|
म्याग्दीको क्वारेन्टाइनमा बसेकाहरू योगाभ्यास गर्दै।

म्याग्दी : म्याग्दीमा हालसम्म पहिचान भएका तीनजना संक्रमितमा कोरोनाको लक्षण देखिएको छैन। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यकिन गरे अनुसार कोरोना भाइरस संक्रमितलाई सुरुमा रुघा खोकी, ज्वरो र श्वासप्रश्वास (स्याँस्याँ) हुने लक्षण देखा पर्छ। तर हालसम्म जिल्लामा भेटिएका संक्रमितमा कुनै लक्षण नदेखिएको स्वास्थ्य कार्यालय म्याग्दीका एकनारायण लम्सालले जानकारी दिएका छन्‌। 

‘लक्षणसम्म देखिएको छैन, तेस्रो संक्रमतिको अवस्था समेत समान्य छ’ लम्सालले भने, 'तेस्रो संक्रमितलाई पनि आइसोलेसनमा पठाइएको छ,उनको स्वास्थ्य अवस्था जाँच गरिँदैछ।'

स्बाब संकलनको क्रममा लक्षण नदेखिएपनि आइसोलेसनमा राख्दा समस्या देखिए उपचार गरिने चिकित्सकहरूले बताएका छन्‌। संक्रमित भएपनि लक्षण नदेखिएकाहरूको तीन पटकसम्म स्वाब परीक्षण गरिने र नतिजा नेगेटिभ आए घर पठाइनेछ। 

यसअघि नेपाल-भारत सीमा क्षेत्रबाट उद्धार गरिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूलाई बेनीका क्वारेन्टाइनमा राखिएको पाँच दिनपछि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसीआर परीक्षण गरिएको थियो। हाल उनीहरूलाई खुल्लामञ्चको शैक्षिक तालिम केन्द्रको आइसोलेसन कक्षमा राखिएको छ। उनीहरूमा अहिलेसम्म कोरोनाको लक्षण देखिएको छैन। 

जिल्लामा भेटिएका पहिलो संक्रमित मालिका गाउँपालिका-४ ओखरबोटका ३१ वर्षीय युवाको दोस्रो स्वाब समेत पोजेटिभ आएपनि उनको अवस्था सामान्य छ। क्वारेन्टाइनको बसाईमा उनले हालसम्म एकपटक पनि औषधी सेवन गरेका छैनन्। 

दोस्रो संक्रमति मंगला गाउँपालिका-४, बरंजाका युवाको अवस्था समेत समान्य छ। उनले पनि औषधी सेवन गरेका छैनन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.