राजनीति

खुल्लामञ्चमा ८ सय जना अनशन बसे, तर कहाँ पुग्यो वार्ता ?

असार १६, २०७३

    काठमाडौं : झण्डै ७ महिना मधेसका जिल्लामा आन्दोलन गरी राजधानी केन्द्रित आन्दोलनमा जुटेका मधेसवादी दल सम्मिलित संघीय गठबन्धन अहिले काठमाडौंको खुलामञ्चमा रिले अनसनमा छ। 

    रिले अनसनमा दैनिक ३० जना भन्दा धेरै बस्छन्। कहिलेकाँही त अनसन बस्नेको संख्या ४० सम्म पुगेको छ। गठबन्धनका प्रवक्ता डा. ओम गुरुङका अनुसार २४ दिनदेखि जारी अनसनमा ८ सय भन्दा धेरै जना बसिसकेका छन्।  

    पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरण, लगायतका नेताले  खुलामञ्च पुगेरै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्। 

    गठबन्धनको जारी रिले अनशनस्थल अहिले संगीतमय छ। केही कार्यकर्ता सहित अनशनकारी संगीतमय वातावरणमा बसिरहेका छन्। गठबन्धनका शीर्ष नेता ऐक्यबद्धता जनाउन शीर्ष नेताहरु अनशनस्थल आएमा त्यहाँ पुग्छन् । 

    संविधानका विषयमा असहमति राख्दै मधेसमा लामो समय आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जनजाति पार्टीहरुसँग सहकार्य गरी संघीय गठबन्धन निर्माण गर्‍यो। गठबन्धनले सिंहदरबार र बालुवाटार घेराउबाट काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको गठबन्धन काठमाडौंका बिभिन्न ठाउँमा प्रदर्शन र सभा गरी रिले अनसनसम्म आइपुगेको हो।

    मधेसमा महिनौं दिनसम्म आन्दोलन गरेका मधेसी मोर्चा पटक–पटक सरकारसँगको वार्तामा समेत बसेका थिए। रिले अनसनको २४ दिनको बीचमा सरकारले वार्ताका लागि २ पटक पत्र पठाइसकेको छ। पहिलो पटक पठाएको पत्रमा मधेसी मोर्चा सम्बोधन गरेको भन्दै गठबन्धनले वार्ता अस्वीकार गर्‍यो। दोस्रो पटक जेठ ३० गते प्रधानमन्त्रीले पठाएको पत्रलाई सकारात्मक भनेपनि गठबन्धनले त्यसको जवाफ दिइसकेको छैन। वार्तामा कसरी प्रस्तुत हुने र प्रतिनिधि को को पठाउने भन्ने विषयमा गठबन्धनभित्रै छलफल भइरहेको प्रवक्ता डा. ओम गुरुङले बताए। श्रोतका अनुसार गठबन्धनभित्र वार्तामा जाने कि आन्दोलनलाई अझ सशक्त बनाउने भन्ने विषयमा मतभेद कायमै रहेको स्रोत बताउँछ। 

    जेठ २५ देखि जारी अनशनमा राजेन्द्र महतो नेतृत्वका सद्भावना पार्टीले केही प्रतिनिधि पठाइरहेका छन् । तर महतोले भने रिले अनशनको विरोध जनाइरहेका छन् । अनशनमा परिणत भएको आन्दोलन कसैलाई देखाउनका लागि मात्रै भएको जस्तो देखिएको भन्दै उनले कडा आन्दोलन चेतावनी दिएका छन् । यद्यपी गठबन्धनभित्र उनले असन्तुष्टि जनाइरहेका छन् । जनजाति पार्टी लगायतसँग मोर्चाले सहकार्य गरेकोमा उनको आपत्ति रहेको स्रोतले बतायो । 

    त्यसैगरी महन्थ ठाकुर नेतृत्वको तमलोपाले अनशनमा सहभागिता जनाएका छैनन् । असार ६ गते नवलपरासीमा भएको महाधिवेशनका कारण सहभागिता जनाउन नसक्ने जानकारी गराएका मतमलोपाले हालसम्म अनशनमा सहभागिता जनाएका छैनन् । तमलोपाको महाधिवेशन सकिएको ८ दिने बितेको छ।

बुद्ध लोप्चन

लोप्चन थाहा खबरका समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]