बताउँछन्। उनी भन्छन्, 'अलिकति विद्यार्थी कम भएकोले राजनीतिक प्रभाव देखिदैन।' क्यान्टिनहरुमा विद्यार्थीहरुको जमघट, खासखुस र झन्डा गाड्ने लगायतका कामले मात्रै स्ववियुको माहोल बनेको देखिने बताए।

    २०६५ सालको स्ववियु चुनावको बेलामा शिक्षकले पढाइरहँदा पनि विद्यार्थी नेता कक्षामा पसेर चुनाव प्रचार गर्थे। पढाइको माहोल नै भंग हुन्थ्यो। लम्साल भन्छन्, 'क्लास भइरहेको हुन्थ्यो, बाहिर माइकिङ लगायत होहल्ला भइरहेको हुन्थ्यो। चुनावका बेला यसरी क्लास लिन सम्भव हुन्थेन।' अहिले त्यो वातावरण नरहेकोले नियमित कक्षा सञ्चालन भइरहेको उनले बताए। 'राजनीति गर्नका लागि चाहिने भनेको विद्यार्थी हो। विद्यार्थी घटेको अवस्था हो केन्द्रीय विभागहरुमा' उनी भन्छन्, 'भविष्यमा विद्यार्थी संख्या अनुसारका राजनीतिक कार्यक्रम चल्लान् तर पहिलाको तुलनामा अहिले व्यापक परिवर्तन आएको छ।'

    पढ्नुस् : स्ववियु चुनावका एजेन्डा : राष्ट्रियतादेखि संविधान कार्यान्वयनसम्म, कुन संगठनको के छ तयारी?

               क्याम्पसमा स्ववियुको औचित्य के हो? स्ववियु नभए के हुन्छ

               स्ववियु चुनावमा गर्न हुने ८ र गर्न नहुने ६ काम, यस्तो छ आचारसंहिता 

             क्याम्पसहरुमा लाग्न थाल्यो स्ववियु चुनाव : वाल पेन्टिङदेखि झडपसम्म 

    २ वर्षदेखि बन्द स्ववियु सम्पर्क कार्यालय

    अर्थशास्त्र र अंग्रेजी केन्द्रीय विभागको बीचमा थियो स्ववियु कार्यालय। २०६९ असार १५ गते राति नचिनेका मानिसहरुको समूहले आगजनी गर्दा २०२१ सालदेखिका कागजपत्र, कम्प्युटर, फर्निचर रहेको पूरै भवन ध्वस्त भयो। 

    त्रिविमा २०३६ सालदेखि औपचारिक रुपमा स्ववियुको प्रावधान राखिए पनि विद्यार्थीहरुले २०२१ सालमै खडा गरेर विभिन्न कागजात राखिएको उक्त भवनमा पूर्ण क्षति भयो। त्रिविको स्ववियुको लामो इतिहास त्यो आगजनीले सखाप पार्‍यो। कारण थियो अर्थशास्त्रको परिक्षाफलमा विद्यार्थीले जनाएको असन्तुष्टी।

    अहिले त्रिविको घडी भवनको एक कोठामा सम्पर्क कार्यालयमा स्ववियु कार्यालय छ। त्यो पनि वर्षदिनदेखि खुलेको छैन। बाहिर स्ववियु सम्पर्क कार्यालय भनेर लेखिएको टिनको पाता टाँसिए पनि त्यो कार्यालय नखुलेको २ वर्षभन्दा बढी भइसकेको छ।

    सर्वोच्च अदालतले २०७१ भदौमा २०६५ सालमा २ वर्षका लागि निर्वाचित स्ववियुले ७ वर्षपछि स्ववियुको हैसियतमा काम गर्न नदिन त्रिभुवन विश्वविद्यालय र उसका आंगिक क्याम्पसलाई आदेश दिएको थियो। सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले २०७१ भदौ ८ गते आइतबार उक्त आदेश दिएपछि सबै स्ववियुको सम्पर्क कार्यालय बन्द भएको हो।

    उम्मेदवार छान्न संगठनलाई सकस

    माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी), नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसंघलाई अहिले स्ववियु सभापति लगायतका उम्मेदवार छान्ने सकस आइलागेको छ। यसको कारण हो सेमेस्टर प्रणाली लागु हुनु, २८ वर्षे उमेरहद र नयाँ विद्यार्थीलाई जिम्मेवारी दिन नेताहरुको अनिच्छा।

    अहिले त्रिवि केन्द्रीय क्याम्पसमा ३ तहका विद्यार्थी नेता छन्। पहिलो तहका हुन्, २८ वर्ष माथिका नेता जो स्ववियु चुनावका लागि सबैको 'दाइ' बने क्याम्पसमा राजनीति गर्दै आएका थिए। दोस्रो तहका नेता हुन्, २८ वर्ष नकटेका स्ववियु चुनाव आउला र भर्ना गरुला भनेर बसेका। तेस्रो तहका हुन् नियमित विद्यार्थी जसको लगाव राजनीतिसँग भन्दा पनि अध्ययनसँग छ।

