राजनीति

विमलेन्द्रलाई योगेशको जवाफ: कांग्रेसले गाडी गलत ठाउँमा फसायो

असार १५, २०७३

    काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसको माग सम्बोधन गरी चार दिनदेखिको संसद अवरोध खुलाउन प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्नुअघि कांग्रेस नेता विमलेन्द्र निधि र एमाले सचिव योगेश भट्टराईबीच जुहारी चल्यो। थाहाखबर डटकमको शुभारम्भ कार्यक्रममा कांग्रेस नेता निधिले आफूहरुले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने र दलीय आधारमा राहतमा भेदभाव गर्न नहुने माग राखेर संसद अवरुद्ध गरेको बताए।

    भूकम्प पीडितले १४ महिनासम्म पहिलो किस्ता रकम पनि पाउन नसकेकाले आफूहरुले एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग राखेको उनले बताए। '४ किस्तामा दिने भनेर कार्यविधि बनाएको हामीले नै हो', उनले भने, 'तर १२ महिनाभित्र चारै किस्ता दिइसक्ने भनेको १४ महिना भइसक्यो एक किस्ता पनि पाएका छैनन्, हामीले बनाएको हामीले नै बदल बनेका छौं। भूकम्प पीडितले वर्षाको पानीबाट मुक्ति पाउन एकमुष्ट २ लाख दिनुपर्‍यो।'

    उनले प्रतिपक्षी दलले कुनै माग राखेर संसद अवरोध गरेपछि सरकारले गर्ने सम्बोधन विपक्षीको सहमतिमा तयार पार्नुपर्ने संसदीय अभ्यास रहेको दाबी गरे। आफूहरुले प्रधानमन्त्रीलाई बोल्नै नदिएको भन्नु गलत भएको भन्दै नेता निधिले भने, 'हामीले प्रधानमन्त्रीलाई नबोल भनेको होइन, सत्य कुरा बोल भनेका हौँ।'

    त्यसको जवाफमा एमाले सचिव योगेश भट्टराईले कांग्रेसले नाजायज मागमा सदन अवरुद्ध गरेर गल्ती गरेको बताएका छन्। उनले कांग्रेसले संसद अवरुद्ध गर्नुलाई गलत ठाउँमा लगेर गाडी फसाएको संज्ञा दिए। 'कांग्रेसले फेरि गाडी गलत ठाउँमा फसाएको छ सायद चालक कुशल भएनन् होला, गाडी सुरुङमा धस्सिएको छ', भट्टराईले भने।

    भट्टराईले २०४६ सालमा मिलेर चुनाव लडौँ भन्दा कांग्रेसले नमानेर गल्ती गरेको भन्दै गएको असोजमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री चुनावमा भोट नदिएर अर्को गल्ती गरेको बताए। 'गएको असोजमा नेपाली कांग्रेसको गाडी गलत दिशामा लाग्यो। गलत ट्र्याकमा गयो। कांग्रेसले ट्राफिक नियम उल्लंघन गर्‍यो', उनले भने', एकपटक ट्राफिकले लाइसेन्स फिर्ता दियो तर कांग्रेसले अर्को गल्ती गरेको छ।'

    उनले कांग्रेसले संसद अवरुद्ध गरेर गल्ती गरेपनि एक पटकलाई आफूहरुले उद्दार गरेको दावी गरे। 'हामीले फेरि एक पटक कांग्रेसको उद्दार गरेका छौं', उनले भने, 'सुरुङमा लगेर हालेको गाडी फेरि निकालेका छौं।' भट्टराईले कांग्रेसलाई पटक पटक गाडी अन्तै मोड्दा नेपालको प्रजातन्त्र पनि धरापमा पर्नेतर्फ सचेत हुन आग्रह गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]