|

बागलुङ : पखाला र ज्वरोले च्यापेका बागलुङ नगरपालिका १३ का २३ वर्षीय युवा क्वारेन्टाइनबाट धौलागिरि अस्पतालको आइसोलेसनमा ल्याइएको तीन दिनमा निको हुँदैछन्। गलकोट नगरपालिकाका अर्का एक युवामा उच्च ज्वरोसहित सुक्खा खोकी थियो। भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनलाई पनि आइसोलेसन भर्ना गरिएको छ। 

तीन दिनयता उनको पनि स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालका प्रमुख डा. शैलेन्द्र वि पोखरेल बताउँछन्। दुवै जनामा कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखिएको छ। शंकास्पद बिरामी भनेर सुरक्षा कवच लगाएका स्वास्थयकर्मी मात्रै उनीहरुको नजिक पुगेर उपचार गर्छन् तर उनीहरुमा कोरोना रहे नरहेको भने पुष्टि भएको छैन।

तीन दिन पहिला पठाइएको गलकोटाका युवाको थ्रोट स्वाबको नतिजा आएको छैन भने क्वारेन्टाइनमै रहँदै चार दिन पहिला थ्रोट स्वाब लिएर पठाइएका बागलुङ नगरपालिकाका युवाको पनि नतिजा आएको छैन। अस्पतालमै अरु १७ जना कोरोना संक्रमण पुष्टि भएकाको आइसोलेसनमा राखेर उपचार भैरहेको छ। 

नियमित मुटुको चाल, रक्तचाप, ज्वरो जाँच्नेबाहेक उनीहरुलाई कुनै औषधि चलाउन नपरेको पोखरेल बताउँछन्। ‘सिमटम् रहेका बिरामीको सुधार छ, तर नतिजा आएको छैन’, पोखरेलले भने, ‘संक्रमित सबै एकदम ठिक हुनुहुन्छ।’ शंकास्पद बिरामीको कोरोना जाँचका लागि पठाएका स्वाबको नतिजा आउन समय लाग्दा समस्या भैरहेको उनले बताए। 

अस्पताल मात्रै होइन, अस्पतालकै चिकित्सकको निगरानीमा रहेको धौलागिरि बहुमुखी क्याम्पसको प्रिआइसोलेसनका संक्रमितमा पनि कुनै समस्या नभएको पोखरेल बताउँछन्। गत जेठ १४ गते अस्पतालको आइसोलेसन भर्ना भएका ६ जनाको आउँदो बुधबार १४ दिन पुग्दै छ। 

यो बीचमा गरिएको जाँचका क्रममा बडिगाड गाउँपालिकाका दुई र तमानखोला गाउँपालिकाका दुई पुरुषको दोस्रो पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको डा. पोखरेलले जानकारी दिए। उनीहरुसँगै उपचाररत २ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

नेपाल सरकारले जारी गरेको नयाँ निर्देशिकाअनुसार अब बिरामी निको भएर घर फर्किन दुई पटक नेगेटिभ रिपोर्ट आउनु पर्दैन। ‘पहिले यस्तो व्यवस्था थियो, तर अहिलेको निर्देशिका परिवर्तित छ, अनुभवले पनि संक्रमितलाई अस्पताल राखिराख्नुपर्ने देखिँदैन’, पोखरेलले भने, ‘कुनै लक्षण नभएका संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्छौं।’ 

उनका अनुसार आउँदो बुधबार गत जेठमा अस्पताल भर्ना भएका ६ जना नै घर फर्किने छन्। तर, उनीहरु घरमा पनि होम क्वारेन्टाइन भने कडाइका साथ पालना गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ। 

गत जेठ २२ गते संक्रमण पुष्टि भएका १० जना, २३ गते संक्रमण पुष्टि भएका १ जना र २५ गते संक्रमण पुष्टि भएकाहरुले पनि १४ दिन कटाएपछि घर जान पाउने छन्। जिल्लाभर प्रि–आइसोलेसनमा रहेकाले कुनै लक्षण देखिएमा अस्पतालको सुविधा पाउनेछन् भने अवस्था स्थिर रहेका प्रि–आइसोलेसनबाटै घर फर्किने छन्। 

‘समय समयमा जाँच हुन्छ, तर नेगेटिभ वा पोजेटिभ जे देखिए पनि स्वास्थ्य नबिग्रिए केही फरक पर्दैन’, उनले भने ‘अहिलेसम्मका संक्रमितको अवस्था र अनुभवले १४ दिनमा होम क्वारेन्टाइन जाँदा फरक पर्दैन।’ 

बागलुङका २९ जना कोरोना संक्रमितमध्ये धौलागिरि अस्पतालको आइसोलेसनमा १७ जना छन् भने धौलागिरि बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा ९ जना र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्रिआइसोलेसनामा १ जना छन्। यसअघि दुई महिला उपचारपछि निको भएर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.