    त्रिविले २८ वर्षको उमेर हद लागू भएपछि पहिलो तहका नेता विद्यार्थी त्रिवि प्रांगणमा देखिनै छोडेका छन्। दोस्रो तहका विद्यार्थी नेताहरुलाई पनि सेमेस्टर प्रणालीले मारमा पारेको छ। उनीहरुलाई उमेरहद नलागे पनि भर्ना गर्न नपाउँदा समस्यामा परेका छन्। यीनै विद्यार्थी नेताका कारण विद्यार्थी संगठनभित्र भर्ना खोल्न दबाब आइरहेको एक विद्यार्थी नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, 'सबै संगठनभित्र अब कसरी जाने भन्नेमा कुरा मिलिरहेको छैन। आन्तरिक रुपमा कोही भर्ना खोल्ने भनिरहेका छन्। कोही नखोल्ने भनिरहेका छन्। विवाद जारी छ।' 

    क्याम्पसमा आफ्नो दबदबा कायम राख्न विद्यार्थी नेताहरुले नयाँ पुस्तालाई राजनीतिमा ल्याउन प्रयास नगरेको कारण यस्तो भइरहेको त्रिवि अंग्रेजी केन्द्रीय विभाग चौथो सेमेस्टरका विद्यार्थी सिपी सापकोटा बसन्तले बताए। 'सांसद हुने उमेरसम्म संगठनको नेतृत्व ओगटेर बसेका, आफूमात्र नेता हुने र नयाँ नेतृत्व नबनाउनेलाई अहिले झट्का लागेको छ।' उनले अहिले विद्यार्थीहरु पार्टीका संगठनका झन्डा बोकेर भन्दा पनि समूहगत रुपमा चुनावमा जाने सोचमा रहेको बताए।

    अनेरास्ववियुका त्रिवि कार्यवाहक अध्यक्ष मदन विष्टले विद्यार्थी संगठनहरुलाई चुनावी गतिविधि न्यून रहेको बताए। उनले भने, 'केन्द्रीय क्याम्पसमा कसैले पनि चुनावी क्रियाकलाप गरिरहेका छैन्। केही छैन। स्थिति शून्य छ।'  विगतका तुलनामा विद्यार्थी संगठनले स्ववियु चुनावमा लाग्न नसकिएको बताउदै विष्टले भने, 'चुनावको नाममा हाम्रा गतिविधिहरु भइरहेकै छैनन्।'

    नेविसंघका पूर्व क्याम्पस उपाध्यक्ष ईश्वर भट्टले भने कुन विद्यार्थीमा राजनीतिक र संगठनात्मक लगाव छ भन्ने छुट्याउनै गाह्रो भएको बताए। उनले भने, 'सबै विद्यार्थी एउटै राजनीतिक लेभलका छन्। त्यसैले उम्मेदवार छान्न गाह्रो परेको छ।'  

    अखिल क्रान्तिकारीले उम्मेदवार छान्न सर्च कमिटी बनाएको केन्द्रीय उपाध्यक्ष तथा त्रिवि इन्चार्ज रामचन्द्र अधिकारीले जानकारी दिए। क्रान्तिकारीलाई उम्मेदवार छान्न गाह्रो नभएको उनको दावी छ। 'हाम्रो एजेन्डा अनुसार चुनाव भइरहेको छ। हामी विगतमा स्ववियु चुनाव ढुकेर बसेका छैनौं', अधिकारीले भने, 'उम्मेदवार सर्च कमिटी बनाएका छौं। नियमित विद्यार्थीबाटै उपयुक्त उम्मेदवारहरु छान्ने छौं।'

    त्रिवि स्ववियुको साख

    त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्ववियुको हैसियत अन्य क्याम्पसको तुलनामा बढी नै हुन्छ। त्रिविको स्ववियु सभापति लगायत अन्य सदस्यहरुको महत्व बढी हुने गर्छ। त्यसो हुनुमा उसको भूमिका बढी हुनु हो।

    त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापति त्रिवि सिनेटमा पदेन सदस्य हुन्छ। त्यो भनेको नीति निर्माण गर्ने तह हो। त्यस्तै उसको शान त्रिवि बाहिर पनि हुने गर्छ। पार्टीका विद्यार्थी संगठनमा स्वतः प्रतिस्पर्धी बन्ने भएकोले राजनीतिमा लागेका विद्यार्थी संगठनको आँखा केन्द्रीय क्याम्पसको सभापतिको कुर्सीमा हुन्छ। आफ्नो क्षेत्रमा जादा राजनीतिक हैसियत राख्ने भएकोले पनि अर्थपूर्ण छ। त्रिविको सभापति वा स्ववियुमा सदस्य मात्रै भनेपनि मान्छेले उसलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्छन्। त्यसैले पनि यसको महत्व बढी छ।

जयसिंह महरा

महरा २०७६ मंसिर १५ सम्म थाहा खबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]